रूसका धेरै गाउँमा युक्रेनको कब्जा, ७६ हजार रूसी घरबाट विस्थापित
काठमाडौं । रुस र युक्रेनबीचको साढे दुई वर्ष लामो युद्धको बीचमा युक्रेनले अब रुसमा प्रवेश गरी आक्रमणलाई तीब्र बनाएको छ । युक्रेनी सेना रुसी सीमामा १० किलोमिटर भित्र पुगेको छ । टास समाचार एजेन्सीका अनुसार रुसी प्रान्त कुर्स्कका गभर्नर अलेक्सी स्मिर्नोभले आक्रमणका कारण ७६ हजार मानिस घर छाडेर गएको बताएका छन् ।
बीबीसीका अनुसार रुसमा १ हजारभन्दा बढी युक्रेनी सैनिक, २० वटा बख्तरबंद गाडी र ११ ट्याङ्क छन् । उनीहरूले धेरै गाउँहरू कब्जा गरेका छन्। उनीहरुको अबको लक्ष्य सुड्जा सहर रहेको बताइएको छ । रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनविरुद्धको यो सबैभन्दा ठूलो प्रतिआक्रमण हो ।
युक्रेनले १५ रूसी सैन्य वाहनहरू नष्ट गरेको बताइएको छ । सोशल मिडियामा भाइरल भिडियोमा रुसको ओक्ट्याब्रस्को शहरमा १५ सैन्य गाडीहरू क्षतिग्रस्त भएको देखिन्छ। यो शहर रूसी सीमाबाट लगभग ३८ किलोमिटर टाढा छ। बीबीसीले यो भिडियोको पुष्टि गरेको छ ।
आक्रमणलाई ध्यानमा राख्दै, रुसले कुर्स्कमा धेरै ट्याङ्क र रकेट लन्चरहरू पठाएको छ। रुसी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार पहिलो पटक रुसमाथि हमला भएको स्वीकार गरेका छन् ।
जेलेन्स्कीले भने, “हाम्रा सेनाहरूले युद्धलाई रुसी भूमिमा लगिरहेका छन्। उनीहरूले न्याय पुनर्स्थापना गर्दै आक्रमणकारीहरूलाई आवश्यक दबाब दिन सक्षम छन् भन्ने प्रमाणित गरेका छन्।” युक्रेनी राष्ट्रपतिले सैनिकलाई धन्यवाद दिएका छन् ।
युक्रेनी आक्रमणका कारण कुर्स्क प्रान्तमा रहेको आणविक ऊर्जा केन्द्र खतरामा परेको छ। वास्तवमा यो प्लान्ट सुड्जा शहरबाट करिब ६० किलोमिटर टाढा छ। यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी प्रमुख राफेल ग्रोसीले चेतावनी जारी गरेका छन्। उनले आणविक दुर्घटना रोक्न दुवै देशलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
Facebook Comment