षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास- भाग ४

भीमशमशेरदेखि जुद्धशमशेरसम्म

कपिल लोहनी
१९ साउन २०८१ ७:५८

रणोद्दिपसिंहको हत्या पछि वीरशमशेर र चन्द्रशमशेरले निकै लामो अर्थात् करिव ४४ वर्ष नेपालको श्री ३ महाराज तथा प्रधानमन्त्रीको रूपमा शासन गरे।

यी दुवै दाजुभाइको शासनकालमा आफ्नै प्रयोजनका लागि भए पनि नेपालमा विभिन्न प्रकारका आधुनिकता भित्रिन पाए भने केही महत्वपूर्ण सामाजिक परिवर्तनहरू पनि हुन पाए। आफ्नो शासनलाई कायम राख्न र बलियो बनाउन यी दुवैले कसै माथि पनि विश्वास नगरी अति निर्ममतापूर्वक पजनी गरेर आफ्नो पकडलाई मजबुत बनाए।

यिनीहरूको शासनकालमा हिंसा र रक्तपात निकै हदसम्म कम भएको भए पनि भ्रष्टाचार र राज्यको दोहन भने अति धेरै हुन पुग्यो। जंगबहादुरले जस्तै राजपरिवारसँग नाता जोडेका यी दाजुभाइले दरवारदेखि सेना र बेलायतीसम्म आफ्नो प्रभाव कायम राखेका थिए। यिनको विरुद्धमा कैयन् पटक गोप्य षड्यन्त्रहरू भएका भए पनि ती सफल हुन भने सकेनन्।

बेला बेलामा हुने रक्तपात र मारकाटबाट अंग्रे्रेजसमेत अवाक भएर तत्कालीन भाइसरोय लर्ड कर्जनले सन् १९०१ मा अब आइन्दा राजनीतिक षड्यन्त्रका कारण रक्तपात मच्चिने अवस्था आएमा नेपाललाई भारतमा गाभ्न पनि बेलायती सरकार पछि नहट्ने आशयसहित चिठी पठाएका थिए।

त्यसको अर्को वर्ष राणा भारदारहरूले रोलक्रम भंग नगर्ने भन्दै पाञ्चायनमा किरिया खाएर धर्मपत्रमा हस्ताक्षर गरेको भए पनि यी कुरा त्यति लागू भएका थिएनन्। नेपालमा रहने वृटिश रेजिडेन्टहरू नेपालमा हुने राजनीतिक खुनखराबामा आफूहरू पनि पर्ने हो कि भन्ने भयले निकै सशंकित हुने गर्दथे।

चन्द्रशमशेरको शासनकालदेखि नेपालको वनजंगल मासिने काम तिव्र रूपमा शुरु भयो र यसले जुद्धशमशेरको पालामा पनि निरन्तरता पायो। राणाशासनको टिकाउको निम्ति नै बेलायतलाई प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा समेत सैनिक सहायता गर्ने वहानामा नेपालका गाउँ गाउँबाट लाखौँको संख्यामा युवाहरूलाई जवर्जस्ती जम्मा गरेर भारतमा पठाइयो।

यसरी जानेमा आधाभन्दा बढी युवाहरू युद्धमा मारिएर र कति विदेशबाट फर्कन नै नसकेकोले कहिल्यै घर आउन पाएनन्। त्यतिबेलादेखि धेरै वर्षसम्म नेपालको जनसंख्यामा पुरुषको संख्या महिलाको अनुपातमा कम हुन गयो।

त्यतिबेलाको राजनीतिमा ठूलो परिवार हुनेहरू बढी शक्तिशाली हुन्थे। जंगबहादुरका ७ भाइ भएकाले उनीहरूले दर्जनौं भाइभतिजाको मद्दतले त्यतिबेलाको राजनीति, कोतपर्व र भण्डारखालपर्वमा आफ्नो प्रभुत्व जमाएर सफल हुन सके भने वीरशमशेरका १७ भाइ र थुप्रै छोराभतिजाहरूको अगाडि अन्य राणा वा कसैको पनि केही लागेन।

त्यस्तै चन्द्रशमशेरका पनि पञ्चभैया (मोहन, बबर, केशर, सिंह र कृष्ण) तथा कान्छी रानीबाट अन्य धेरै छोराहरू भएकाले उनको विरुद्धका कुनै पनि षड्यन्त्र सफल हुन सकेनन्। उनको निधन पछि श्री ३ बनेका भीमशमशेर, जुद्धशमशेर र पद्मशमशेर पनि यिनै पञ्चभैयाहरू कै तालमा नाच्न वाध्य भएका थिए।

जुद्धका त आफ्ना छोराहरू पनि धेरै थिए, त्यसैले केही शक्तिशाली थिए। शक्ति, धन, शिक्षा, बुद्धि र अनुभवमा पनि चन्द्रका छोराहरू (पञ्चभैया) जस्ता त्यतिबेला कोही थिएनन्।

हुन त वीरका छोराहरूमध्ये गेहेन्द्र र रुद्र ज्यादै पढेलेखेका र जेहेन्दार थिए, तर राजा पृथ्वीवीर विक्रमसँग बसेर दिनहुँ अत्यधिक मदिरा सेवन गर्ने बानीले यिनीहरूको स्वास्थ्य नराम्ररी बिग्रिएको थियो। त्यस्तै तेज र प्रताप पनि टाठाबाठा नै थिए। उता चन्द्रका छोराहरू यस्ता कुलतबाट बाहिर भएकाले तथा राम्रो शिक्षा पाएकाले भौतिक र मानसिक हिसाबले निकै तन्दुरुस्त थिए।

चन्द्रको निधन पछि ६४ वर्षको उमेरमा नेपालका श्री ३ र प्रधानमन्त्री भएका सन्त स्वभावका भीमशमशेरले आफ्नो निधन नहोउञ्जेलसम्म करिव ३३ महिना शासन गर्न पाए। तर सिंहदरवारमा षड्यन्त्रको गन्ध पाएर उनले आफ्नो टंगाल दरवारबाट नै बढी राजकाज गरे। उनी गाँजा खान निकै सोख राख्दथे।

चन्द्रले निकै दबाएर राखेको नेपालको राजनीतिलाई उनले केही खुकुलो बनाएका थिए। दरवारमा नै अध्ययन गरेका उनी निकै धर्मात्मा थिए। चन्द्रले भाइभारदारहरूको अघिल्तिर उनलाई ज्यादै बेइज्जती हुने गरी गाली गर्ने गरे जस्तै उनी पनि भाइ जुद्धशमशेरलाई त्यसरी नै गाली-बेइज्जती गर्दथे।

भीमशमशेरका ५ जना छोराहरूमध्ये पद्मशमशेर श्री ३ महाराज भए तर उनी लगायत कुनै पनि छोरामा राजकाज वा कुटनीतिको राम्रो दखल थिएन। त्यसैले चन्द्रशमशेरका छोराहरूको अगाडि यिनको केही सिप लाग्दैन थियो।

भीमका नातीहरूमध्येका सुशिक्षित सुवर्णशमशेर र महावीर शमशेरले जुद्धशमशेर प्रधानमन्त्री हुँदा रोलक्रमबाट हटेपछि भारतको कलकत्तामा गएर व्यापार–व्यवसाय गर्दै नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए।

भीमशमशेर कै शासनकालमा ‘प्रचण्ड गोरखा’ नामको राजनैतिक समूहको स्थापना भएको थियो। तर छिटै पोल खुलेकोले खड्गमान सिंह लगायत रंगनाथ शर्मा, मैनाबहादुर आदि पक्राउमा परेर आजीवन कारावासमा पठाइए।

त्यस्तै महात्मा गान्धीको ‘चर्खा प्रचार आन्दोलन’को नेतृत्व गरेको अभियोगमा तुलसीमेहर पनि कारावासमा पठाइए। यस्तै बेलातिर यानी वि.सं. १९८८ (सन् १९३१) मा सरकारको अनुमति नलिइकनै पुस्तकालय र वाचनालय खोलेकोले महाकवी लक्ष्मीप्रसाद देवकोटा, कवि जोगवीरसिंह उदास, चित्तधर हृदय लगायत ४६ जना स्रस्टाहरूलाई थुनामा राखेर पछि जरिवाना तिराई छोडियो। यस्ता अनेकन् घटनाहरू यो समयमा घटेका थिए तर ती सबैलाई दबाइएको थियो।

छोटो समयमा पनि भीमले निकै धन कमाउन सफल भए भने वीरको ‘वीरधारा’ जस्तै उनले पनि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ‘भीमधारा’ जडान गरे। मोरङमा समेत उनले खानेपानीको आयोजना शुरु गरे। शनिबार निजामती बिदा गर्ने र अन्य दिन १० बजेदेखि ५ बजेसम्म सरकारी कार्यालय खुल्ने चलन पनि यिनैले बसालेका हुन्।

जंगबहादुरले दैवीप्रकोप तथा युद्धको बेला खर्च गर्न भनेर खडा गरेको ११ करोड रुपैयाँको कोषको दुरुपयोग चन्द्रशमशेरले सिंहदरवारलाई श्री ३ तथा प्रधानमन्त्रीको निवास र कार्यालयको रूपमा प्रयोग गर्ने भनेर सरकारी ढुकुटी (कोष)बाट दुई करोड निकालेर सिंहदरवार राज्यलाई बेचे भने भोटसँगको युद्धको लागि झिकेको अढाइ करोड भीमशमशेरले पचाएको कुरा इतिहासमा पढ्न पाइन्छ।

त्यस्तै जुद्धशमशेरले पनि १९९० सालको भुकम्पको बेला पुनर्निर्माणमा खर्च गर्ने र भूकम्पको कारण घरबार बिहिन भएका जनतालाई ऋण प्रवाह गर्न भनेर सरकारी ढुकुटीबाट निकालेको डेढ करोड पछि अधिकांश ऋण असुली हुँदा पनि सरकारी ढुकुटीमा नहालेर आफैं खाए। यसरी तीन जना प्रधानमन्त्रीले विभिन्न बहानामा सरकारी ढुकुटीबाट त्यतिबेलाको छ करोड रुपैयाँ हिनामिना गरे।

भीमशमशेरको निधन पछि ५७ वर्र्षको उमेरमा नेपालका श्री ३ तथा प्रधानमन्त्री बनेका जुद्धशमशेरले तत्कालीन राजा त्रिभुवनको दर्शन भेटसमेत नगरी सैनिक विद्रोहको शैलीमा आफूले आफैं श्री ३ घोषणा गरे र धेरै दिन पछि मात्र राजालाई भेट्न गए। यसरी राजाको खुलेआम अवहेलना गर्ने राणा प्रधानमन्त्री जुद्ध नै हुन गए।

उनले पछिसम्म पनि राजालाई सबै भारदारहरूको सामु धेरै पटक हेलापूर्ण अभिव्यक्ति दिइरहे। त्यसैले पनि राजा त्रिभुवन भित्र भित्र यिनको निकै विरोधमा थिए। राजाको चियो गर्न राजदरवारमा जुद्धले आफ्ना छोरा अग्निशमशेरलाई खटाएका थिए। यिनै अग्निशमशेरका तीन जना छोरीहरूको राजा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रसँग विवाह भएको हो।

श्री ३ को रोलक्रममा रहेका वीरशमशेरका छोरा प्रधान सेनापति रुद्रशमशेरलाई हटाउन पद्मशमशेरदेखि पञ्चभैयाहरू जोडतोडका साथ लागेका थिए। वि.सं. १९९० साल माघमा जुद्ध शिकारमा सुदुर पश्चिममा गएको बेला नेपालमा ठूलो भूकम्प आएर काठमाडौँ र वरिपरी निकै क्षति भएको थियो। त्यतिबेला कार्यवाहक प्रधानमन्त्री भएर रहेका रुद्रले उद्दार कार्यमा निकै ठूलो योगदान पुर्‍याए।

त्यतिबेला भूकम्पको नाममा सरकारी ढुकुटीबाट ठूलो रकम झिकेर हिनामिना गरे पनि उनले बडो तदारुकताका साथ सार्वजनिक सम्पत्ति र स्मारक तथा मठमन्दिरहरूको पुनर्निर्माण गरेकाले उनी निकै लोकप्रिय हुन पुगे। आजको चौडा जुद्धसडक र उस्तै प्रकारका सेता घरह(रू उनैले बनाउन लगाएका हुन्। सेतो दरवारको आगलागी पछि जुद्धले जुद्ध बारुणयन्त्रको स्थापना गर्न लगाएका हुन्।

आखिर १९९० साल चैत ५ गते सिंहदरवारमा राजा त्रिभुवन र सम्पूर्ण भारदारको सामु उनले रुद्रलाई कमाण्डर इन चीफबाट निकालेर पाल्पा पठाए तथा उनको अथाह सम्पत्ति समेत हरेर आफ्नो बनाए।

त्यसै वखत जुद्धले पञ्चभैयाहरूकै लहै लहैमा लागेर रुद्रका छोराहरू तथा नजिकका हिरण्य, प्रताप, सुवर्ण, महाबीर आदिलाई पनि राजधानी बाहिर सरुवा गरे तर तिनीहरू सिधै भारत निर्वासनमा गए।

जुद्धले रुद्र र उनिसँग नजिकको सम्बन्ध भएकाहरूको घरमा आफ्ना मानिस पठाएर हिरा-मोती र अन्य बहुमूल्य वस्तु पनि आफू कहाँ ओसार्न लगाए। जुद्धशमशेरको यो कार्य निकै अशोभनीय थियो र यसबाट पञ्चभैया वाहेक सबै भारदार भित्र भित्र चिढिएका थिए। तर यतिबेला पनि रोलक्रममा पर्ने सिमित राणाहरूले गुह्येश्वरीको मन्दिरमा गएर रोल नमिच्ने वाचाको नाटक मञ्चन गरेका थिए।

चन्द्रशमशेरले शुरु गरेको राणाहरू भित्रै ए, बी र सी क्लास प्रणाली र जुद्धशमशेरले गरेको १९९० को पजनी र राणा परिवारभित्रका रुद्रप्रवृत्तिहरूलाई खदेड्ने काम गरेपछि राणाशासनको जग नराम्ररी हल्लिन थालेको हो।

त्यतिबेलासम्म खासगरी भारतमा बसेर उच्च शिक्षा हासिल गरेका नेपालीहरूमा पनि चरम सचेतना आइसकेकोले तथा भारतमा वृटिश साम्राज्यवाद समेत कमजोर भएर स्वतन्त्रता संग्राम शुरु भइसकेकोले राणाशासन धेरै नटिक्ने कुराको आँकडा धेरैले गर्न थालिसकेका थिए।

चन्द्रशमशेरका छोराहरूको लहै लहैमा लागेर जुद्धशमशेरले आफ्ना अति विश्वासपात्रहरूलाई हटाए पछि वास्तवमा चन्द्रका छोराहरू झनै शक्तिशाली हुँदै गएका थिए। उनिहरू जुद्धको नामबाट अनेक नराम्रा कामहरू गराउन तल्लिन थिए भने जुद्धका छोरा बहादुरशमशेर यस्ता सबै अनर्थ हुने कामको नायकी गर्दथे।

रुद्रशमशेर र उनका सहयोगीहरूलाई डाँडा कटाएको र राजालाई धेरै चोटी अपमानित गरेको कुराले पीण्डित राणाहरू मात्र नभइ सचेत राजा त्रिभुवन र युवराज महेन्द्र पनि भित्र भित्र जुद्ध र पुरै राणाशासनलाई हटाउने सोचका साथ गृहकार्य गर्दै थिए।

त्यसैले नै उनिहरूको सम्पर्क नेपाल प्रजापरिषद्का उच्च कार्यकर्ताहरूसँग बढ्दै गएको थियो। यो सबको निम्ति महेन्द्रलाई कुस्ती सिकाउन राखिएका धर्मभक्त र राजा त्रिभुवन बीच योजना बन्दै गएको थियो।

वि.सं. १९९७ श्रावणमा राणाशासनको अन्त्य गरेर प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गर्ने हेतुले राजा त्रिभुवनसँगको मिलोमतोमा नै नेपाल प्रजापरिषद्ले काठमाडौं उपत्यकामा चार पटक पर्चाहरू छर्‍यो।

यो घटनाबाट निकै क्रुद्ध भएका जुद्ध र पञ्चभैयाहरूले अनेक सुराकीहरू लगाएर आखिर नेपाल प्रजापरिषद्का अधिकांश सदस्यहरूलाई पक्राउ गरेर केरकार पश्चात् राजा त्रिभुवनको अगाडि नै जुद्धशमशेरले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द सहित अलिक पहिले नै अर्कै राजनीतिक मुद्दामा पक्राउ परेका शुक्रराज शास्त्री जो प्रजापरिषद्का सदस्य पनि थिएनन्, लाई मृत्युदण्डको सजाय सुनाए। राजा त्रिभुवन र पद्मशमशेरले त्यति कठोर सजाय नदिउँ भन्दा पनि जुद्धशमशेरका अति विश्वास पात्र मोहनशमशेर र उनका भाइहरूले मानेनन्।

धर्मभक्त रुद्रशमशेरको कान्तिपथस्थित चारबुर्जा दरवारमा खरिदारको पदमा काम गर्दथे र त्यतै एक टहरोमा बस्दथे भने दशरथचन्दको रुद्रशमशेरकी छोरी जुलियासँग प्रेम सम्बन्ध रहेकोले उनि धर्मभक्तलाई भेट्ने बहानामा रातदिन उतै हुन्थे। सायद यही कारणले पनि जुद्ध र पञ्चभैयाको मनमा यो सब पर्चाबाजीको घटना पाल्पा खदेडीएका रुद्रशमशेरले नै घटाएका हुन सक्छन् भन्ने लागेको हुन सक्छ।

आखिर यी देशभक्त र नेपाल आमाका सपुतहरूलाई मृत्युदण्ड नै दिइयो र जुद्धका नाती नरशमशेर आफैंले यो काम पुरा गरे। अन्य व्यक्तिहरूमा मुख्य नेता टंकप्रसाद आचार्य र रामहरि शर्मालाई ब्राह्मण भएकाले चारपाटे मुडेर सर्वश्वहरणसहित आजीवन कारावासमा पठाए भने अन्य महान् हस्तीहरू जस्तै गणेशमान सिंह, चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद शर्मा, सिद्धिचरण श्रेष्ठ, पुष्करनाथ उप्रेती लगायत धेरैलाई पनि आजीवन कारावासमा पठाए। पछि गणेशमान सिंह जेलको पर्खाल नाघेर लुक्दै भारत पुगे र नेपालको प्रजातान्त्रिक आन्दोलनको तयारीमा जुटे।

जुद्धशमशेरले आफ्नो शासन टिकाउन आफ्ना क्रुर छोरा बहादुरशमशेर र चन्द्रशमशेरका छोराहरूको सहयोगमा अन्य धेरै राणा भारदारहरूलाई तितर बितर बनाए र तिनको सम्पत्ति पनि आफ्नो बनाए।

तर पनि जुद्धशमशेरको शासनकालमा उनले कतिपय अति राम्रा काम पनि गरेको भए पनि १९९७ सालमा नेपाल प्रजापरिषद्का चारजनालाई बिना कुनै संगीन कसुर मृत्युदण्डको सजाय दिएकाले उनले नेपालको इतिहासमा नै एक अति क्रुर यमराजको रूपमा सदाको निम्ति नाम लेखाए।

यही घटना पछि नेपाल भित्र र बाहिर राणाहरूको बिरोधमा सम्पूर्ण जनताहरू मुर्मुरिन थाले भने नेपालको राजधानी लगायत ठाउँ ठाउँमा राणाशासन विरुद्धको भूमिगत राजनीतिक चहलपहलको शुरुवात भयो।

जुद्धशमशेरले नै चन्द्रशमशेरको पालादेखि पक्राउ गर्ने कोशिश भइरहेका कृष्णप्रसाद कोइरालालाई नेपाल आएको सुइँको पाइ पक्रेर थुनामा पठाए। उनको निधन कारागारमा नै भयो। आफ्ना हितैषीलाई नचिनेझैं गरि लाखापाखा पारेका जुद्धलाई यस्तो अपराध गर्न उक्साउने पञ्चभैयाले यी काण्डबाट निकै फाइदा उठाए।

आखिर जुद्धले वि.सं. २००२ कार्तिक २९ गते आफ्ना अनेक क्रुर कर्तुतका कारण कहीँ रणोद्दिपसिँहको हविगत त भोग्नु पर्ने होइन भन्ने आशंकाले गर्दा होला, आफूले सम्पूर्ण सावभौमसत्ता र श्री ३ को पदबाट समेत सन्यास लिएर स्वनिर्वासनमा जाने कुरा राजा त्रिभुवन सहितको सभामा सुनाए र मंसिर १४ गते पद्मशमशेरलाई श्री ३ को श्रीपेच आफैंले पहिराएर आफू काठमाडौँ छोडेर रिडीतर्फ लागे।

पद्मशमशेर श्री ३ भएको वखतमा उनका कमजोरीका कुरा सुनेर होला एक चोटी जुद्धले पुनः श्री ३ भएर राज्य गर्ने मनसाय राखेका रहेछन्। तर एकचोटी शक्तिबाट बाहिरिए पछि मोहनशमशेरहरूले उनलाई कहाँ फर्कन दिन्थे र। रिडीको अर्गेली भन्ने ठाउँमा करिव ३ वर्ष बसेर जुद्धले मोहनशमशेर श्री ३ महाराज भए भन्ने कुरा थाहा पाए पछि त्यो ठाउँ छोडेर भारतको देहरादुनमा बस्न थाले।

भारतको देहरादुनमा रहँदा यिनको भेट भारतका ठूला नेताहरूसँग पनि हुने गर्दथ्यो। आफू नेपालमा शासनमा हुँदा र भारतमा वृटिश शासन छँदा महात्मा गान्धी, जवाहरलाल नेहरुहरूलाई खुलेआम तथानाम गाली गर्ने जुद्ध भारतमा निर्वासित जीवन बिताउन थाले पछि त्यहाँका नेताहरूलाई मान्न वाध्य भए।

प्रजातन्त्रको सुन्दरता नै भनौँ या के भनौँ, यस्ता निरङ्कुश तथा प्रजातन्त्रका कट्टर विरोधी सामन्तवादी तर अकुत धन भएका व्यक्ति पनि धन कै आडमा ती नेता र पार्टीहरूलाई काम लागिरहने बन्न पुगे।

नेपालमा वि.सं. २००७ सालमा राणाशासनको पतन र प्रजातन्त्रको शूरुवात भए पछि पनि कसैले जुद्धशमशेरलाई भारतबाट फिर्ता ल्याएर कानुनी कार्वाही गर्ने बारे सोचेन। सत्रभाई पिँढीका अन्तिम प्रधानमन्त्री र नेपालमा १३ वर्ष शासन गरेका जुद्धशमशेरको निधन वि.सं. २०१३ साल मंसिरमा ८१ वर्षको छँदा उतै भयो।

क्रमश…

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *