गाजाको एक विद्यालयमा इजरायली आक्रमणमा परी ९० भन्दा बढीको मृत्यु
काठमाडौं । हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायली आक्रमणमा परी धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ ।
इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ ।
गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ । यी तथ्याङ्कहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन ।
सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले एएफपी समाचार एजेन्सीलाई भने अनुसार मृत्यु हुनेको संख्या ९०-१०० को बीचमा हुन सक्छ र धेरै व्यक्ति घाइते भएका छन्।
प्यालेस्टाइनबाट विस्थापित मानिसहरूलाई राखिएको विद्यालयमा तीनवटा इजरायली रकेटले आक्रमण गरेको थियो।
यसअघि टेलिग्राममा एउटा पोस्टमा सिभिल डिफेन्सका प्रवक्ताले यसलाई ‘नरसंहार’ भनेका थिए।
इजरायली सेनाले अल-ताबाइन स्कूलमा रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टर भित्र सञ्चालित हमास लडाकुहरूलाई आक्रमण गरेको बताएको छ।
Facebook Comment