मोहन बैद्यमा पुरातनवादी चिन्तन देखिएकाले पार्टी एकता असफल भयोः धर्मेन्द्र बास्तोला

डिसी नेपाल
२३ साउन २०८१ १४:५९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी( बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन बैद्यमा पुरातनवादी चिन्तन देखिएकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बास्तोलाले एकताका क्रममा संकिर्णवादी, पुरातनवादी रुझान देखा परेकाले बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको बताएका हुन्।

पुरानो मान्यताको खारेजी गर्नु तथा राजनीतिक कार्यदिशा र कार्यनीतिमा व्यापक रुपान्तण गर्ने लक्ष्यका साथ पार्टी एकता गरेपनि एकताको प्रारम्भीक दिनहरुबाटै बैद्यबाट सहमति उलंघनको कार्य सुरु भएको उनले आरोप लगाए।

उनले अहिलेका लागि पार्टी एकता असफल भएपनि पुराना प्रवृतिलाई सच्चाइएको अवस्थामा पुनः एकताका लागि आफुहरु खुल्ला रहेको स्पष्ट पारे।

उनले आफ्नो पार्टीले संगठनात्मक पुनर्गठन, राजनीतिक पुनर्गठन, आन्दोलन, चिन्तन प्रणाली र संस्कृतिमा पुनर्गठनको अभियान संचालन गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यस्तै नेकपा बहुमतले आगामी पौष ११ गते माओ दिवसको सन्दर्भ पारेर नर्वौ महाधिवेशनको मिति निर्धारण गर्दै ५ हजार ५ सय ५५ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

यता क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको भन्दै धर्मेन्द्र बास्तोला लगायतका नेताहरुलाई निष्काशन नै गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *