प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ: राष्ट्रपति

डिसी नेपाल
२१ साउन २०८१ १८:२१

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अविश्राम र अथक संघर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन्।

प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनले त्याग र संघर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे। ‘प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याइ हुने छैन भन्ने मैले विश्वास लिएको छु’, उनले भने।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। ‘नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा तपाईहरूको संघर्ष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईहरूका लागि राज्यले जे जति काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु’, उनले भने।

सहिद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र संघर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको राष्ट्रपति पौडेलको भनाइ थियो। ‘राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पूरा हुन सके मात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्य–मान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ। यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्छ’, राष्ट्रपति पौडेलले भने।

त्यस अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *