गौरव पहारी : भर्साटाइल अभिनेता
काठमाडौं। अभिनेता गौरव पहारीले फिल्मी करियरमा फरक-फरक चरित्र निभाए। कमेडी, प्रेमकथा, एक्सन, राष्ट्रप्रेमजस्ता फरक फरक फ्लेभरका फिल्ममा अभिनय गरे। फरक फिल्ममा फरक चरित्र निभाएका गौरव यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन्।
‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै क्यारेक्टर गरेको छु। फिल्मपिच्छे फरक चरित्र निभाइरहेको म एउटै फिल्ममा धेरै जनरालाई अंगाल्दा चुनौती धेरै थियो । सबै चरित्रहरु एउटै क्यारेक्टरमा देखिनुपर्ने भएकाले पनि नम्बरी सुनमा काम गर्न सहमत भएँ’ गौरव भन्छन्।
फिल्ममा गौरव तल्लो वर्गको र नायिका नम्रता सापकोटा माथिल्लो वर्गको पात्र हुन्छन् । ‘मैले तल्लो वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । फिल्ममा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । त्यो समयमा अहिलेको जस्तो टोल टोलमा सुन पसल हुँदैन थियो । फिल्ममा मेरो बुवाले गाउँ डुल्दै गाउँका मुखियाहरु कहाँ महिनौं बिताएर सुन बनाउनु हुन्छ’, उनी भन्छन् ।
गौरवका अनुसार फिल्ममा उनको चरित्र सहयोगी किसिमको छ । ‘यो गाउँकै कथा हो । गाउँमा साथीहरुसँग हल्लिएर हिँडेर, बस्ने चत्रिर छ । तर ऊ गाउँमा कोही कसैलाई केही मद्दत चाहियो भने उसलाई मद्दत गर्छ । तर त्यसको परिणाम कस्तो आउँछ भन्ने उसले सोच्दैछन । परिणामले ऊ खुशी पनि हुन्छ र पछुताउँछ पनि’, गौरव आफ्नो चरित्र खुलाउँछन् ।
एकै पात्रले फरक फरक चरित्र निभाउँदा पनि गौरवलाई धेरै असहज भएको रहेनछ । ‘आज एउटा चरित्र निभाएको हुन्छु । भोलि अर्को चरित्र निभाउनु पर्ने हुन्छ । चरित्र परिवर्तन गरिरहँदा मलाई केही अप्ठ्यारो भएन । किनकी मलाई अन्य कलाकारहरुले सहयोग गर्नुभयो’, गौरव भन्छन्, ‘आज एउटा र भोलि अर्को जनरा गर्दा चरित्रमा मिश्रण भएन । म कट हुने बित्तिकै त्यो जोनबाट हटिहाल्थें ।’
यो फिल्ममा राजेन्द्र खड्गीसँग गौरवको द्वन्द्वको दृश्य छ । त्यो दृश्य खिचिरहँदा उनी निकै ‘नर्भस’ भएका रहेछन् ।
‘राजेन्द्र खड्गी अंकलसँग मेरो वान एण्ड वान एक्सन दृश्य छ । त्यो एक्सन कम्पोज अलिकति लामो थियो । एक्सन गर्ने भनेपछि भित्रबाट त्यो खालको जोश आइहाल्छ, नियन्त्रणमा हुँदैन । मैले एक्सन गर्ने बेलामा राजेन्द्र अंकलको टाउको छुनु पर्ने थियो । तर मैले झड्याम्मै बजाइदिएँ’, गौरवले सम्झिए, ‘तर उहाँले छोड्नु भएको थिएन । म आफैं नर्भस भएर ‘क्यामरा कट’ भनेर रोकें । अनि अंकलले ‘गौरव किन रोकेको कन्टिन्यू गर्नुपथ्र्यो नि’ भन्नुभयो । मैले ‘म नर्भस भएँ । त्यसकारण रोकें’ भनेपछि उहाँले कुरा बुझ्नुभयो ।’
गौरव आफ्नो जीवनमा ‘नम्बरी सुन’ सम्झिइरहने फिल्ममा पर्ने दाबी गर्छन् । ‘किनभने मलाई यसको जनरा मनपरेको छ । एक्सन, प्रेम, कमेडी सबै छ । सायद भोलि गएर अरु फिल्ममा यस्तो गर्न पाउँछु कि पाउँदिन । सरोज खनाल, राजेन्द्र खड्गीसँग स्क्रिन शेयर गर्ने मौका पाएँ । हत्तपत्त सबैले त्यो अवसर लिएर आएको हुँदैन’, उनी भन्छन् ।
गौरव ‘नेगेटिभ क्यारेक्टर’ गर्न चाहन्छन् । उनको बुझाईमा त्यो चरित्र देख्नासाथ ‘भिलेन’ जस्तो नदेखियोस् । ‘देख्ने बित्तिकै भिलेन होइन, बानी व्यवहारले भिलेन जस्तो । उसको परिचय नै भिलेन होइन, तर काम गर्दै गएपछि लास्टमा ‘ए भिलेन यो पो रहेछ’ भन्ने किसिमको भान दर्शकमा होस्’, गौरव खुलाउछन् ।
Facebook Comment