सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर
भोजपुर। इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ ।
यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।
बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको बताए । बाढीबाट रु पाँच करोड बराबरको क्षति भएको उनको अनुमान छ ।
गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।
गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए । बाटो बनाउन रु १० करोड लाग्ने उनको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु विकल्प आफूहरूसँग नभएको पनि उनले बताए ।
बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु.एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ ।
Facebook Comment