सोमालियाको राजधानीमा आत्मघाती आक्रमण, ३२ जनाको मृत्यु

डिसी नेपाल
२० साउन २०८१ १४:४१

काठमाडौं । सोमालियाको एक समुद्र तटमा आत्मघाती हमलाकारी र बन्दुकधारीले गरेको आक्रमणमा परी ३२ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार यस हमलामा धेरै मानिसहरु घाइते पनि भएका छन् ।

सोमाली प्रहरीका प्रवक्ता अब्दिफाताह अदेन हसनले यस आक्रमणमा करिब ६३ जना घाइते भएको बताएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय मिडियाका अनुसार, “दक्षिणी र मध्य सोमालियाको ठूलो भागलाई नियन्त्रण गर्ने आतंकवादी समूह अल-शबाबका सदस्यहरूले आक्रमण गरेको हो।”

प्रहरीका अनुसार सुरक्षा बलले पाँच आक्रमणकारीलाई मारेको छ भने अर्को आक्रमणकारीले आफैंलाई विस्फोट गराएको छ ।

यस हमलाको जिम्मेवारी अल शबाबले लिएको छ । उक्त समूहले शुक्रबार साँझ आक्रमण गरेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो समूह अल-कायदासँग पनि जोडिएको छ र सोमालियामा संयुक्त राष्ट्रसङ्घ समर्थित सरकारविरुद्ध करिब २० वर्षदेखि विद्रोह गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *