१८ देशका राजदूतको सुनवाई आजबाट

डिसी नेपाल
२९ साउन २०८१ ६:५४

काठमाडौं। केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाई सुरु हुने भएको छ। हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलवारदेखि सुरु हुन लागेको हो।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन्। उनका अनुसार सो सुनवाई प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ।

सरकारले साउन १५ गते चिनका लागि कृष्णप्रसाद ओलीसहित विभिन्न १८ वटा देशमा नयाँ राजदूतको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ।

दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्। त्यस्तै सरकारले साउदी अरबमा नरेशविक्रम ढकाल र पाकिस्तानमा रिता धितालको नाम सिफारिस गरेको छ।

त्यस्तै डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार, श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल सिफारिस भएका छन्। नेपाल यसअघि पोर्चुगलको राजदूतमा सिफारिस भएर जान नपाएका व्यक्ति हुन्। रुसका लागि नेपाली राजदूत मिलनकुमार तुलाधरलाई फिर्ता बोलाएर जंगब चौहानको नाम सिफारिस गरिएको छ।

त्यस्तै अस्ट्रेलियामा कान्ता रिजाल, जर्मनीमा डा शैल रुपाखेती, अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र बेलायत चन्द्र घिमिरेको नाम सिफारिस भएको छ। सरकारले भारतका लागि भने निवर्तमान राजदूत डा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको थियो।

उनको पनि फेरि संसदीय सुनुवाई हुने संसदीय समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *