षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास- भाग ५

पद्मशमशेरदेखि राणाशासनको अन्तसम्म

कपिल लोहनी
२६ साउन २०८१ ८:०२

सन् १९४५ नोभेम्बर २९ (वि.सं. २००२ मंसिर १४) मा जुद्धशमशेरले आफ्नो श्रीपेच लगाइदिएर श्री ३ महाराज घोषणा गरेको दिनदेखि पद्मशमशेर नेपालका आठौँ श्री ३ महाराज भए।

जुद्धशमशेरले श्री ३ महाराज हुने बेलामा राजाको लालमोहरको जरुरत सम्झेनन् र आफ्नो शासन अवधिभर राजालाई हेयको दृष्टिले नै हेरिरहे भने आफूले छोडेर जाने बेलामा पनि पद्मलाई राजा मार्फत श्री ३ नबनाएर आफूखुशी श्रीपेच लगाइदिए। पछि मोहनले पनि यहि तरिका अपनाए।

सानैदेखि कमलो हृदय भएका सोझा पद्ममा मुलुकको नेतृत्व गर्न सक्ने वा शक्ति सञ्चालन गर्न सक्ने कुनै ह्याउ थिएन तर समसामयिक राजनीतिक स्थितिलाई भने बुझ्न सक्दथे।

भारतमा आउन लागेको विशाल राजनीतिक परिवर्तन र नेपालमा त्यसको प्रभाव परिरहेको तथा उनीभन्दा अघिल्ला श्री ३ जुद्धले चरम दमनका साथ ४ जना सक्रिय राजनैतिक व्यक्तित्वहरूलाई मृत्युदण्ड दिएर भित्र भित्र जनता गुम्सी रहेको अवस्थाले गर्दा पद्मशमशेरले अब पहिलेको जस्तो निरंकुश शासन चल्दैन भन्ने कुरा बुझिसकेका थिए।

बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति कडा शासनको खिलाफ भएकोले आउँदा दिनहरूमा बिस्तारै शासन व्यवस्थालाई खुकुलो बनाउँदै जान चाहन्थे उनी तर उनका यस्ता कृयाकलाप माथि भोटे ताल्चा लगाउन चन्द्र र जुद्धका छोराहरू तयारी अवस्थामा बसिरहेका थिए।

यिनी पछिका मुख्य व्यक्तिहरू मोहन, बबर, केशर, बहादुर, अग्नि, सिंह आदि थिए र उनीहरू शिक्षित हुनुका साथै राजकाज, खुराफात, षड्यन्त्र र जसरी पनि राणाशासनलाई निरंकुश बनाएर निरन्तरता दिने मामलामा एक ढिक्का भएर बसिरहेका थिए।

पद्मको अवस्था देवशमशेरको जस्तै कुनै पनि बेला पदच्यूत हुनु पर्ने जस्तो भएको थियो भने अर्को तर्फ रणोद्दिपसिंहको जस्तो मरण हुन सक्ने सम्भावना समेत थियो। त्यसैले उनी श्री ३ भएको दिनदेखि नै निकै आत्तिएका थिए।

श्री ३ भएको केही दिनपछि भएको भारदारी सभामा भारदार र कर्मचारीको सामु उनले दुई हात जोडी आँखा भरी आँशु पारी ‘म जनताको नोकर हुँ’ भनेका थिए। हुन त उनले समयको वास्तविकतालाई आत्मसात् गरेर ठीकै कुरा बोलेका थिए तर चारैतिरबाट घेरेर बसेका षड्यन्त्रकारी भारदारहरूले उनलाई रुन्चे महाराजको संज्ञा दिए।

उनले मुलुकमा केही राजनीतिक सुधार गर्ने मनसायले केही स्कूलको स्थापना गर्नुका साथै भारतमा निर्वासनमा पठाइएका राणाहरू सुवर्णशमशेर, महावीरशमशेर, बसन्तशमशेर आदिलाई फिर्ता बोलाएउन खोजेका थिए र अन्य बुद्धिजीवी तथा व्यापारी, जमीनदार र आम जनतासँग पनि सल्लाह लिने गरेका थिए। तर यो सब केही समयमा नै भाङभुङ हुन गयो यिनै पञ्चभैयाहरूको षड्यन्त्रको कारण।

भारतको वाराणसी र कलकत्तामा भेला हुँदै आखिर वि.सं. २००३ (सन् १९४६) मा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो। काठमाडौंको कारागारमा जन्मकैद भोगिरहेका नेता टंकप्रसाद आचार्यलाई अध्यक्ष बनाइयो भने कार्यवाहक अध्यक्ष विश्वेश्वरप्रसाद कोइराला भए।

धेरै प्रवासी नेपाली तथा नेपालमा नै बस्ने नेपालीहरू पनि यस पार्टीको सदस्य हुन थाले। यसका धेरै सदस्यहरू भारतीय स्वतन्त्रता संग्रामसँग सम्बन्धित पनि थिए, त्यसैले भारतका उच्च नेताहरू महात्मा गान्धी, जवाहरलाल नेहरु तथा अधिकांश समाजवादी र प्रजातन्त्रका हिमायती भारतीय स्वतन्त्रता संग्रामीहरूको नेपालमा प्रजातन्त्र ल्याउने उद्देश्यले स्थापना भएको यो पार्टीमाथि समर्थन थियो।

मात्रिकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला तथा उनका परिवारका धेरै पुरुष र महिला सदस्य, डिल्लीरमण अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठलगायत दार्जिलिङ, देहरादून, कलकत्ता तथा भारतका धेरै ठाउँहरू र नेपाल भित्रका नेपालीहहरू पनि सक्रिय रूपमा सहभागी भई नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको निम्ति लड्न तयार भए।

राणा परिवारबाट नै रोलक्रम मिचिएर र आन्तरिक कलहले गर्दा भारतमा निर्वासित हुन पुगेका उच्च घरानाका राणाहरू र अन्य उच्च व्यक्तित्वहरूले सुवर्णशमशेरको नेतृत्वमा कलकत्तामा २००६ सालमा नेपाल डेमोक्रेटिक काङ्ग्रेसको स्थापना गरेका थिए।

यसरी नै पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकार, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, गोविन्दप्रसाद लोहनी आदिले २००६ सालमा नेपालको पहिलो कम्युनिष्ट पार्टीको स्थापना गरे।

चार जना शहीदहरूलाई राणा शासकहरूले मृत्युदण्ड र सयौँलाई कारागारमा कठोर यातना दिन थालेपछि नै काठमाडौं र नेपालका विभिन्न महत्वपूर्ण ठाउँहरूमा राजनीतिक सरगर्मी बढ्दै गएको थियो।

नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको केही महिनामा नै यो पार्टीले विराटनगर जूट मिलमा तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीहरूको नेतृत्वमा मजदूर हडताल शुरु गर्‍यो।

एउटा मिलमा भएको हडताल दबाउन पनि राणाहरूले काठमाडौंदेखि सेना पठाए र ठूलो धरपकड गरे। सो हड्तालमा पुगेका विश्वेश्वरप्रसाद कोइरालालगायत करिव आधा दर्जन नेता र कार्यकर्तालाई विराटनगर, धरान, धनकुटा हुँदै पहाडको बाटोमा हिँडाएर काठमाडौँ ल्याइयो र पद्मशमशेरको टङ्गाल दरवारको ढोकामा अवस्थित टहरोमा केही दिन थुनियो।

वीपी नेपालमा थुनिएको बेलामा भारतमा नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापतिमा मातृकाप्रसाद कोइरालालाई तोकियो। लगत्तै जोगवनीमा दलको सम्मेलन भएर सबै हडताली मजदूरहरूलाई २००३ चैत्र मसान्तभित्र नछोडिएमा देशव्यापी सत्याग्रह गर्ने घोषणा भयो।

त्यतिबेलाको सञ्चार र यातायातको दृष्टिले नेपाल निकै विकट भएपनि कांग्रेसका कार्यकर्ताहरू सत्याग्रहको निम्ति राजधानीलगायत धेरै जिल्लामा पुगेका थिए। तीनधारा संस्कृत छात्राबासमा विभिन्न माग सहित हड्ताल गरेर निकालिएका धेरै शिक्षित छात्रहरू सत्याग्रहमा भाग लिन आआफ्ना गाउँतिर खटाइए।

