हमासका सैन्य प्रमुखको पनि इजरायलको आक्रमणमा मृत्यु
काठमाडौं । इजरायली सेनाले हमासका सैन्य प्रमुख मोहम्मद डिएफ गाजामा जुलाई १३ मा भएको हवाई आक्रमणमा मारिएको जनाएको छ । आक्रमणको क्रममा डिएफलाई खान युनिसको परिसरमा निशाना बनाइएको थियो।
इजरायली सेनाले त्यसबेला हमासका अर्का कमाण्डर राफा सलेमेह पनि हवाई हमलामा मारिएको बताएको थियो । तर, त्यसबेला इजरायली सेनाले डिएफको मृत्युको पुष्टि गरेको थिएन।
यसअघि बुधबार हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानमा भएको आक्रमणमा मारिएको जानकारी दिएको थियो ।
बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित आफ्नो निवासमा भएको आक्रमणमा हानिया र उनका अंगरक्षकको मृत्यु भएको जनाएको छ ।
हानिया कतारमा बसेका थिए र लामो समयदेखि गाजा गएका थिएनन्।
हानिया इरानी राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान गएको हमासले जनाएको छ । मंगलबार कार्यक्रमको आयोजना गरिएको हो ।
Facebook Comment