आफूलाई मन परेको च्यानलमा बहस संचालन गर्ने विषयले ट्रम्प र कमलाबीच विवाद
काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन अघि बयानबाजी र तनावको क्रम जारी छ। यसैबीच, रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसबीचको पहिलो बहसअघि नै सामाजिक सञ्जालमा दुवैबीच चर्काचर्की परेको छ ।
दुवै फरक टिभि च्यानल र फरक मितिमा बहस गर्न चाहन्छन्। कमला ह्यारिस सेप्टेम्बर १० मा एबीसी न्यूजमा बहस चाहन्छिन् । ट्रम्प भने सेप्टेम्बर ४ मा फक्स न्यूजमा बहस गर्न चाहन्छन् । यसै वर्षको नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति पदका लागि मतदान हुन लागेको छ ।
ट्रम्पले शुक्रबार राति ट्रुथ सोशल मिडियामा पोस्टमा भने “नियमहरू राष्ट्रपति जो बाइडेनसँगको पहिलो बहसमा जस्तै हुनेछन्।” ट्रम्पले सेप्टेम्बर ४ मा पेन्सिलभेनियाको फक्स न्यूजमा देखा पर्ने बताएका छन्।
ट्रम्पले यदि ह्यारिस नयाँ नेटवर्क र मितिमा सहमत भइनन् भने आफूले फक्स न्यूजसँग टाउन हल राख्ने बताए । बाइडेनसँग ट्रम्पको दोस्रो बहसको मिति सेप्टेम्बर १० मा फक्स न्युजमा तय गरिएको थियो । ट्रम्प बहस फक्समै होस् तर मिति सेप्टेम्बर ४ हुनुपर्छ भन्ने चाहन्छन् ।
कमला ह्यारिस यो बहस फक्सको सट्टा एबीसीमा चाहन्छिन् । उनी सेप्टेम्बर १० को मिति चाहन्छिन् जुन पहिले नै तय गरिएको थियो। बाइडेन र ट्रम्पबीचको पहिलो बहसपछि पार्टीभित्र बाइडेनविरुद्धको वातावरण बन्न थालेको थियो । किनभने बाइडेन यस बहसमा झुक्किएको र ट्रम्पको तुलनामा कमजोर देखिएका थिए ।
ट्रम्पको यो बहस प्रस्तावलाई लिएर ह्यारिसको बयान पनि आएको छ । ह्यारिसका प्रवक्ता माइकल टायलरले ट्रम्प डराएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा बाइडेन दौडमा नभएकाले एबीसीको बहस समाप्त भएको बताएका छन् । एबीसीसँग आफ्नो मुद्दा चलिरहेको भन्दै एबीसीले पक्षपात गर्ने ट्रम्पको आरोप छ ।
अमेरिकी समाचार नेटवर्कहरू विभिन्न दलहरूको शिविरमा विभाजित भएको आरोप छ। फक्स न्यूजलाई कन्जर्भेटिभ मानिन्छ। एबीसी डेमोक्रेट झुकाव भएको मानिन्छ। यस विषयमा लामो समयदेखि बहस चलिरहेको छ । कमलाले ट्रम्पले आफूलाई बचाउन फक्स न्युजमा बहस गराउन चाहेको आरोप पनि लगाइन् ।
Facebook Comment