टीकापुरमा चितुवाको त्रास

डिसी नेपाल
२५ साउन २०८१ ९:३४

कैलाली। एक सातायता चितुवाले घरपालुवा जनावर मार्न थालेपछि कैलालीको टिकापुरमा त्रास बढेको छ । चितुवाले यहाँ दैनिक बाख्रा, कुकुर र कुखुरा मार्न थालेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले नागरिकलाई नआत्तिन आग्रह गरे। “स्थानीयले तीन चितुवा देखेको बताएका छन् । हामी चितुवा नियन्त्रणको प्रयासमा छौँ”, उनले भने।

चितुवाले खोर नै रित्याउने गरी बाख्रा मारेपछि यहाँ त्रास फैलिएको छ । दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली टीकापुर पुगेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, प्रहरी, नगर प्रहरीलगायत टोलीले आफ्नो काम थालेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली परिचालन गरिएको छ ।

बिहीबार राति पनि चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर–१ का वडाध्यक्ष मोहन लुहारले जानकारी दिनुभयो । चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा स्थानीयका करिब २२ बाख्रा मारेको छ । केही बाख्रा घाइते भएका छन् ।

त्यत्तिकै सङ्ख्यामा कुकुर र कुखुरा समेत मारेको स्थानीयले बताएका छन् । चितुवाले बिहीबार रातिमात्रै ब्लक नं १७ मा २६ कुखुरा मारेको छ । होहल्ला गरेपछि दुई बच्चासहितको चितुवा भागेको स्थानीय रमेश खड्काले बताए।

सहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् । चितुवाले दैनिक जनावर मार्न थालेपछि साँझबिहान हिँडडुल गर्नेहरू त्रासमा छन् । यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका स्थानीय रुपा विकले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट नदीवारि आएका चितुवा वडा नं २ मा रहेको सामुदायिक वन हुँदै सहर पसेको आशङ्का गरिएको छ । बजार क्षेत्रमा मात्र होइन, टीकापुरको वडा नं ७ र ८ मा पनि जङ्गली जनावरले आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चितुवाले दैनिकजसो कुकुर र बाख्रा मार्न थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *