वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ: प्रधानमन्त्री

डिसी नेपाल
२६ साउन २०८१ १७:१४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझबढी शान्ति आवश्यक भएको बताएका छन्।

यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताए।

दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताए। उनले भने, ‘आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ। आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्नेहो भन्ने भयको वातावरणमा बस्नुपरेको छ। त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ।’ उनले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा व्यक्त गरे।

विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उनको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गरे। त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *