कथाः म आत्माराम नेपाल

खेमराज पोखरेल
८ भदौ २०८१ ७:५७

कथारम्भ।

मेसेन्जरमा घन्टी बज्यो। छोरी अमेरिकाबाट बोल्दै थिईः

“बाबा, म अवार्डेड भएँ। जुनमा ग्य्राजुएसन् छ। पेपर पठाइदिन्छु। आउनु पर्छ”

म खुसी मारे उफ्रेँ।

मलाई यो एउटा कथा जस्तो लागेको छ।

उसबेला मलाई यो छोरीको रहरजस्तो लागेको थियो। जिद्दीजस्तो लागेको थियो। छोरीलाई हेर्थेँ। कुलकुलाउँदी थिई। बिहान अबेलासम्म सुत्थी। घरभित्रको काम फाँड्न सक्तिनथी। बिचरा, कठैबरा। ओठ निचोरे रगत चुहिएलाजस्तो थियो। चोकको दोकानमा एक्लै जान सक्तिन थिई। उसलाई कलेज त सधैँ मैले नै पुर्याइदिन्थेँ। जता जान पनि साथी चाहिन्थ्यो। मानौ ऊ अमरलत्ती थिई, हाम्रा झ्याङमा बेरिएकी थिई र उसको कुनै स्वतन्त्र अस्तित्व थिएन। आँट थिएन।

अहिले सोचिरहेको छु। निरपेक्ष सोचिरहेको छु कि ऊ त्यस्ती थिई कि हामीले त्यस्ती बनायौँ? सायद हामीले नै उसलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउँदै लग्यौँ। तँ महिला होस्, महिला कमजोर हुन्छन् भन्ने संस्कार हामीले नै दियौँ क्यार। सायद धर्मको नाममा, संस्कारको नाममा, चलनको नाममा।

वा यस्तै यस्तै अनेकौँ बहानाहरू निकाल्यौँ होला उसलाई कमजोर पार्न। उसको हिँडाइ, डुलाइ र खुवाइमासमेत हामीले नियन्त्रण गर्यौँ क्यार। उसको श्रृंगार पटारलाई जोड दियौँ क्यार। र ऊ कमजोर देखिई। र पनि ऊ कहिलेकाहिँ विद्रोह बोल्थी। हामी अनेकौँ रेडिमेड तरिकाहरू लगाएर विद्रोह साम्य पाथ्र्यौँ।

किन हो ऊ लहलहैमा अमेरिका जाने जिद्दी गर्न थाली। हाम्रा मनमनमा लागिरहेथ्यो, पशुपतिनाथ भाकि रहेथ्यौँ, भिसा नलागोस्।

हाम्रा कुरा पशुपतिनाथले सुनेनन्। भिसा लाग्यो। ऊ गएकी थिई। र आज अमेरिकाबाट पिएचडी सकेर फोन गरेकी छे।

म समाज परिवर्तन गर्नु पर्छ भन्थेँ। याने म समाजको नजरमा प्रगतिशील थिएँ। र पनि मभित्र एउटा परम्पराले बिगारेको कठमुल्ला मान्छे थियो होला। म चाहन्थेँ छोरीलाई बिहे नभै एक्लै अमेरिका नपठाऊँ। तर ऊ जिद्दी। ऊ गएकी थिई। मैले उसलाई छोरी भएकै कारणले अमेरिका जानबाट रोक्न खोजेको कुरालाई सम्झेर मलाई अहिले कुरिकुरी पनि लागिरहेको छ। म कस्तो आधुनिक ? म कस्तो प्रगतिशील ? यो कुरा सम्झेर मन खिन्न भएको छ। कुरीकुरी भएको छ।

रातको समय छ। आकाशतिर हेर्छु। ताराहरू अनवरत हिँडिरहका छन्। जुन टहटह लागेको छ। सोचेँ, भोलि यी जूनताराहरू मेरी छोरी भएतिर पुग्छन्। कसैले रोक्दैन। तर हामी मान्छे, अनेकौँ बहाना बनाएर मान्छेलाई नै रोक्न खोज्छौँ।

जे भए पनि म ग्य्राजुएसनमा निम्त्याइएँ। दूतावासले पत्यायो। र म अमेरिकाको तयारी गर्न थालेँ। धेरै छोरा जन्माएका मित धनन्जय पाध्ये पहिले पहिले भन्ने गर्थेः
“होइन हौ मितज्यू, यसरी छोरी छोरीमा त कसरी हुन्छ ?”

मनमा जे भए पनि म भन्थेँः “के गर्नु त हौ मितज्यू ?”

उनी भन्थेः “छोरा भनेका घिउका लड्डु हुन्। मेरा त ५ भाइ छोरा छन्, डाँडाकाँडा ढाक्छन्”
म हाँस्थेँ। किनकि मसँग अर्को उपाय थिएन।

अहिले उनै मित भन्दैछन्ः “छोरी भनेर के गर्नु ?, त्यो चिचिली सुमना छोरीले संसार खाइन्। अम्रिका बोलाइन्। आफ्ना त तिघ्रेहरू बाबुकै छालामाथि रगडा गरेका छन्, बसेका छन्। नामर्दहरू। छोरीलाई स्यावास भन्दिनु है मितज्यू”

आफ्ना नभएका जुँघा पनि उचालिएजस्तो लागेको थियो आफैँलाई। र यसरी आइपुगेको छु अमेरिका।

एयरपोर्टमा लिन आएकी छोरी गाडी हाँकिरहेकी थिई। तुफान हाँकेकी थिई। म भने उहिलेको कुरा सम्झेर एकोहोरिएँ छुः

एकपल्ट उसले भनेकी थिईः “बाबा, म गाडी हाँक्न सिक्छु है”

मैले भनेको थिएँः “छोरी, तिमी गाडी हाँक्न सक्तिनौ। यो त केटाले गर्ने काम हो”

०००००

कथोत्कर्ष।

“बाबा, यो जोन अफ केनेडीलाई हत्या गरेको ठाउँ हो”

वा यस्तै यस्तै।

एकदिन छोरीले सोधीः “बाबा, कस्तो लाग्यो त अमेरिका ?”

मैले जवाफ दिएको थिएँः

“अमेरिका कथाजस्तै लागेको छ। सुन्न पाइने, हेर्न पनि पाइने, सिनेमा हेरेजस्तो। गित सुनेजस्तो। मनमोहक र केटाकेटीमा पढेको पहाडा, हातमा लाग्यो सुन्ना। तर पनि एउटा कुरा चाहिँ अचम्म लाग्यो मलाई”

“के बाबा ?”

“नेपालमा अमेरिका वा युरोपमा पढेका नेता वा बुद्धिजीवीको कमी छैन। तर तिनीहरूले किन गजबको युनिभर्सिटी, चौडा सडक, ठाउँ ठाउँमा पार्क र यस्तै यस्तै कुराहरूको प्लानिङ गर्न नसकेका होलान्। खालि भाषा, भेष र गफ मात्र पो बोके छन् त”

छोरीले भनीः “दुइटै कुरा हुनसक्छ बाबा, हजुरले भनेको पनि केही हदसम्म हो। र अर्को कुरो नेपालमा एक्पर्टिजले कहाँ काम गरेको छ र ? काम गर्ने त परम्परागत सोचाइ बोकेका नेताहरू हुन् नि”

मलाई झट्ट एउटा कथाको याद आयो। यो कथा मेरा मावली बाले भन्नु भएथ्यो। मेरा मावली बा मन्त्रालयको सेक्रेटरी हुनुहुन्थ्यो। अमेरिकामा पढेर नेपाल पुगेपछि तत्कालीन राजासँग भेट्न पुग्नु भए छ। उहाँले राजालाई बिन्ति बिसाउनु भए छः

“सरकार, अहिले नै यो काठमाडौँ उपत्यकालाई प्लानिङ गरौँ। नेपालका प्रमुख स्थलहरूलाई विकासको प्लानिङ् गरौँ। अहिले बस्ती छैन। विकासका पूर्वाधारहरू सडक, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय, आवास क्षेत्र छुट्याइ दिऊँ। भोलि त यो काठमाडौँ भरिन्छ”

राजाबाट मर्जी भए छः “ए सेक्रेटरी बाजे, अमेरिका देखे छौ मजाले। यहाँ नेपालीले कहिले घोडा चढ्ने त्यो त टुङ्गो छैन, तिमी मोटर चल्ने बाटाका कुरा गछौँ ?, हाहाहाहा”

०००००

दिन त मजाले बिते। चुनाब भयो भन्थे। मान्छेको कुँडुलो देखिएन। गाडी बन्द भएन। बन्द नभएको देख्दा पनि आनन्द लाग्दो रहेछ। सरकार भनेको के हो भन्ने बोध भयो। कानुन के हो भन्ने महसुस गरेँ।

र एकदिन मैले छोरीलाई अनायास नै सोधेँः “अब कन्भोकेसन्पछि त नेपाल फर्कने होला नि छोरी ?”

ऊ मजाले हाँसी।

मैले अचम्म मानेर प्रश्न गरेँः

“किन छोरी ? हाँस्नु पर्ने के भने र मैले ?”

“बाबा, अमेरिकाबाट पिएचडी गरेर पनि नेपाल फर्कनूँ ?, फेरि मेरो विषय अन्तरिक्ष इन्जिनियरिङ् हो। के काम पाइन्छ नेपालमा मलाई हुने ?”

“केही त पाइएला नि। त्यत्रा मान्छे अटाएका ठाउँमा तँ नअटाउने कुरो आउँछ र ?”

“आउँछ बाबा, मैले ब्याचलर सक्ने बित्तिकै नेपालमै काम खोजेको होइन ? हजुरले मन्त्रीसम्म गुहार्नु भएको होइन ? हजुरले नै भन्नु भएको होइन, छोरी यो देश काम नलाग्ने भयो। जा विदेश”

म चुप थिएँ। ऊ भनिरहेकै थिईः

“बाबा हजुरले दिग्दार भएर मलाई अमेरिका जा भन्नु भएको थियो हगि ? खासमा हजुरको विचार त एउटा जागिरमा झुन्ड्याएर मेरो बिहे गरिदिने थियो। जागिर नपाएर मात्र हो। हो कि होइन साच्ची भन्नु त बाबा ?”

मैले उत्तर दिएँः “हो। छोरी चेली एक्लै कता पठाउनु भन्ने लागेकै थियो। अमेरिका पुगेका बिग्रन्छन् भन्थे नि त नानी”

छोरीले मलाई जमेर उत्तर दिईः

“हजुरलाई म बिग्रन्छु जस्तो लागेको थियो ? एकछिन गौर गरेर जीवन बुझ्नु त बाबा, बिग्रनु भनेको के हो ? बाल विधवा फुपूले आफ्नो बैँस तथा सारा जीवन मरेका फुपाजुका नाममा बिताउनु सप्रनु हो ? पाँचवटा स्वास्नी ल्याउने हाम्रा काइँला काकाका श्रीमती काकीहरूले प्रताडना खप्दै जीवन बिताउनु सप्रनु हो ? के हो बिग्रनु र सप्रनुको परिभाषा ? के मैले कुनै गोरे ब्वाय फ्रेन्ड बनाएँ भने म बिग्रेँ ? आखिर संसारका मानिस एउटै जात हो भन्ने कुरा भाषणमा मात्र गरेर हुन्छ कि दृष्टिकोण पनि चाहिन्छ ? एकछिन अनुभूत गर्नुस् त बाबा, सबै मान्छे भगवानका श्रृष्टि हुन्। अनि विभेद किन ? मान्छे स्वतन्त्र जन्मन्छ तर समाजले उसलाई सिक्रिले बाँध्छ। र त्यो सिक्रिलाई स्वतन्त्रता भन्छ”

छोरीको कुरा सुनेर म एकछिन रनभुल्ल परेँ। के भनूँ, के भनूँ भयो। बरु छोरी नै फेरि भन्न थालीः

“अहिले मलाई अमेरिकाकै एउटा कम्पनीले हायर गरेको छ। मंगल ग्रहमा मानव सम्भाव्यता अध्ययन गर्ने काम छ। यो अवसर छोडेर नेपाल हिँड् भन्नु हुन्छ भने म जान्छु। तर मलाई हजुरले जागिर खोजिदिनु पर्छ”

ऊ हाँस्तै थिई सायद गम्भिर पनि थिई। भन्न थालीः

“म तरकारी खेती गर्न त सक्तिन नि। हजुरले तरकारी खेती गरेर टिभीमा अन्तरवार्ता दिएको मैले हेरेकी थिएँ। पुरस्कार पनि पाउनु भएको थियो। तर त्यसको एक वर्षमै भट्टा बसेर झन्डै एक करोड स्वाहा पार्नु भएको होइन ? नेपाल त सस्तो लोकप्रियतामा रमाउने देश हो। भ्रममा बाँच्ने देश हो। नत्र हजारपल्ट झुटो बोल्ने नेतालाई किन सुली चढाउन नसकेको त ? उफ, नेपालका नेता, बुद्धिजीवी, कलाकार, आदिको नाम मैले नलिनु पथ्र्यो। उनीहरू त अमेरिका आउँछन्। नेपालीको घरमा भात खान्छन्। टिकटको पैसा लिन्छन्। चन्दा असुल्छन्। र अमेरिकामा छँदा कार्यक्रममा भाषण गर्छन्ः “देश रिमिट्यान्सले चलेको छ। तपाईँहरू महान हुनुहुन्छ”। र नेपाल पुग्छन् र स्टोरमा काम गरेको भनेर हेप्छन्। ट्वाइलेट सफा गर्छन् भनेर गिज्याउँछन्। चिहान खन्छ भनेर अपमानित गर्छन्। कृतघ्नहरू। र रमिते नेपालीहरू वाध्य विदेशिएका नेपालीलाई देश बिगारेको आरोप लगाउँदै ठर्रा सुरुप्प पार्छन्। अबसर पाएको भए आफ्नो देश कसलाई प्यारो हुन्न र बाबा ? हामीलाई पनि लाग्छ अमेरिकाको सयौँ पहाडभन्दा हाम्रो एउटै सगरमाथा अग्लो छ। हामी पो किन तातो मरुभूमि ताक्थ्यौँ त बाबा ?”

म केही बोलिनँ। ऊभित्र ज्वालामुखी फुटिरहेको थियो। विद्रोह उम्लिरहेको थियो। ऊ फेरि भन्न थालीः

“बाबा, एकछिन घोरिनुस् त। भर्खर बिहे भएका पोटिला श्रीमतीको अँगालो छोडेर अरबमा किन जान्छ होला नेपाली ? के उसको रहर हो ? उताबाट बाकसमा प्याक भएर आएको जंगध्वज नेपालीकी विधवाको अवस्था हेर्नु भएको छ ? उसकी आमाको रोएको मातृत्व अनुभव गर्नु भएको छ ? विदेशी यौन बजारमा आफ्नो यौनलाई टुक्रा टुक्रा पारेर बेचिरहेकी नेपाली चेलीको यौन यात्रा के रहर हो ? नेपालीको गाँसभित्र त्यो लासको दुर्गन्ध छैन र ? नेपालीको बासभित्र त्यो टुक्रा टुक्रा यौनको चित्कार छैन र ? नेपालीका कपासभित्र विदेशिन बाध्य नेपालीहरूका पत्रैपत्र रुवाइहरू छैनन र ? खोई नेपालीहरूमा सम्वेदना ? सरकार कहाँ छ ? बरु पाखामा बसेर मन्त्री थप्दै छ सरकार। हो कि होइन भन्नु त बाबा ?”

०००००

कथान्त।

चिट्चिट पसिना आए छ। दिमाग फुट्लाजस्तो भए छ।

छोरीका प्रश्नै प्रश्नले मेरो विद्वता कायल भएको छ। मेरो अनुभव कायर भएको छ। मेरो विवेक हलाल भएको छ। मेरो मन मष्तिष्क थाक्न थालेको छ। र मलाई त्यसै त्यसै दिक्क लागेको छ। परपर हेर्छु। आकाशलाई कतैकतै बादलले छेकेको छ।

मभित्र कोही भन्दै छः

“भिसा नलागेको भए पनि त हुन्थ्यो नि। अमेरिका नगएको भए पनि हुन्थ्यो नि। हेर्नु पर्ने थिएन। देख्नु पर्ने थिएन, तँ अब के भन्छस् आत्माराम नेपाल ?”

मलाई पनि लागिरहेको थियो। आफ्नो देश जस्तो भए पनि भएकै थियो। खाने पानीमा ढल बगे पनि हामी नेपाली कानमा तेल हालेर सुत्न सकेकै छौँ। नेतालाई अनर्गल गाली गर्न पनि मजा छ। भ्रष्टाचारीलाई पनि नेता मानेकै छौँ। गुन्डा र डनलाई पनि भोट हालेकै छौँ। देश बिगारेको दोष अरूलाई लगाइ रहेकै छौँ। यो अनि आफू दिनभरि तास खेल्यो। बरालियो। घरमा भात पाकेकै हुन्छ।

गरिव भएपछि धनिको बस्तीमा नजानु रहेछ। बेकार टेन्सन्। अमेरिकामा जे देख्यो त्यो मेरै नेपालको भए हुन्थ्यो भन्ने सोच किन आउँछ होला ? यो सोच शोकमा परिणत भएको छ। र यो शोकले दिग्दार भएको छु। भत्भती पोलेको छ।

०००००

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ओलेँ। परपर शिवपुरी हाँसेको थियो। हिमाल लहर लगाएर सेताम्य थियो।

देश रुँदै थियो र पनि मलाई भन्दै थियोः “आइस् आत्माराम। तँलाई स्वागत छ”

मैले ट्वाल्ल परेर देशलाई हेरिरहेँ छु। देश फेरि बोल्न थाले छः

“म तेरो आमा हुँ। सबै मिलेर मलाई नङ्ग्याउँदै छन्। जस्तै भए पनि आमाको मायामा खोट देखेको छस् र आत्माराम नेपाल ?”
नेपाल बन्द रहेछ। म धुवाँ, धुलोमय कोत्र्याहा सडकमा सुट्केस घिसार्दै घिसार्दै थाकेँ छु र बन्द नेपालको प्रगतिशीलताभित्र हराएँछु। नाकका पोराबाट धुवाँधुलोको लत्को पुछेको छु। र फेरि मेरो आत्माले मलाई नै सोधि रहेको छः “ए आत्माराम नेपाल, तिम्रो आत्मा कहाँ छ ?”

र फेरि कथा सुरु भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *