पेरिस ओलम्पिक : टर्कीका शूटरको स्टाइलको प्रशंशा किन भइरहेको छ

काठमाडौं । पेरिस ओलम्पिकमा जुलाई ३० मा भएको शूटिङ खेलको तस्विरको चर्चा विश्वका धेरै देशमा भइरहेको छ । यो तस्विरलाई लिएर प्रतिक्रिया दिने केही व्यक्तिले आश्चर्य व्यक्त गर्दै केही प्रश्न पनि उठाइरहेका छन् ।
यो तस्बिर हो टर्कीका ५१ वर्षीय शूटर युसुफ डिकेकको, जसको पेरिस ओलम्पिकमा देखिएको स्टाइललाई मानिसहरुले निकै रुचाइरहेका छन् ।
यो खेलमा युसुफ र उनकी साथी सेवावल इल्यादा तरहानले रजत पदक जिते । खेलका क्रममा युसुफ एउटा हात खल्तीमा राखेर साधारण चस्मा लगाएर उभिएका थिए ।
तर १० मिटर एयर पिस्टलको मिक्स डबल्स खेलमा युसुफले शूट गर्ने तरिका अरूभन्दा फरक थियो।
लगभग सबैजसो शुटिङ एथलीटहरू कानमा ठूला हेडफोन लगाएर खडा हुन्छन् । उनीहरूले एक प्रकारको विशेष चश्मा लगाउँछन् जसले लक्ष्य निर्धारण गर्न मद्दत गर्दछ।
प्रायः शूटरहरूले मुमन लेन्स, ब्लाइन्डर र इयर प्रोटेक्टर लगाउँछन् । सुटिङ गेमका लागि यी कुराहरू जरूरी मानिन्छन्।
सामान्यतया शूटरहरूले उज्यालो कम गर्न एउटा आँखामाथि भाइजर लगाउँछन् र राम्रो फोकसको लागि एउटा आँखामा ब्लाइन्डर लगाउँछन्।
तर पेरिस ओलम्पिकमा टर्कीका शूटर युसुफ डिकेक यी सबै बिना सुटिङ रेन्जमा गएर लक्ष्यमा शूट गरे र रजत पदक जिते । यद्यपि, युसुफले धेरै सानो इयर प्लग लगाएका थिए ताकि उनी आवाजबाट विचलित नहोउन्।
अहिले यो खेलको धेरै दिन बितिसक्दा पनि युसुफको तस्बिरलाई लिएर आम मानिसदेखि धनी व्यापारी एलन मस्कसम्म सबैले प्रतिक्रिया दिइरहेका छन् ।
युसुफको विपरीत उनकी साथी तरहान भने ठूलो एयर डिफेन्डर र भाइजर लगाएर खेलिरहेकी थिइन् ।
उनको कपाल पनि टर्कीको झण्डाको रातो र सेतो डोरीले बाँधिएको थियो। यद्यपि, उनले पनि आफ्नो एउटा हात खल्तीमा राखेर निशाना लगाइन् ।
सोशल मिडिया प्लेटफर्म एक्समा एक प्रयोगकर्ताले लेखे, “टर्कीले विशेष लेन्स, आँखाको कभर र कानको सुरक्षा बिना यी ५१ वर्षीय व्यक्तिलाई पठायो र उनले रजत पदक जिते।”
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘कफी खान जाँदै थिएँ, सुटिङको लागि रोकिए ।’ एक व्यक्तिले लेखे, “धेरै कूल र रिल्याक्स।”
एलन मस्कले यसलाई रिपोस्ट गरेका छन् । यसमा युसुफलाई एक्सको रूपमा देखाइएको छ र अर्का केलाडीलाई उनको प्रतिस्पर्धी फेसबुक, मेटा र लिंक्डइनको रूपमा देखाइएको छ ।
५१ वर्षीय युसुफ पहिलो पटक ओलम्पिकमा सहभागी भएका होइनन् । उनी सन् २००८ देखि हरेक समर ओलम्पिकमा सहभागी हुँदै आएका छन् । यस ओलम्पिकको व्यक्तिगत प्रतिस्पर्धामा युसुफ १३ औं स्थानमा थिए । तर मिक्स डबल्समा उनी पदक जित्न सफल भए ।
अब उनी सन् २०२८ मा स्वर्ण पदक जित्ने आशामा छन् । युसुफले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, “म सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा स्वर्ण जित्ने आशा गर्छु।”
युसुफले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, “म धेरै खुसी छु कि हामी टर्कीका लागि पहिलो ओलम्पिक पदक जित्न सफल भयौं। यो पदक टर्कीका जनतालाई समर्पित छ जसको लागि करोडौं मानिसहरूले प्रार्थना गरेका थिए।”
युसुफले सामाजिक सञ्जालमा भाइरल भइरहेका आफ्ना धेरै भिडियोहरू आफ्नो इन्स्टाग्राम पेजमा पनि पोस्ट गरेका छन् । यसमा टर्कीश भाषाका मिमहरू पनि समावेश छन्।
ओलम्पिकमा शुटरले आफूले चाहेको पहिरन लगाएर प्रतिस्पर्धामा आउन पाउने स्वतन्त्रता हुन्छ ।
प्रतियोगिता स्थलमा धेरै शूटरहरूले आफ्नो आँखालाई प्रकाशको चमकबाट जोगाउन भाइजर लगाएका थिए भने अर्को आँखामा ब्लाइन्डर राखिएको थियो ताकि उनीहरूले एक आँखाले लक्ष्य हेर्दा बढी ध्यान केन्द्रित गर्न सकून्।
युसुफ जस्तै स्वर्ण पदक जित्ने चिनियाँ राइफल शूटर लिउ युकुनले पनि इयरप्लग मात्र लगाएका थिए र कुनै भाइजर वा ब्लाइन्डर लगाएका थिएनन्।
युसुफ बाहेक यस ओलम्पिकमा दक्षिण कोरियाली शूटर किम येजीको आत्मविश्वासको पनि धेरै चर्चा भएको थियो ।
Facebook Comment