सत्याग्रह शुरु भएको करिव एक महिना पछि पद्मशमशेरले नेपालमा एक वैधानिक कानुनको निर्माण गर्ने घोषणा काठमाडौँको टुँडिखेलको खरिको बोटबाट गरे। जनताको सामु राणाशासनको यो पहिलो हारको संकेत थियो।

यसको लगत्तै उनले भारतका प्रधानमन्त्रीलाई पत्र लेखेर आफू राजनैतिक सुधार गर्न तयार रहेको र यो कसरी हुन सक्छ भन्ने बारे सुझाव दिन र नेपालको पहिलो वैधानिक कानुन बनाउन विशेषज्ञहरू पठाउन अनुरोध गरे। यसरी भारतको सहयोग लिनुमा पद्मको आफूलाई कुनै भारदारले केही गर्न नसकोस् भन्ने स्वार्थ थियो।

नेपालमा राजनीतिक सुधार ल्याउन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको ढाढस पाए पछि श्री ३ पद्मशमशेरले भारतीय कानुनी विशेषज्ञहरूको मद्दतमा बनेको नेपालको पहिलो वैधानिक कानुनको वि.सं. २००४ सालमा घोषणा गरे।

यसरी बेलायतबाट स्वतन्त्र भएको भारतलाई नेपालको मामलामा सुमधुर हस्तक्षेप गर्ने पहिलो बाटो स्वविवेक नभएका डरछेरुवा प्रधानमन्त्री पद्मशमशेरबाटै खुलेको हो।

भारतमा बसेर क्रान्तिको तयारी गरिरहेका नेपाली प्रजातन्त्रवादीहरू र राणाशासक दुवैका अभिभावक भारतका प्रधानमन्त्री हुन पुगे भने २००७ सालमा राजासमेत भारतको सहयोगको निम्ति उता पुगेपछि त वाध्यात्मक रूपमा प्रजातान्त्रिक नेता, राणा र राजा सबैको त्रिकोणीय अभिभावकत्व भारतले नै ग्रहण गर्नु पर्ने भयो र तत्पश्चात् नेपाल मामिलामा उ हावी हुन थाल्यो।
निर्वासनमा रहेको नेपाली राष्ट्रिय काङ्ग्रेसले बनारसमा भएको सभाबाट राणाहरूको बोलीको परिक्षणको रूपमा वैधानिक कानुनको स्वागत गर्ने र सत्याग्रह स्थगित गर्ने निर्णय गरे पनि यसको केही समय पछि काठमाडौंको भूगोल पार्कमा भएको आमसभालाई राणा सरकारले दमन गरिदियो। त्यसैले यो कानुन व्यवहारमा नआउने पक्का भयो जनताको नजरमा।

मातृकाप्रसाद कोइरालाले दलको सभापतिमा आफ्नो साटो अरु कसैलाई बनाउने सुझाव दिएपछि वीपी कोइराला थुनामुक्त नहोउञ्जेलसम्मको निम्ति डिल्लीरमण रेग्मी सभापति भए। पछि वीपी थुनामुक्त भएर घाँटीको क्यान्सरको उपचारको निम्ति बम्बईको अस्पतालमा भर्ना भए।

तर उनि उपचार गरेर फर्के पछि पनि सो पद छोड्न डिल्लीरमण रेग्मीले मानेनन् र आखिर पार्टी नै फुट्न पुग्यो र कार्यकर्ताहरू पनि विभाजित हुन पुगे।

पछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने पुष्पलाल श्रेष्ठ लगायत कैयन् महत्वपूर्ण नेताहरू वीपीको पार्टीबाट डिल्लीरमणको पक्षमा जानेहरू मध्येका नै थिए। यसरी नेपालको राजनीतिक दलहरूको इतिहासमा प्रारम्भदेखि नै पद र सिद्धान्तको निम्ति हानथाप र झगडा पर्न थालेको हो।

वैधानिक कानुन बनेदेखि नै चन्द्रशमशेरका छोराहरू पद्मशमशेरलाई कसरी निस्काशन गर्न सकिन्छ भन्ने ताकमा बस्न थाले र यसमा त्यतिबेलाका निकै शक्तिशाली व्यक्ति तथा जुद्धका छोरा बहादुरशमशेरको पनि साथ रहेको थियो।

यिनिहरूकै डरले आफू श्री ३ भएर पनि कहिल्यै सिंहदरवारमा नबसेका डरपोक पद्म भारतका प्रधानमन्त्रीको समर्थन पाउँदा पनि शासनसत्ता छोडेर भारत पलायन हुने मनस्थितिमा पुगे।

वि.सं. २००४ साल फागुन ८ गते स्वास्थ्योपचारको बहानामा भारत जानुभन्दा अघि राजा त्रिभुवनको अनुरोधमा पद्मले जङ्गबहादुरको शासनकालदेखिको लालमोहरहरू भएको लालबाकस राजा त्रिभुवनलाई बुझाइदिए।

त्रिभुवनले आफ्नो पुर्खौली सनकले हो वा त्यतिबेलाको राजनीतिक अवस्थाको कारण हो, त्यसमा भएका सम्पूर्ण लालमोहरहरू जलाएर खरानी बनाइदिए। यसरी एउटा महत्वूर्ण कालखण्डका धेरै कागजात जलेर नष्ट भए।

यिनी भारततर्फ लाग्ना साथ कार्यवाहक प्रधानमन्त्री बनेका मोहनशमशेरले आफू खुशी २००५ वैशाख १ गते सिंहदरवारमा सरेर शासन गर्न थाले। जबकी यतिबेलासम्म पद्मशमशेरले आफ्नो पदबाट राजीनामा दिएकै थिएनन्।

मोहनले यसो गर्नुभन्दा अघि नै नेपालको नयाँ कानुनलाई निस्क्रिय बनाएर राजनीतिक दल तथा आमसभा र भेलामा पनि प्रतिबन्ध लगाइसकेका थिए। दिल्लीमा नेहरुलाई भेटेर राँची पुगेका पद्मले आखिर २००५ बैशाख १६ गते करिव अढाई वर्ष नेपालका श्री ३ महाराजको रूपमा शासन गरेर आफ्नो पदबाट राजिनामा दिए।

उनी २००७ सालको राणाशासनको पतन पश्चात् भारतको कलकत्ताबाट काठमाडौँ आउने जाने गरिरहे पनि २०१७ सालमा कलकत्तामा उनको ७८ वर्षको उमेरमा निधन भयो।

मोहनशमशेरले आफू प्रधानमन्त्री हुने वित्तिकै सन् १९४८ जुलाईमा काश्मिर, हैदरावाद र जुनागढ कब्जा गर्न भारत र पाकिस्तानको बीच युद्धको स्थिति आएकोले त्यहाँ भारतको समर्थनमा फौज पठाउन भारतसँग लेखापढी गरे।

जंगबहादुरले सन् १८५७ को भारतको सिपाईँ विद्रोह र अन्य प्रकारका क्रान्ति दबाउन र विश्वयुद्धमा बेलायतको सहयोगको लागि फौज पठाएर खुशी बनाएको जस्तै स्वतन्त्र भारतलाई खुशी बनाउन खोजेका थिए र केही हदसम्म सफल पनि भएका थिए। किनकी भर्खरै स्वतन्त्र भएर दुई मुलुकमा विभाजित भारतको सैन्य बल त्यतिबेला व्यवस्थित र आजको जस्तो बलियो भइसकेको थिएन।

काठमाडौँमा प्रजा पञ्चायतका नेता तथा कार्यकर्ताका राजनीतिक त्रृmयाकलाप दबाउन र जेलमा हाल्न तथा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितले पहाडको लामो हिँडाई पश्चात् गोप्य रूपमा राजधानीमा आएर मानिसहरू भेट्दा राणाहरूले वीपीलाई पक्रेर थुने भने भट्टराई र व्यथित भारत फर्कन सफल भए।

वीपी कोइरालाले आफू र अन्य राजबन्दीहरूको स्वास्थ्य, खानपान र जेलको अवस्थामा सुधार हुनु पर्ने मागसहित लामो र कठोर अनसनमा बस्दा पनि मोहन र उनका भाइहरूले उनी नमरुञ्जेलसम्म दबाएरै राख्नुपर्छ भन्ने नीति लिएका थिए। बेलायती साम्राज्यवादको पतन भएर भारत जस्ता मुलुकहरू स्वतन्त्र भइसक्दा पनि नेपालका राणाशासकहरू अझै पहिले जस्तै निरंकुश शासन गर्न सक्छौँ भन्ने सोचमा नै थिए।

राणाशासकहरूले भारतीय सरकारलाई खुशी पार्ने हर प्रयत्न गरे पनि वीपी भारतीय प्रधानमन्त्री नेहरु तथा अन्य शिर्षस्थ नेताहरूको अनुरोध पछि छुटेका थिए। वीपी जेलबाट छुटेर भारत फर्कनु अघि मोहनशमशेरसँग उनको सिंहदरवारमा भेट भयो।

सो भेटमा मोहनशमशेरले वीपीहरूले सबै आन्दोलन स्थगित गर्नु पर्ने र बदलामा उनले राजनीतिक सुधार गर्दै जाने हल्का आश्वासन दिए। पद्मको वैधानिक कानुनमा किटिएका प्रतिनिधि सभाहरू पनि सकृय बनाए जस्तो गरे।

वि.सं. २००६ साल फागुन (सन् १९५० फेब्रुअरी) मा मोहनशमशेरले भारतको ८ दिने औपचारिक भ्रमण गरे। एक वर्ष अघि भारतलाई सैन्य सहयोग दिएको र तिब्बतसम्म कम्युनिष्ट चीनको प्रभुत्व बढीरहेको त्यो भूराजनीतिक वातावरणमा उनी अति निरंकुश शासक भए पनि भारतले उनको भ्रमणलाई निकै महत्वका साथ लिएको थियो।

त्यसमाथि प्रधानमन्त्री जवाहरलाल नेहरु अति बुद्धिमान, कुटनीतिज्ञ र साना-ठूला सबै मुलुकलाई उस्तै आँखाले हेर्ने प्रजातान्त्रिक राजनेता थिए। त्यतिबेला नेपाल र भारत बीच शान्ति र मैत्री सन्धि हुने हल्ला चले पनि त्यस्तो केही भएन बरु त्यस्तो सम्झौता निकट भविश्यमा गर्ने कुरा सुनियो।

त्यस्तै नेहरुले समयसापेक्ष राजनैतिक सुधार गर्न र राजबन्दीहरूलाई थुनामुक्त गर्ने पनि सल्लाह दिएछन्। यस्तै बेलातिर नेपालले संयुक्त राष्ट्र संघको सदस्य हुन खोजेको प्रस्तावमा पनि भूराजनीतिक झमेलाका कारण भारतको अति घनिष्ट मित्र राष्ट्र रुसले किन हो कुन्नि, यो मामलालाई अति महत्व दिएर पटक पटक भिटो लगाएर बदर गराएको थियो। त्यसैले राजनीतिमा माया गरे जस्तो देखिए पनि भित्र भित्र के मनसुवा भइरहेको हुन्छ, थाहै नहुने, अनुमान मात्र गर्न सकिने।

मुलुकको ढुकुटी रित्याएर र प्राकृतिक स्रोतको निर्मम दोहन गरेर कमाएको अकुत सम्पत्तिले अधिकांश राणाहरूका सन्तान-दरसन्तानले मोजमज्जाको जिन्दगी जिउन पुग्ने अवस्था थियो र आजसम्म पनि छ भने, रोलक्रमबाट हटाइएर भारतमा निर्वासनमा गएका तथा आफ्नो हिस्साको अकुत सम्पत्ति लिएर बसेका क्रान्तिकारी कहलाइएका राणाहरूको सम्पत्तिको केही हिस्सा राणाशासन कै समाप्तिको निम्ति खर्च हुन थालेको थियो।

भारतमा रहेर नेपालको राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको निम्ति संघर्षरत दुई थरी काङ्ग्रेस पार्टी मिलेर मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा नेपाली काङ्ग्रेसको स्थापना गरे। अब भने क्रान्तिको निम्ति जनशक्ति वा पैसाको दुख नहुने अनुमान गरे उनिहरूले। यता राणाशासकहरू भने क्रान्तिकारीहरूको हर प्रयासलाई नाकाम बनाउन लागि पर्न थाले।

आखिर मोहनशमशेरको दिल्ली भ्रमणको दौरान कै भारतसँगको कुराकानी मुताविक वि.सं. २००७ श्रावण १६ गते (सन् १९५० जुलाई ३१) मा काठमाडौँमा नेपाल र भारत बीचको नयाँ शान्ति र मैत्री सन्धि तथा वाणिज्य सन्धि भयो।

यो सन्धि गरेर मोहनशमशेर र उनको गुटले नेपाललाई भारतको छाताभित्र राखेर भइ पनि आफ्नो शासन टिकि रहने चाँजो पाँजो मिलाउन खोजेको देखिन्छ। यदि राजा र भारतमा बसेर प्रजातन्त्रको निम्ति लडिरहेका नेताहरू भारतको नजिक नभएका भए, भारतले भूटानमा जस्तै प्रजातन्त्रको वास्ता नगरी राणाशासन नै रहन दिएर आफ्नो मुलुकको स्वार्थ सिद्धिमा लाग्थे होलान्।

वि.सं. २००७ साल कार्तिक २१ गते राजा त्रिभुवन सपरिवार भारतीय राजदूतावासमा शरण लिन पुगेपछि राणाशासकहरूको होश उड्न पुग्यो। उता क्रान्ति गर्न तयार भएका नेता, कार्यकर्ता तथा जनताको मनोवल निकै बढ्न गयो।  मोहनशमशेरले हत्तपत्त त्रिभुवनका नाती अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषित गरे पनि यो कुरालाई त्रिभुवन र भारत कसैले पनि मानेनन्। जनता र राजनीतिक शक्तिले त मान्ने कुरै भएन।

राजाहरू भारतीय दूतावास पसेको ४ दिन पछि नै भारतीय सेनाको विशेष विमानमा राजा त्रिभुवन सपरिवार दिल्ली प्रस्थान गरे। योसँगै हवाईजहाजबाट काठमाडौं र तराईमा पर्चा छर्ने र मुक्तिसेनाले नेपाल–भारत सिमानाका वीरगञ्ज लगायत शहरहरू कब्जा गर्न शुरु ग¥यो। उता काठमाडौँमा विशाल जुलुस निस्कन शुरु भयो।

पाल्पामा पदच्यूत गरेर नजरबन्दमा राखिएका रुद्रशमशेर पनि मुक्त हुन सफल भएर पाल्पा गौँडा उनैको कब्जा रहन गयो। उनका छोराहरू त क्रान्तिकारी समूहसँग मिलेर भारतबाट नै राणाशासन विरोधी काम गरि नै रहेका थिए।

राणाशासन ढल्ने जस्तो संकेत पाएपछि कैयन् पदधारी राणाहरू पनि बिस्तारै प्रजातन्त्रको समर्थनमा खुलेआम बोल्न थाले भने दर्जनौँ उच्च राणा पदाधिकारीले त सडकमा जुलुस नै निकालेर त्रिभुवनको समर्थन र मोहनको विरोधको नारा लगाए।

बालकृष्ण सम लगायत धेरैले आफू प्रजातन्त्रको समर्थक हुँ भन्ने खालका कृयाकलाप गर्न थाले। हुँदा हुँदा भारतमा वार्ता गर्न गएका केशरशमशेरहरू पनि बदलिँदो परिस्थितिमा नयाँ भूमिकामा प्रस्तुत हुने चाँजो पाँजोसहित निकै बदलिन थाले। आखिर मोहनशमशेर बिस्तारै एक्ला हुन पुगे।

भारतमा पुगेका राजा, राणाका प्रतिनिधि र प्रजातान्त्रिक शक्तिबीच भारतीय सरकारको रोहवरमा एक त्रिपक्षीय समझदारी भयो। जस अनुसार नेपालमा राणाशासन हट्ने र प्रजातान्त्रिक परिपाटी मुताविक जनताको शासनको शुरुवात हुने।

तर यो सम्झौतासँगै राणाहरूले १०४ वर्षसम्म गरेको थिचोमिचो, लुट, हत्या र आतंकबाट सहज रूपमा अवतरण गर्न पाउने वातावरण पनि बन्यो। श्री ३ मोहनशमशेर अब श्री मोहनशमशेर भएर प्रजातान्त्रिक नेपालको पनि प्रधानमन्त्री हुने भए। उनले भारतलाई सैनिक सहयोग र १९५० को सन्धिमार्फत रिझाएको उपहार हुन गयो यो सब।

काठमाडौँमा राजा त्रिभुवनको भव्य स्वागत भयो। २००७ साल फागुन ७ गते राजा त्रिभुवनले नेपालबाट राणाशासन हटि प्रजातान्त्रिक शासन व्यवस्था शुरु भएको घोषणा गरे र उनले आफ्नो गद्दीको बाजी राखेर नेपालमा प्रजातन्त्र ल्याउन पुर्‍याएको योगदानको कदर स्वरुप उनलाई ‘राष्ट्रपिता’ भनेर सम्बोधन गर्न थालियो।

नयाँ बनेको १० सदस्यको मन्त्रिपरिषद्मा मोहनशमशेर लगायत दुवै खेमाका गरेर ५ जना राणा परिवारका र ५ जना जनताका छोराहरू रहेका थिए। यो सँगै नेपालमा बर्बर राणाशासनको अन्त हुन गयो।

राणाशासनको शुरुवातबाट जङ्गबहादुरले नेपालमा हुँदै गरेको चरम राजनैतिक हत्या, हिंशा र दरवारिया षड्यन्त्रको अन्त गर्न सफल भए भने निकै हदसम्म अनेक प्रकारले बेलायतीहरूलाई खुशी तुल्याएर भए पनि नेपाल राष्ट्रको अस्मिता जोगाए।

तर उनी पछिका सबै राणा प्रधानमन्त्रीहरूले मुलुकको सम्पत्तिलाई आफ्नो बनाउने, मोजमज्जा गर्ने, जनतालाई शोषण गर्ने र दास सरह बनाएर अँध्यारोमा राख्ने र आफ्ना शत्रुको निर्मम सफाया गरेर आफू र आफ्ना निकटका राणालाई मात्र सत्तामा रहने अवसर दिने काम गरे।

यस बीच केही विकास र सामाजिक कार्यहरू भने आफ्नै स्वार्थको निम्ति भए पनि गरेका हुन् तर १०४ वर्षको अवधिमा भएका त्यति मात्र कामलाई ठूलो योगदानको रूपमा लिन भने मिल्दैन।

१०४ वर्षसम्म मुलुकलाई लुटेर आर्जन गरेको सम्पूर्ण सम्पत्ति राणाहरूकै हुन गयो भने शहिदको हत्या गर्ने जुद्धशमशेर, नरशमशेर, मोहनशमशेर तथा अन्य जिवित धेरै क्रुर राणाहरूलाई कुनै सजाय भएन र राजा वा क्रान्तिकारी नेताहरूले पनि यो बारे बोल्न चाहेनन्।

पछि पनि यिनै मध्येका कैयन् क्रुर राणाहरूले नेपालको सेना, प्रहरी, प्रशासन र उच्च तहमा रहेर हालिमुहाली गर्ने अवसर जीवनभर पाइरहे र अनेकन् षड्यन्त्रमा सामेल भइ रहे। आखिर यस्तै चरम विकृतिहरू फल्न फुल्न पाएकाले नै आजसम्म नेपालमा दण्डहिनता र गैरजिम्मेवारीपनाले मलजल पाइरहेको छ।

क्रमशः …

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *