वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या २५६ पुग्यो, उद्धार कार्य जारी

डिसी नेपाल
१७ साउन २०८१ ११:४१

काठमाडौं । केरलाको वायनाड जिल्लामा सोमबार आएको पहिरोपछि यहाँका चारवटा गाउँ पूर्ण रूपमा खाली भएका छन् । यस प्राकृतिक प्रकोपका कारण हालसम्म २५६ जनाको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा मानिसहरु घाइते भएको र धेरै मानिसहरु अझै पनि भग्नावशेषमा दबिएको आशंका गरिएको छ ।

हालसम्म ३ हजार जनाको उद्धार गरिएको छ । भारी वर्षाका बीच माटो, ढुंगा र ठूला रुखका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । उद्धार कार्यलाई तिब्रता दिन सेनाका जवान चुरलमाला र मुण्डक्काई बीचमा भत्केको पुलको पुनःनिर्माणमा जुटेका छन् । चुरलमलादेखि मुण्डक्कै जोड्ने यो १९० फिट पुल आज दिउँसोसम्म तयार हुने अपेक्षा गरिएको छ ।

लोकसभाका विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी नयाँ दिल्लीबाट वायनाड प्रस्थान गरेका छन्। उनी आफ्नो संसदीय क्षेत्रको अवस्थाबारे जानकारी लिन त्यहाँ पुगेका हुन् । उनीसँगै प्रियंका गान्धीले पनि पहिरोमा परेका परिवारलाई भेट्ने छन् । यसअघि दुवै नेता बुधबार वायनाड जाने तय भएपनि खराब मौसमका कारण उनीहरुले कार्यक्रम स्थगित गरेका थिए ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरोपछि जारी उद्धार कार्यमा फसेका १ हजार ३ सय ८६ जनाको उद्धार गरिएको बताए । उनले भने, ‘यसमा ५२८ पुरुष, ५५९ महिला र २९९ बालबालिका रहेका छन्, जसलाई सात शिविरमा पठाइएको छ । दुई सय एक जनालाई उद्धार गरी अस्पताल लगिएकोमा ९० जनाको अहिले उपचार भइरहेको छ ।’

विजयनका अनुसार हाल ८,०१७ मानिसहरू वायनाड जिल्लामा ८२ राहत शिविरहरूमा बसिरहेका छन्, जसमा १९ गर्भवती महिलाहरू छन्। मेपाडीमा आठ शिविर छन्, जहाँ ४२१ परिवारका १ हजार ४ सय ८६ मानिस बस्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *