कृषिमन्त्री अधिकारीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङगले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल र कोरियाबीचको सम्बन्ध, आपसी सहयोग आदानप्रदान र कृषि क्षेत्रमा लगानी तथा सीपलगायत विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री अधिकारीले नेपालमा कृषि क्षेत्रमा लगानी प्राथमिकताका क्षेत्रहरूबारे अवगत गराउँदै द्विपक्षीय लगानी र सहकार्यका बारेमा चर्चा गरेका थिए। उनले नेपालमा उन्नत जातको आलुको बीउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा दुई देशबीच सहकार्य गर्न सकिने धारणा राखे।
मन्त्री अधिकारीले नेपालमै हाइब्रिड बीउबिजन तथा जैविक विषादी, मिश्रित रासायनिक मल उत्पादनमा दक्षिण कोरियाको लगानी र प्रविधि सहयोगको अपेक्षा गरे। विगतमा कोरियाबाट नेपाललाई उच्च नस्लका गाई उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्दै उनले यसबाट नेपालको दुग्ध उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
राजदूत तेयोङगले नेपालबाट कोरियामा रोजगारीका लागि जानेमध्ये धेरै कृषि क्षेत्रका कामदार रहेको र नेपाल फर्किएपछि त्यहाँ सिकेको सीप कृषि क्षेत्रमै काम लगाउन सके सकारात्मक परिवर्तन देखिने धारणा राखे।
नेपालको कृषि क्षेत्रमा कोरियाबाट गर्दै आएको सहयोगको निरन्तरताका लागि सरकार तयार रहेको भन्दै राजदूत तेयोङगले निकट भविष्यमा त्यससँग जोडिएर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डको नेपाल भ्रमण हुने जानकारी दिए।
Facebook Comment