एमालेसँगको सहकार्य सफल नभए कांग्रेसमा गिरावट आउने शेखरको आशंका
खोजे तोकेकै समयमा १५ औं महाधिवेशन हुने सुनिश्चितता

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले एमालेजस्तो प्रतिष्पर्धी दलसँग सत्ता सहकार्य गरेकोले सरकारमा गएका कांग्रेसका नेताहरुले जनताको विश्वास जित्नेगरि काम गर्न नसके कांग्रेसमा नसोचेको गिरावट आउने खतरा औंल्याएका छन्।
पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले यस्तो खतरा औंल्याएका हुन्।
उनले सुशासन लेखिने र रटान लगाउने विषय नभएर आम नागरिकले अनुभूति गर्ने कुरा भएको उल्लेख गरेका छन्। कांग्रेस नवनिर्माणको बाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासवाट मात्र कांग्रेस रूपान्तरण सम्भव रहेको उनको भनाइ छ।
देउवालाई सम्बोधन गर्दै कोइरालाले विगतको आठ वर्षमा राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा नगर्ने बताउँदै भनेका छन्, ‘कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठवन्धनको कारण ठूलो दलको रुपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ। यी सबैको वस्तुनिष्ठ समिक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु।’
काेइरालाले समयमै १५ औं महाधिवेशन हुनुपर्ने कुरा पनि उठाएका छन्। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले विधानअनुसार चार वर्षको अन्तरालमा २०८२ मंसिरमा १५ औं महाधिवेशन सुनिश्चित हुनुपर्ने कोइरालाको भनाइ छ।
‘कांग्रेसको १५ औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं। विधान र नियमावली संशोधनका लगि अविलम्ब समिति बनाऔं। २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्,’ कोइरालाले केन्द्रीय समिति बैठकमा भने।
Facebook Comment