कथा : हस्ताक्षर

प्रकाशचन्द्र खतिवडा
२६ साउन २०८१ ७:१६

सन्तुलित मनलाई असन्तुलित पार्ने तत्वहरु किन सक्रिय हुन्छन्? उसलाई नै थाहा हुँदैन।‘के भई रहेछ अहिले? र के हुनु पर्ने हो अब? छ्या कस्तो ‘बोर’ भई रहेछ।’

‘सधैं भरि ‘बोर–बोर’ तपाईंलाई मात्रै ‘बोर’ लाग्छ कि के हो? ’’ श्रीमतीले त्यसो भन्दै कोठा भित्र पस्दा उ झसँग ब्यूँझे जस्तो हुन्छ ।‘हैन, हैन यता हेर त बिनु, कहिले काही मन दुख्न पनि त सक्छ नि हैन र?’

‘‘भो, सब छोड्दिनोस् वाइयात कुराहरु ।तपाईंको मन नदुखेको पनि कुनै दिन छ र? जहिले पनि मनै दुख्यो, ‘’बोरै’ भयो दिक्दारै लाग्यो ।यस्तै त हुन नि तपाईंका शब्दहरु। अँ साँच्चि आज अफिसमा धेरै काम परे जस्तो छ नि। हाकिमलाई सारा काम गर्न सत्तिन भनिदिनोस् न। के तपाईंको मात्रै हो र अफिस?’

‘त्यो त हैन नि, तर के गर्नु? हाकिमले भनेको मान्नै पर्‍यो। नत्र जागिर उडाइदेला भन्ने डर। जागिर उड्यो भने फसाद परेन? तिमी एक जनाको जागिरले कति थेग्छ र? तिम्रै जागिरले म पालिनु पर्ला। छोरालाई पढाउनु पर्ला। उ सानै छ। चार वर्षको छोराले के पो बुझ्छ र? झगडा गर्ला, राम्रो लुगा कपडा खोज्ला। त्यस बेला अनि के गर्ने? चोरेर ल्याउनु भएन क्यारे!’

‘हैन तपाईं यस्तै नामर्द कुरा गर्नु हुन्छ र त मलाई पनि ‘बोर’ लागेर आउँछ। म त स्वास्नी मान्छे। तपाईंलाई के मैले सिकाउन मिल्ला र? कमसेकम सोच्नोस् न, त्यो अफिस तपाईंको निजी त होइन नि। रात दिन खटेर भ्याई नभ्याई काम गर्नु हुन्छ।खै त्यसको उपलब्धि? हाकिमले कहिल्यै पनि सोझो नजरले हेरेको हैन क्यारे! जस कहिल्यै दिँदैन क्यारे! हैन कहाँको रैछ हाकिम पनि?’

‘‘हैन बिनु! तिमी के बोलि रहेकी छ्यौ? हाकिमको बदख्वाई गरेर आखिर पाउनु पनि हामीले के नै छ र? हाकिम त हाकिम नै हो नि। कुर्सीमा बस्छ। अर्डर गर्छ। बस् उसको काम नै के छ र? सानातिना हामी जस्ता कर्मचारीले तलब खान नपाए पनि उनीहरुले खाएकै हुन्छन्। बस् यस्तै त हो नि। तिमी पनि हाकिम भए त्यसै गर्छ्यौ। म पनि।’

‘‘हैन अझै पनि तपाईंको दिमाग सफा भएको छैन? हाकिमले जे ग¥यो त्यही हुन्छ भन्ने पनि त छैन नि। आखिर हाकिम पनि त मान्छे नै हो नि। उसले पनि मान्छेलाई मान्छेकै जस्तो व्यवहार गर्न सिक्नु पर्छ नि। हाकिमको कुर्सीमा बस्ने बित्तिकै मान्छेलाई भुसुना देखिन्छ कि के हो? यसरी नै हामीले र हामी जस्तै थुप्रै कर्मचारीहरुले हाकिम नै हर्ता कर्ता हो, उसले जे गरे पनि हुन्छ भन्ने सानो सोचाई सोच्दै आएर त यिनीहरुले देशलाई कंगाल बनाई सके। हाम्रै कमजोरी बाट त यिनीहरुले मोज लुटे। घर ठोके। बिल्डिङ ठोके। कार किने ।मोज मस्तिले विदेश उडे।’

‘त्यो त हो नि। मैले पनि महसुस गर्दै आएको छु नि बिनु। म पनि त्यति मुर्ख र अबुज छैन नि। तर के गर्नु? यहाँको संस्कार, परिपाटी, चालचलन, व्यवहार, समाज सबै त्यस्तै छ। हामीले मात्रै भट्याएर भएन क्यारे। यिनै कुरा हाकिमले छ्यास्स सुन्यो भने भोलि देखि वेरोजगारी समस्या भित्र जेलिनु पर्छ।’

‘ती सब छोड्दिनोस्। अब यस्तो अत्याचार सहेर बस्नु हुँदैन। कति सहने? सहनुको पनि एउटा सीमा हुन्छ। अब त सीमा भन्दा बाहिर आई सक्यो। बाहिर आएपछि यसले उग्र रुप लिन्छ। बुझ्नु भो। भ्रष्टचार, घुसखोर, तस्कर आदि गर्ने हाकिम। सजायँ पाउने कर्मचारी? दण्ड सजायँ दिने कानुन त बनेको छ भन्छन्। खै कार्यान्वयन? भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ। यि भ्रष्टचारी हाकिमहरु। यो तपाईंको अफिसको हाकिमलाई त तस्करीमा जाक्नु पर्ने हो। खै कोही बोल्न सक्या हैनन्।’

‘तिमीले भने जस्तो भरिपूर्ण भए त हामी पनि सुख साथ बाच्न पाउने थियौ नि। मुखले भने जस्तो काम सजिलो हुदैन क्यारे!’

‘तपाईं जागिर नै जिन्दगी भन्ने सोच्नु हुन्छ। आखिर जागिर खानै पर्छ भन्ने पनि त केही छैन नि। जागिर त के हो र? यो त एउटा समाजलाई देखाउने संस्कार मात्रै हो।

फलानो पनि जागिर खादैछ। फलानाकी स्वास्नी पनि जागिरे छे। जागिर खाएर राम्री स्वास्नी बिवाह गरे छ। जागिर खाएर नै धन सम्पत्ति जोडे छ। आदि। इत्यादी। पढे पछि जागिर खानै पर्छ भन्ने केही छैन। आधुनिक प्रविधिले खेती गर्न सकिन्छ। व्यापार गर्न सकिन्छ। पत्रकारिता गर्न सकिन्छ।

‘प्राईभेट फर्म’ खोलेर बस्न सकिन्छ। पत्रपत्रिका पसल खोलेर बस्न सकिन्छ। जागिर के हो र? जागिर त क्षणिक आन्नद मात्रै हो। त्यही पनि हाकिम रिझाउन सकियो भने।

नत्र त जागिर अपघात। मेरो अफिसको पनि हाकिम उस्तै परेको छ। जति खेर पनि टेबलमा मुन्टो टेकायो, फ्वाँ-फ्वाँ निदायो। केही काम परेर गयो भने दिनका दिन टाउकै मात्रै दुःखी राख्या हुन्छ। पियनले कागज पत्र लिएर जाँदा पनि मलाई सन्चो छैन, फुर्सद पनि छैन भोलि लिएर आउनु भन्यो। बस् घुर्न थालि हाल्यो। भोलि गयो। पर्सी ल्याउनु। पर्सी गयो। निर्कोसी ल्याउनु। परिपाटी नै त्यस्तै छ हाकिमको।

आफू भने चिट् चिट् पसिना निकाल्दै काममा व्यस्त। अफिस छुट्ने समय भन्दा एक घण्टा अगाडि नै हाकिम त अफिसबाट घर तिर सुईकुच्चा ठोकी सकेको हुन्छ। अनि यस्तो तरिकाले कहाँबाट देश सप्रन्छ त? कमसेकम कहाँ के हुँदैछ? मूल्यांकन त हुनु पर्ने। तर खै केही भए जस्तो लाग्दैन मलाई त।

अनुगमन, निरीक्षण केही छैन।’ यसरी बिनु एकोहोरो जागिरे जीवनका असन्तुष्टीहरु पोख्दै गई। बिजय केही नबोली सुन्दै गयो। रात झमक्क परिसकेछ। यस बेलासम्म सधैं खाना तयार भै सक्थो। तर त्यस दिन त त्यति खेरसम्मको समय त श्रीमान् र श्रीमतीबीच वार्तालाप गर्दा गर्दै फुस्स गैसकेछ।

विजयले ‘हैन आज खाना पनि नखाने की के हो ?’ भन्दा बिनु जुरुक्क उठेर भान्सा कोठा तिर लागेकी हुन्छे। भान्सा कोठामा बिहानदेखिका जुठा भाँडा असरल्ल लडी रहेका देख्दा उ एक छिन मेचमा थ्याच्च बस्छे। यताउति हेर्छे। सब्जी छैन। स्टोभमा मट्टितेल पनि छैन। चामल पनि एक डेढ किलो मात्रै छ। छोरालाई दुध पियाउनु पर्ने। दुध पनि सिद्धिराखेको रहेछ।

बिनु मेचबाट जुरुक्क उठ्छे। छ्या कस्तो जीवन बाँच्नु परेको हो मैले। श्रीमन्लाई ‘बोर’, ‘बोर’ भन्दा भन्दै दिनरात बितेको अत्तो पत्तो हुँदैन। यसो भान्सामा के छ, कसो छ भनेर सोध खोज गरे पनि त हुने नि।

अब सब्जी किन्न पनि आफैं कुद्नु पर्ने होला। छोरो ब्युँझियो भने रोए र उधुम मच्चाउँछ। विजयले त एउटा काम गर्ने मान्छे राखौं भनेकै हो। तर म राख्न चाहान्न। मेरो सिद्धान्त नोकर चाकर नराख्ने नै हो।

तलब लिन पनि अझै पाँच सात दिन कुर्नु पर्ने छ। घर खर्च टार्न धौ धौ परिसक्यो। हुन त विजय र म दुबै जना जागिरे। दुनियाँले हेर्दा त सारै सुखी जीवन देखिन्छ हाम्रो। सुब्बा स्क्वायर आए है भन्ने व्यङ्य पनि सुनेकी छु। हामी माथि रिस गर्ने पनि त थुप्रै छन् नि। बिनु सोच्दै सोच्दै बजार तिर लाग्छे।

बिनुले कहिल्यै रम्रिएर हिँड्न जानिन। न त उसले अरुको जस्तो ‘मेकअप’ गर्न सिकी। उ सादा जीवन मन पराउँछे। हुन त साधा जीवनमा हिँड्नुु स्वयम् आफैंको मात्रै हात नभएर विजयको पनि हात रहेको छ। विजयलाई ओठमा लाली दलेको र आखाँमा गाजल घसेको मान्छे मन पर्दैन।

विवाह हुनु भन्दा अगाडि नै विजय र बिनुले साधा जीवन विताउने कसम खाएका थिए। विजयले बिनुलाई विवाह गरेर प्रेम गरेको होइन। प्रेम गरेर विवाह गरेको हो। यसै कारणले विजय र बिनु कहिल्यै बाझ्दैनन्। छलफलबाट नै एउटा ठोस निर्णय निकाल्छन्।

न त विजयले विवाह हुनु भन्दा अगाडिका गफगाफहरुमा बिनुलाई मोटरसाइकलमा कुदाउने। कारमा सयर गराउने। विल्डिङमा भित्र्याउने। बिदेशी दामि-दामि कपडाहरु किनिदिने।अर्थात जे भन्यो त्यही गर्ने भन्ने बचन नै दिएको थियो। फगत दुई जनाले जस्तो हुन्छ, त्यस्तै टर्छ भनी साधा जीवन विताउने सम्झौता गरी दाम्पत्य जीवनमा प्रवेश गरेका थिए।

आज उनीहरुको दाम्पत्य जीवन पनि छ वर्ष पुगेर सात वर्षमा प्रवेश गर्दैछ। एक प्रकार उनीहरुलाई सुख नै छ भनूँ। परिवार पनि तिन जना त हुन् नि। विजय, बिनु र छोरो प्रज्वल। नत विजयका धेरै दाजुभाइ नै छन्।

एउटा भएको भाइ पनि इन्जिनियरिङ पढ्न विदेश तिर गएको छ। दुई दिदी बहिनीहरुको विवाह पनि रामै्र ठाउँमा उसका बुबा आमा जीवत हुँदै सम्पन्न गराएका छन्। अहिले त उसको बाबु मरेको आठ वर्ष र आमा मरेको पाँच वर्ष भैसक्यो। हर प्रकारले हौसला दिने उही बिनु मात्रै त छ। त्यसैले विजय बिनुको असाध्यै माया गर्छ।

यस्तै प्रकारले बिनु र विजयले अरु एक वर्ष जागिरबाट तिक्तता लागे पनि अफिस धाउन छोडेनन्। महिना मरेको दिन तलब थाप्न जाँदा हाकिम उँघिरहेको भेटेनन् कि। ‘ओभर टाइम’ गर्ने उनीहरु, पैसा खाने अर्कै। बिरामी भएर बिरामी खर्चको बिल पेस गर्दा बिरामी खर्चको पैसा हाकिम र एकाउण्टेण्टले लापत्ता पारेको दृश्य हेरेनन् कि। जे भए पनि उनीहरुले एक वर्ष जागिरे जीवन दुखम सुखम बिताए।

अहिले उनीहरुले नत हाकिमको मार खानु परेको छ। न त कहिले महिना मर्छ र तलब थाप्नु हो भनेर महिनाको अन्तिम दिनलाई कुर्नु परेको छ। अहिले उनीहरु स्वतन्त्र छन्। सुखी छन्। हाँसी–हाँसी यो संसारमा बाचेका छन्।

उनीहरुको एउटा प्रेस र पुस्तक तथा पत्रिका पसल छ। उनीहरु त्यसमा आफैं खटेका छन्। मेहनत गरेका छन्। त्यसको आम्दानीले उनीहरुलाई सुखसँग खान लाउन र प्रज्वललाई पढाउन पर्याप्त पुगिनै रहेको छ। केही रकम संचित पनि छ। अब उनिहरुले विस्तारै घर किन्ने योजना बनाई रहेका छन्।

प्रेस स्थापना गर्ने कार्यपत्र बिनुले नै तयार पारेकी हो। कसरी संचालन गर्ने? कहाँ स्थापना गर्ने? आवश्यक सामाग्री कसरी जुटाउने? काममा कसरी खट्ने? लोकप्रियता कसरी बटुल्ने? जनतालाई प्रेसको विश्वास कसरी दिलाउने? समाजमा के कस्तो उपल्बधि देखाउने? भन्ने सबै अवस्था र व्यवस्थाबारे कार्यपत्र तयार पारि विजयको अगाडि राखेकी थिई।

बिनुले तयार पारेको कार्यपत्र हेर्दा हेर्दै विजय एक चोटी मुस्कुराएको थियो। बिनु उसलाई एकोहोरो हेरिरहेकी थिई, विजयको उत्तर सुन्न उत्सुक भएर। कार्यपत्र हेरि सकेर विजयले भनेको थियो ‘बिनु तिमी त साँच्चि बुद्धिमत्ता नारी रहि छौ। तिमीले जे गर्‍यौ, ठिक गर्‍यौ। म त्यसमा सहमत छु। तिमी एउटी असल आमा बन्ने छ्यौ। जसको उज्यालोमा यो गाउँ समाज अनि तोते बोली बोल्ने केटाकेटीहरु सधैं खेल्ने छन्। हाँस्ने छन्।अनि उज्यालो तिर लम्की रहने छन्।

यसरी बिनुले तयार पारेको कार्यपत्रमा दुबै जनाले सगर्व जागिर छोडी प्रेस संचालन गर्न हस्ताक्षर गरेका थिए। सो कार्यपत्रमा हस्ताक्षर पश्चात विजय र बिनु एक तमासले गलल हाँसेका थिए।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ

kpchandra2023@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *