युवा संघको कार्यक्रममा महेश बस्नेतले खोले प्रचण्ड र रवि लामिछानेको पोल

डिसी नेपाल
२४ साउन २०८१ १९:४१

काठमाडाैं। एमाले नेता एवं युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको कुरै नसुन्ने र आफूखुसी गर्न थालेपछि कांग्रेससँग सहकार्य सुरु गरेको बताएका छन्।

बिहीबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनमा बस्नेतले प्रचण्डले आफूलाई मन नपरेको कुरा कुनै पनि नगर्ने र फेरि पनि एमालेलाई धोका दिने स्थिति बनेपछि समग्र मुलुकको हितको निमित्त कांग्रेस-एमालेको सहकार्य अगाडि बढेको बताएका हुन्।

अहिले कांग्रेस-एमालेबीच भएका सहमतिहरु निकै सौहार्द रहेको पनि उनले सुनाए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषदपछि वर्तमान सरकारले एकै पटक मन्त्रिपरिषद् गठन गरेको उनले बताए।

आफूहरुले संविधान संशोधन र राजनीतिक स्थिरताको कुरा उठाइरहेको बताए। एमाले–कांग्रेसले समानुपातिक समावेशीलाई ध्वस्त पार्न लागे भनेर अहिले लागिरहेको आरोप गलत रहेको उनले बताए।

उनले पूर्व गृहमन्त्री रवि लामिछानेले फाइल खोल्दै थियौं, ठ्याक्कै सरकार परिवर्तन भयो भनेर स्टन्टबाजी गरिरहेको बताए। उनले लामिछाने गृहमन्त्री हुँदा फाइल खोल्नेभन्दा पनि फाइल मिलाउने, सोझ्याउने र फर्काउनेतिर बढी भूमिका रहेको बताए।

‘अहिले पनि कतिपय दलहरुले प्रोपोगाण्डा गर्दै फाइल खोल्दैथियौं, ठ्याक्कै सरकार चेन्ज भयो भनेर अनेक खालको स्टन्टबाजी सुरु भएको छ। फाइल खोल्दै गरेका सबै कुरा गलत हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता आगमन मात्रै कुरा के हो भने रवि लामिछानेको सहकारी प्रकरणदेखि लिएर अनेक प्रकरणलाई ढाकछोप गर्न गृहमन्त्री पद चाहिएको थियो। यो दौरानमा उहाँले फाइल खोल्ने होईन कि फाइल मिलाउने, फाइल सोझ्याउने र फाइल फर्काउने कुरामा उहाँको भूमिका रह्यो भन्ने मलाई लाग्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *