माओवादीमा नेतृत्व चयनको मोडालिटीका विषयमा बहस

शरद रिजाल
२३ साउन २०८१ ७:३७

काठमाडौं। विगत लामो समयदेखि एकल नेतृत्वमा रहेका नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीको नेतृत्वदायी तहमा रहेका नेताहरुको विकल्पसहित नेतृत्व चयनको नयाँ विधिका विषयमा पार्टीभित्र बहस सुरु भएको छ।

माओवादीमा विगतदेखि एक क्षत्र नेतृत्व गरेका प्रचण्डसँग फरक मत राख्ने नेताहरु सबै पार्टीबाट अलग भएपछि उनी झनै सर्वेसर्वा देखिएका छन्। पार्टीमा बहुपदीय प्रणाली लागू गरिए पनि करिब तीन दशकदेखि नै नेतृत्वमा अभिछिन्नरुपमा रहेका उनको एकल निर्णयका आधारमा माओवादी सञ्चालित छ।

उनकै नेतृत्वमा सञ्चालित माओवादी जनयुद्धले अपेक्षित सफलता हासिल गर्दै शान्तिपूर्ण अवतरण पनि गर्न पुग्यो। यद्यपि त्यसयता युद्धकालमा आफूसँग रहेका विशिष्ट क्षमता भएका नेताहरुको साथ गुमाएर उनले सर्वाधिक क्षति व्यहारेका छन्।

जनयुद्धकालमा पार्टीको कुशल नेतृत्व गर्दै फौजी सफलता दिलाएर शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै पहिलो पार्टी समेत बनाएका उनी अहिले कमजोर ३२ सिटे दलको हैसियतमा पुगेका हुन्।

प्रचण्डकै कार्यकालमा माओवादीले जनयुद्धमार्फत एउटा उचाइ तय गर्दै शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दाको करिब दुई तिहाइ मत सहितको पहिलो पार्टीको ओज आज उनी नै नेतृत्वमा रहँदा क्षयीकरण भएर निरीह अवस्थामा पुगेको छ।

विगतको उभार क्षयीकरण हुँदै कमजोर अवस्थामा पुगेको माओवादीले पछिल्लो विकसित राजनीतिक परिघटनापछि अहिले सांगठनिक अवस्था बलियो बनाउन आन्तरिक सक्रियता बढाएको छ।

२०६४ यता विभाजनले कमजोर बनेको माओवादीको मूल घटकका रुपमा रहेको माओवादी केन्द्र सत्तामा निरन्तर सहभागी हुँदा सांगठनिक अवस्था भने निकै कमजोर बन्दै गइरहेको भन्दै नेताहरुले समीक्षा सुरु गरेका छन्।

नेताहरुले अहिलेको माओवादीको दूराबस्थाको जिम्मेवारी सबै नेतृत्वमा रहेकाहरुले लिनुपर्नेदेखि नयाँ नेतृत्वका बारेमा समेत सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।

सत्ताबाट विमुख भएपछि औपचारिक रुपमा पहिलो पटक बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी पुननिर्माण र सगठन सुदृढ गर्ने विषयमा नेताहरुले आफ्ना धारणा व्यक्त गरेका थिए।

अहिले माओवादीभित्र नेतृत्वमा पुस्तान्तरणको बहस उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले सार्वजनिक रुपमै सुरुवात गरिसकेका छन्।
अब हालको नेतृत्वले पार्टी सञ्चालन गर्न नसक्ने निष्कर्ष निकाल्दै जिम्मेवारी तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा यी नेताद्वयले सार्वजनिक रुपमा गरिरहेका छन्।

माओवादीमा गत वर्ष सम्पन्न विधान अधिवेशनदेखि नै नेतृत्व चयनमा लोकतान्त्रिक विधि तय गर्नुपर्ने प्रस्ताव उपमहासचिव शर्माले निरन्तर उठाउँदै आएका थिए। शर्माको यही प्रस्ताव उठानलाई लिएर अध्यक्ष प्रचण्डले आफू विरुद्ध चुनौती दिएको ठानेरे उनीसँग दूरी बढाएको बताइन्छ।

शर्माले दलमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताउँदै निरन्तर सो मत पार्टीको आन्तरिक बैठक र सार्वजनिक रुपमा पनि व्यक्त गर्दै आइरहेका छन्। माओवादीमा कार्की वैचारिक क्षमता भएका अध्ययनशील नेता मानिन्छन् भने शर्मा सैन्य क्षेत्रबाट आए पनि सांगठनिक कुशलता भएका नेता हुन्।

यिनै नेताद्वयले सार्वजनिक रुपमै तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको मत व्यक्त गर्न थालेपछि पार्टीमा अन्तरसंर्घर्षका विभिन्न आयाम समेत देखा परेको छ। विभिन्न गुट उपगुटमा विभक्त माओवादीमा कतिपयले अध्यक्ष प्रचण्ड अझै निर्विकल्प रहेको धारणा समेत व्यक्त गरिरहेका छन्।

माओवादीमा शर्माको प्रतिस्पर्धी मानिएका अर्का उपमहासचिव वर्षमान पुनले अझै पाँच वर्ष प्रचण्डकै नेतृत्वमा पार्टी सञ्चालन गर्नुपर्ने बताइरहेका छन्। त्यसपछि मात्रै पार्टीमा नयाँ नेतृत्वको आगमन हुनुपर्ने उनको धारणा सार्वजनि रुपमै प्रकट भएको छ।

यता उपमहासचिव हरिबोल गजुरेलले भर्खरै सम्पन्न पदाधिकारी बैठकमा सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव पेश गरेका छन्। उनले अध्यक्ष प्रचण्ड बाहेक अन्य सबैले पार्टीको कमजोर वर्तमान अवस्थाको नैतिक जिम्मेवारी लिँदै सबैलाई राजीनामा दिन सुझाएका हुन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत प्रचण्डले करिब ३२ वर्ष पार्टीको नेतृत्व गरिसकेकाले अब नेतृत्व हस्तान्तरण गरे लिन तयार हुनुपर्ने अभिव्यक्ति दिएका थिए। पार्टीमै दोस्रो वरियतामा रहेका उनले पनि नेतृत्वको आकांक्षी रहेको आकलन गरिएको छ।

यद्यपि माओवादीभित्र अवसर प्रदान गर्ने सवालमा जनयुद्ध नलडेकाहरुलाई विभेद गरिँदै आइएको छ। वष्ठि उपाध्यक्ष श्रेष्ठको समूह शान्ति प्रक्रिया पछि जोडिएकाले बहुसंख्यक माओवादी नेता कार्यकर्ताले स्वीकार्ने सम्भावना नरहेको बताइन्छ।

अब नेतृत्व चयनको विधि के?

माओवादीमा प्रचण्ड नै आजीवन पार्टीको अध्यक्ष हुने हुन् कि भन्ने आशंका आम मानिसमा व्याप्त छ। माओवादीमा हाल भएका नेताहरुमध्येबाट प्रचण्ड पछि पार्टीको नेतृत्वमा सर्वसम्मत हुने व्यक्तिको अभाव रहेको छ।

पदाधिकारी र स्थायी समितिमा रहेका नेताहरुले एकले अर्कोलाई नस्वीकार्ने स्थिति भएकाले तेस्रो पुस्ताको बहस सुरु गरिएको कतिपय माओवादी नेताहरु बताउँछन्।

पहिलो र दोस्रो पुस्तामा सर्वस्वीकार्य व्यक्तिको अभाव रहेको र प्रचण्ड समेत सहजै नेतृत्व त्याग्न तयार नहुने भएकाले आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव शर्माले सुरुदेखि नै राखेका छन्।

पार्टीका हरेक निकायको नेतृत्व चयनमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आगामी नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने पक्षमा उपमहासचिव शर्मा र सचिव कार्की दुबैको साझा मत छ।

महासचिव देव गुरुङ भने विचारसहितको नेतृत्व आवश्यक रहेको बताउँछन्। उनले नेतृत्व चयनको मापदण्ड उमेरले निर्धारण नगर्ने प्रष्ट्याए।
उनले भने, ‘नेतृत्व चयन उमेरका आधारमा होइन्, वैचारिक र नेतृत्वदायी क्षमताका आधारमा तय गरिनुपर्छ।’

नेतृत्व चयनका अन्य विधि अपनाउन सकिने महासचिव गुरुङको भनाइ छ। अहिल्यै माओवादीमा मूल नेतृत्वको विकल्पका विषयमा कुनै बहस नभएको उनले जिकिर गरे।

माओवादी प्रचार विभाग उपप्रमुख महेश्वर दाहालले पनि पदीय ढंगले निर्धारण गरिने पुस्तान्तरणले खासै अर्थ नराख्ने बताउँछन्। उनले संस्थागतरुपमा नेतृत्वदायी भूमिका र सामूहिक जिम्मेवारी प्रदान गर्ने नेतृत्व आवश्यक रहेको बताउँछन्।

नेतृत्वका लागि उमेर नभई विचार प्रधान भएकाले सर्वप्रथम विचारको विकासमा जोड दिनुपर्ने उनले औंल्याए। उनले भने, ‘नयाँ विचारसहित संस्थागत र सामूहिक जिम्मेवारीमा आधारित नेतृत्व स्वेच्छिक सर्वसम्मत लोकतान्त्रिक विधिबाट चयन गर्नुपर्छ।’ नेतृत्वले जनवादी केन्द्रीयता लागू गर्नुपर्ने उनको धारणा छ।

अहिले पार्टीमा व्यक्तिगत निर्णय र सामूहिक जिम्मेवारी लिनुपर्नेे व्याप्त परिपाटीले समस्या निम्तिएको उनले बताए। नेतृत्वको अति केन्द्रीकरणले समस्या सिर्जना भएको उनको ठम्याइ छ। ‘कार्यनीतिक रुपमा आचरणयुक्त संस्थागत निर्णय र सामूहिक जिम्मेवारीमा जोड दिने नेतृत्वको आवश्यकता छ।’, दाहालले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *