इजरायलले ‘आतंकवादी’ भन्दै आफूले मारेको घोषणा गरेका व्यक्ति अल जजीराका पत्रकार !

डिसी नेपाल
२० साउन २०८१ १६:१३

काठमाडौं । इरानमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि पनि इजरायलको आक्रामकता घटेको छैन । उसले हमासका सदस्य र सहयोगीहरूलाई लगातार निशाना बनाउँदै आएको छ। यसै क्रममा इजरायली सेनाले गाजामा हमासका अर्का प्रमुख आतंकवादी मारेको दाबी गरेको छ । तर अहिले इजरायलको यो दाबी विवादमा परेको छ ।

इजरायलले गाजामा हमासका एक प्रमुख आतंकवादी मारिएको दाबी गरेको छ । उनी अल जजीराका पत्रकार इस्माइल अल-गुल हुन्। इस्माइलका बारेमा इजरायली सेनाले उनी हमासका प्रमुख आतंकवादी भएको र गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको हमलामा पनि उनी संलग्न रहेको बताएको छ । तर अल जजिराले यी दाबीहरूलाई ठाडै अस्वीकार गरेको छ।

इजरायली आर्मी आईडीएफको दाबी अनुसार इस्माइल अल गुल हमासको सैन्य इकाई नुख्बा फोर्सका आतंकवादी थिए र यही फोर्सले अक्टोबर ७ मा हमला गरेको थियो। इस्माइल गुल इजरायली सेना आइडीएफ र शिन बेटको संयुक्त अभियानमा लडाकु जेट आक्रमणमा मारिएका थिए। आईडीएफले नुक्बामा गुलको भूमिका ठूलो रहेको बताएको छ ।

गाजामा इजरायली हमलामा मारिएका अल जजिराका पत्रकार इस्माइल अल गुल हमास आतंकवादी भएको इजरायलको आरोपलाई अल जजिराले अस्वीकार गरेको छ ।

अल जजिराले गुललाई हमासको आतंककारीको रूपमा चित्रण गरेर उनको हत्यालाई उचित ठहराउने दुष्प्रयास भइरहेको बताएको छ । यसले इजरायलले आफ्ना जघन्य अपराधहरू लुकाउनको लागि झूटा र बनावटी प्रमाणहरूको लामो इतिहासलाई प्रकट गर्ने अल जजीराको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *