शंकरप्रसाद रिजालका तीन कविता

शंकरप्रसाद रिजाल
२६ साउन २०८१ ७:०२

आकांक्षा र मुक्तिको मार्ग

आकांक्षा मनको इच्छा जन्मैदेखि पलाउँछन्
बालक बृद्ध सबै प्राणी यसैमा रमाउँछन्

मोहको जालमा फस्दै सारा इच्छा उ खोज्दछ
यसैको जन्जालमा पर्दै आफ्नो जीवन रोज्दछ

सानो मानिसको काँध हात्तीको भारी बन्दछ
तैपनि उसको मन यसैमा रम्दछ

दासी त्यो मनको प्यास दायाँ बायाँ लुकाउँछ
सबैको भारीमाथि आफ्नो भारी बिसाउँछ

बालक दुधको इच्छामा आमा भनी बोलाउँछ
ममता त्यसमा थप्दै उ फेरि पुकार्दछ

इच्छाको दहमा डुब्दै उ युवकपनि बन्दछ
त्यसैको लयमा मिल्ने आशा उसले जगाउँछ

आशाको अभिलाषामा झोला उसको बढाउँछ
त्यसको तृप्ति नभएमा उ चिच्च्याई कराउँछ

बिषयको परिबेशमा परी उ आकांक्षा बढाउँछ
यसैको मूलपानीमा उसले तृप्ति बुझाउँछ

इच्छाको बेगमा उसले लोभ मोह जगाउँछ
यसले उसको प्राज्ञ कता कता हराउँछ

इच्छा भिखको माग पुनःपुनः बढाउने
त्यसैको भीम खाडलमा आफूलाई उफार्ने

खोज्दैन उसले धाम मुक्तिको मार्ग लिइकन
सोच्दैन उसले फेरि ईश्वर वाणी भजीकन

पोको आकांक्षाको बोकी उ बृद्ध बन्दछ
ईश्वरको धाम जाने बेलामा फेरि आश खोज्दछ

आकांक्षा मनमा नराखी त्यो गीता पढिकन
नखोज कर्मको त्यो फल कृष्णवाणी बुझिकन

खोजे मनमा संग्राम चल्छ काम र क्रोधको
नखोजे मनमा शान्ति खुल्छ ईश्वर भित्रको

मुक्तिको मार्ग नै त्यै हो सबैले फल पाउने
ईश्वरै उनै हुन् त्यस्तो सबै मुक्ति दिलाउने

रोएको मन

रोएको मनको आँसु कहाँ पुछिन्छ जीउमा
हाँसेको मनको आँसु कहाँ सुक्छ शरीरमा

सारा आँसुको धारा सुकेको छ शरीरमा
छैन कसैको सहारा प्रभुकै पद चरणमा

धारा बग्छ आँखामा नदस्झैं कल्कलाउँदो
रोएको मनको आँसु झरना झैं झर्झराउँदो

आँसु दहमा डुब्छ कसैको प्रेममा फसी
बिछोड प्रेमको माया बस्छ कतै कतै लुकी

चाहना छैन क्यै मेरो इच्छा छैन अलिकति
लुकेको तिर्सना मेरो भित्रै पोल्छ भत्भती

झुठो संसारमा हाम्रो रोएको मनको गति
छैन सुवास तनमा सुकेको छ मन जति

परीको आँखको डिल राइ तप्किन्छ निलम
हीराको मूल्य के हुन्छ त्यो भन्दा आँसु उत्तम

कसैको प्रेमको आँसु भिजेको छ शरीरमा
कसैको दुःखको आँसु बगेको छ हृदयमा

घडा आँसुको सागर नकहिले सुक्छ जीवमा
रोएकापनि रोएकै छन् यो पापी संसारमा

खुसीमा आँसु बर्सिन्छ भुईंमा खस्छ कि भनि
दुःखमा आँसु तर्सिन्छ नुनिलो हुन्छ कि भनि

धनीपनि रोएकै छन् आ-आफ्नै स्वभावमा
रोइ दुःखी बसेका छन् आ-आफ्नै अभावमा

रिसमा आगको ज्वाला आँखाभरी सबैतिर
करुणामा आँसुको धारा बर्सिन्छ धरधर

रुने संसारमा धेरै युगौं युगको गति
नरुने को होलान् र रोएका छन् कतिकति

शिव रुँदा बन्यो रुद्राक्ष बनी यस लोकमा
रुद्राक्ष फलको बृष्टि बनी एक शोकमा

रोएका थे राम पनि, पिताको शोकमा रही
पितृ शोकमा पर्दा रोए तिनै धरधरी

कृष्ण रोए मनमा राधा बिछोडमा परी
मीरा रोइन भक्तिमा आँसुको दहमा डुबी

रोएकाछन् सबै प्राणी यो कली युगमा
हाँस्नेपनि रोएका छन् आ-आफ्नो समयमा

रोएको मनको बोली शुद्ध फुटेको कहाँ छ र
खुसीको आँसुको झोली भरिएको कहाँ छ र

आँसुको दहमा डुब्ने जन्मे कति कति यहाँ
खुसीको मोहमा रुने मरे कति कति यहाँ

धनको मोहमा रुने रोएका छन् दिन् दिन
कसैको प्रेममा फस्ने रोएका हर दिन

कसैको पनि देखिन्न रोएको मनको मति
कसैको पनि देखिन्न हाँसेको तनको गति

सन्तोष आँसुको धारा बगाऔं मनमा सधैं
अरुको दुखःमा करुणा बगाऔं तनमा सधैं

अरुले गुलीयो खायो मुख मिठयाउँछौ किन
कसैले “गु” लियो खायो बरु तिमी छि छि भन

रोएको मनको आँसु गुलियो कहाँ छ र?
खुसी मनको आँसु नुनिलो काहाँ छ र?

पवित्र मन

हे! को छ यो संसारमा पबित्र मनको धनी
“म” छु यो जगतमा भन्ने, हिँडेकाछन् सधैं भनी

आशाको भोकमा हिँड्ने, कहाँ हुन्छ पबित्र त्यो
मोहको रागमा झुम्ने कहाँ हुन्छ निर्मल त्यो

धनको लोभमा डुब्ने सधैं अभावको गति
त्यो हुन्न कहिले तृप्ति जलेर उसको मति

कुण्ठा रिस नफा हानि नरही मनमा सधैं
पवित्र मूल मन्दिरमा बसेको हुन्छ उ सधैं

पवित्र मनको छायाँ देखिन्छ तनमा सधैं
बासना मनको माया हराउँछ सधैं सधैं

हेर! साई बाबा पवित्र मनको धनी
भक्तिमै बिते उनका सारा तन र मनपनि

रसायन सन्तहरुले पवित्र मनमा लिइ
रमे ती आजीवन पवित्र रस नै पिइ

रामकृष्ण रमे मनमा गरी पवित्र रामको भजन
रमे बिबेक आनन्दपनि गरी उनैको किर्तन

पबित्र जलले हुन्छ मानिसको यो शरीर
सत्यले मन जीतिन्छ यो सानो मनको शरीर

बुद्धि ज्ञानबाट शुद्धिन्छ पवित्र मनको मति
आत्मा धर्मबाट निर्मल छ यत्ति हो शुद्धको गति

दया करुणा सेवा घोडाको दौडमा रही
यो संसारमा घुमी फिर्छ उसकै बसमा परी

पवित्र उसको माया घुमी हिँड्छ यतैतिर
नदेखिने यसको गुण झुकी हिँड्छ सबैतिर

त्यही हो मनको स्वामी ईश्वरै दास बन्दिने
त्यही हो जीवको स्वामी पवित्र आफू बन्दिने

तसर्थ पवित्र मनमा राख फाली सबै फोहर
ईश्वरैपनि हुनेछन् तिमीमा अगाडि वरवर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *