धेरै सुन्दर भएका कारण पौडी खेलाडीलाई पेरिस ओलम्पिकबाट घर पठाइयो

डिसी नेपाल
२५ साउन २०८१ १६:०३

काठमाडौं । पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न गएकी एक खेलाडीलाई उनी धेरै सुन्दर भएका कारण ओलम्पिक भिलेजमा बस्न नदिइ घर फर्काइएको दाबी गरिएको छ । पाराग्वेकी पौडी खेलाडीलाई यसरी आफ्नो देश फर्काइएको बताइएको छ ।

सुरुमा पाराग्वेकी पौडी खेलाडी लुआना अलोन्सोलाई उनको खराब व्यवहारका कारण पेरिस ओलम्पिकबाट घर फिर्ता पठाइएको बताइएको थियो । स्वदेश फर्केपछि उनले पौडीबाट पनि सन्यास लिएकी छिन्। तर अहिले उनलाई घर फर्काउनुको कारण उनको खराब व्यवहार नभइ अर्कै भएको दाबी गरिएको छ ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार लुआनालाई घर पठाइनुका कारण उनको सौन्दर्य थियो । किनभने उनको अथाह सौन्दर्यले टोलीका अन्य खेलाडीहरूलाई विचलित गरिरहेको थियो । लुआनाले पेरिस ओलम्पिकमा आफ्नो सुन्दरताका कारण धेरैजनाको मन जितेकी थिइन्, जसमा अधिकांश पेरिस ओलम्पिकका खेलाडी थिए र यो उनको लागि निकै महँगो साबित भयो ।

उनको टोलीका साथीहरूले उनको सुन्दरतालाई सम्हाल्न नसकेपछि उनलाई स्वदेश फर्काइएको रिपोर्टमा दाबी गरिएको छ । पाराग्वेमा फर्केपछि लुआनाले पौडी खेलबाट सन्यास लिएको घोषणा गरेर सबैलाई चकित पारेकी छिन्, तर उनले आफ्नो भविष्यको योजना के छन् भनेर खुलाएकी छैनन्।

लुआना प्रतियोगिताको फाइनलमा पुग्न सकेकी थिइनन् । यद्यपि खेलाडीहरूलाई अगस्ट ११ मा हुने पेरिस खेलकुदको औपचारिक समापनसम्म ओलम्पिक भिलेजमा बस्न अनुमति दिइन्छ। तर उनलाई समापन आउन केही दिन बाँकी छँदै ओलम्पिक भिलेजको आफ्नो आवास खाली गर्न भनियो जसका कारण अलोन्सो घर फर्किनुपरेको थियो।

उनको राष्ट्रिय टोलीका प्रबन्धकले उनको उपस्थितिले उनको सम्पूर्ण पाराग्वे टोलीलाई नराम्रो प्रभाव पारेको बताएको दाबी गरिएको छ । उनी आकर्षक बनेर ओलम्पिक भिलेजमा घुम्दा अन्य खेलाडीले आफ्नो खेलमा भन्दा उनीतिर बढि ध्यान दिन थालेका थिए । तर, ओलम्पिक भिलेज छाड्न भनिएको विषयमा लुआना आफैंले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *