लघुकथा समाजले गर्यो पुरस्कार तथा सम्मानको घोषणा
काठमाडौं। लघुकथा समाज, नेपालद्वारा प्रदान गरिँदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८१’ र ‘धनमान लघुकथा पुरस्कार-२०८१’ प्रदान गर्नका लागि दुई जना लघुकथा स्रष्टाको नाम चयन गरिएको छ।
लघुकथा समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ का लागि हेटौँडाका लघुकथाकार आर.आर. चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ का लागि भक्तपुरका लघुकथाकार श्याम आशाको नाम चयन गरिएको हो।
लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको वि.सं. २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासङ्ग्रह प्रकाशित छ। उनका थुप्रै फुटकर लघुकथा पत्रपत्रिकाका साथै लघुकथाका फेसबुक पेजहरुमा प्रकाशित हुँदै आएका छन्।
यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आएका छन्। उनका नेपाल भाषामा ७ वटा लघुकथासङ्ग्रह प्रकाशित छन् भने दुई वटा सङ्ग्रह नेपालीमा अनुदित छन्।
‘श्याम आशाका लघुकथा’ सङ्ग्रहको अनुवाद लघुकथाकार ध्रुव मधिकर्मीले गरेका छन् भने अर्को लघुकथासङ्ग्रह ‘अघोषित आवाज’ को अनुवाद साहित्यकार रासाले गरेका हुन्।
लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समाजका सल्लाहकार वरिष्ठ समालोचक प्राडा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।
समितिको सिफारिस अनुसार दुबै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ।
दुबै पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने समाजको विज्ञप्तिमा उल्लेख छ। लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने जनाएको छ।
Facebook Comment