माओवादीमा प्रचण्डमाथि बमवार्ड

शरद रिजाल
२७ साउन २०८१ ७:३६

काठमाडौं। नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिको असली खेलाडीमा रुपान्तरित भए पनि चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको अनुयायी दर्शाउने गरी पार्टीको नाम अझै पनि माओवादी नै यथावत राखेको छ।

उनै चिनियाँ नेता माओत्सेतुङले आफ्ना कार्यकर्तालाई बमवार्ड द बुर्जुवा हेडक्वाटर भने झै अहिले माओवादीभित्र पनि नेताहरु आफ्नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खनिएका छन्।

चिनियाँ नेता माओत्सेतुङले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बुर्जुवा र संशोधनवादीहरु बलशाली हुन थालेपछि पार्टी जोगाउन नेतृत्वमाथि प्रहार गर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्ताहरुलाई हेडक्वाटरमाथि बमवार्ड गर्न आदेश दिएका थिए।

अहिले माओवादीभित्र पनि पार्टी कमजोर अवस्थामा पुगेको र यस दुराबस्थाको मूल कारक नेतृत्व भएको भन्दै प्रचण्डविरुद्ध नेताहरु खनिएर पार्टी जोगाउन उनको विकल्प समेत खोज्नुपर्ने बताउन थालेका छन्।

यस अघि सत्ताबाट बहिर्गमन भएपछि बसेको पहिलो पदाधिकारी बैठकमा नेताहरुले प्रचण्डबाट माओवादी नचल्ने भन्दै नयाँ विकल्पका लागि मार्गप्रशस्त गर्नसम्म चुनौती दिएका थिए।

सोही पदाधिकारी बैठकमा नेताहरुले प्रचण्डको विकल्प खोज्नुपर्ने सम्मको चेतावनी दिएको माओवादी स्रोत बताउँछ। माओवादीका केही पदाधिकारीले प्रचण्डबाट किमार्थ पार्टी नचल्नेसम्मको उद्घोष यस अघि बसेको पदाधिकारी बैठकमा गरेका थिए।

शुक्रबारदेखि जारी स्थायी समिति बैठकमा पनि नेताहरुले आआफ्नो धारणा राख्ने क्रममा नेतृत्वविरुद्ध खनिएका छन्। करिब एक साता चल्ने यस बैठकमा स्थायी समिति सदस्यहरु पदाधिकारी भन्दा पनि नेतृत्वविरुद्ध अझै कठोर रुपमा प्रस्तुत हुने स्थिति निम्तिएको माओवादी स्रोत बताउँछ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी निर्माण र जनसम्बन्ध विस्तार सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए भने शनिबारदेखि नेताहरुले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ। बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रममा प्रचण्डको कार्यशैलीबारे प्रश्न उठाएका छन्।

शनिबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणि खनाल, राम कार्की र गणेश शाह लगायतले आफ्नो धारणा राखेका थिए।

नेताहरुले अध्यक्ष प्रचण्डको पटक पटकको गठबन्धन परिवर्तनले जनता र कार्यकर्तामा अविश्वास छाएकाले त्यसरी सरकारमा सहभागिताको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए।

यस अघि बसेको पदाधिकारी बैठकमा पनि नेताहरुले नेतृत्वको आलोचना गर्दै आआफ्नो धारणा व्यक्त गरेका थिए। नेताहरुले पार्टी कमजोर अवस्थामा पुगेको दोषारोपण अध्यक्ष प्रचण्डमाथि लगाउँदै नेतृत्व हस्तान्तरण गर्न समेत सुझाएका थिए।

माओवादी स्रोतका अनुसार उपमहासचिव जनार्दन शर्माले नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्न तुरुन्त अहिलेका सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरी विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पेश गरेका थिए।

उनले अब प्रचण्डको नेतृत्वबाट माओवादी चल्न नसक्ने ठोकुवा गर्दै पार्टी जोगाउन नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए। अहिलेको मूल नेतृत्व र सबै पदाधिकारी पार्टीको संरक्षक बनेर नयाँ तेस्रो पुस्तालाई नेतृत्व सुम्पनुपर्ने शर्माको धारणा रहेको थियो।

अर्का उपमहासचिव हरिबोल गजुरेलले सबै पदाधिकारीहरुले राजीनामा दिएर पार्टी कमजोर बनाएको नैतिक जिम्मेवारी लिन सुझाएका थिए। सचिव राम कार्की पनि नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका छन्। उनले पनि अबको नेतृत्वबाट माओवादी चल्न नसक्ने सार्वजनिक रुपमा बताइरहेका छन्।

यद्यपि कतिपय नेताले भने सरकारबाट प्रचण्डकै पहलकदमीमा सुशासनको अभियान सुरु गर्दागर्दै बाहिरिनुपरेकाले यही मुद्दा जनताबीच लिएर जाने र अझै केही समय उनको विकल्प पार्टीमा नरहेको पनि बताएका थिए।

माओवादीमा करिब चार दशक पुग्नै लाग्दा समेत नेतृत्वमा रहेका प्रचण्डविरुद्ध यो नै पहिलो पटक तिव्र असन्तुष्टि र उनको विकल्प खोज्न थालिएको अवस्था हो।

यस अघि हरेक कालखण्डमा आफू निर्विकल्प रहँदै केही समय प्रचण्डपथको आलोकमा समेत नेताहरुलाई हिँडाएका उनी पछिल्लो सरकारबाट बहिर्गमन पछि भने पार्टीभित्र सर्वाधिक संकटमा परेका छन्।

विगत उनको नेतृत्वकालमा राजनीतिकरुपमा असहमति राख्ने नेताहरु उनीसँग टिक्न नसकेर अलग भइसकेका छन्। राजनीतिक, सैद्धान्तिक र कार्यशैलीगत विमति राख्ने मोहन वैद्य, बाबुराम भट्टराई रामबहादुर थापा बादल लगायत नेताहरु उनीबाट अलग भएका छन्।

पार्टीमा आफ्नो वैचारिक र राजनीतिक खिलापमा उत्रने नेताहरु विभाजित भएर पार्टी कमजोर बने पनि नेतृत्वमा भने प्रचण्ड झनै सर्वेसर्वा देखिएका थिए। तर यसपालि भने प्रचण्ड चरम संकटमा परेका छन्।

उनको पक्षमा पदाधिकारीमा उपमहासचिव वर्षमान पुन लगायत केही नेताले मात्रै सार्वजनिक रुपमा प्रतिरक्षा गरेको देखिएको छ भने अन्य अधिकांश नेताहरुले प्रचण्डबाट पार्टी चल्न नसक्ने निष्कर्षमा पुगिसकेका छन्।

माओवादीको करिब ३६ वर्षे नेतृत्वकालमा अहिले प्रचण्डको सबैभन्दा संकटपूर्ण अवस्था रहेको र यो अवस्थाबाट सहजै पार लाग्न मुस्किल रहेको माओवादी स्रोत बताउँछ।

अब उनको सामु नेतृत्व हस्तान्तरणबाहेक अर्को विकल्प रहेको छैन। उनी नेतृत्वमा यथावत रहे पार्टी फेरि विभाजनको अवस्थामा पुग्ने तहसम्मको असन्तुष्टि उनीप्रति बढेको स्रोतले जनाएको छ।

पार्टीभित्र विभिन्न स्वार्थप्रेरित गुट र उपगुटहरु अहिले पनि सक्रिय छन्। तिनै गुटको व्यवस्थापन गर्न समेत प्रचण्डलाई निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको थियो।

पार्टीमा उपमहासचिवद्वय पुन र शर्माको कडा गुटबन्दीका अलावा नारायणकाजी श्रेष्ठ र वैद्य नेतृत्वको दलबाट फर्किएको महासचिव देव गुरुङ लगातयको समूह पनि सक्रिय छ । अहिले यिनै समूह मध्ये महासचिव गुरुङ र उपमहासचिव पुन बाहेक अधिकांश प्रचण्डबाट पार्टी नचल्ने निष्कर्षमा पुगिसकेका छन्।

यस अघि पार्टी विभाजन नहुँदै २०६८ सालमा पार्टीभित्र फरक समूहका रुपमा रहेका बाबुुराम ,बैद्य, बादल, श्रेष्ठ लगायतका नेताहरुले प्रचण्डविरुद्ध गरिएको मोर्चाबन्दी धोबिघाट गठबन्धनका नामले माओवादीभित्र परिचित छ।

ललितपुरको धोबिघाटमा भएको त्यही गठबन्धनले बाबुरामलाई प्रधानमन्त्री बनाउने सहमति गरेपछि प्रचण्ड स्वीकार्न बाध्य भएका थिए। पार्टी जीवनमा प्रचण्ड निरीह भएर आफू इतर समूहको निर्णय स्वीकार्न बाध्य भएको त्यो नै पहिलो घटना हो।

अहिले धोबिघाट भन्दा पनि कडा असन्तुष्टि पार्टीमा प्रचण्डविरुद्ध भएकाले उनको ३६ वर्षे पार्टीको नेतृत्व पहिलो पटक निकै जोखिमपूर्ण अवस्थामा पुगेको छ।

त्यतिबेला धोबिघाट गठबन्धनपछि बाबुरामलाई प्रधानमन्त्री बनाउने एउटा निर्णय स्वीकार्न बाध्य भएका प्रचण्ड अहिले भने नेतृत्व नै परित्याग गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन्। उनको पार्टी जीवनकै सर्वाधिक संकटपूर्ण अवस्थाका रुपमा यसलाई लिइएको छ।

गत वर्षको विधान अधिवेशनदेखि नै पार्टीमा नेतृत्व चयनका लागि लोकतान्त्रिक विधि तय गर्नुपर्ने माग राख्दैे आएका उपमहासचिव शर्मा प्रचण्डले सहजै नेतृत्व हस्तान्तरण गर्न विशेष महाधिवेशनको घोषणा नगरे कठोर निर्णय लिने सम्मको तयारीमा रहेको माओवादी स्रोत बताउँछ।

प्रचण्डको विगतदेखिको राजनीतिक यात्रामा पार्टीभित्रै रहेका आफ्नै नेताले उनको विकल्प खोजेर चुनौती दिएको यो नै पहिलो घटना हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *