पाठक्यौली : रेणुका, ‘मञ्जरी’ र म

खेमराज पोखरेल
२९ साउन २०८१ १०:५९

नागार्जुन साहित्य प्रतिष्ठानद्वारा आयोजित राजेन्द्रमान डंगोलको नियात्राकृतिमाथिको परिचर्चा कार्यक्रममा क्यामरा सोझ्याउँदै साहित्यिक पत्रकारिताको धर्मिता निभाइरहेकी रेणुका भट्टराईसँग पहिलो पल्ट भौतिक र प्रत्यक्ष चिनाजाना भयो।

अप्रत्यक्षतबरमा भने मैले साहित्यिक संसारमा भौतिक÷अभौतिक वैशिष्ट्य पछ्याइएकी स्रष्टा हुन् रेणुका। उनको साहित्यका प्रतिको सक्रियता, संलग्नता तथा सहभागिताका साथै वैयक्तिक जीवनको विपर्यास उँधौली÷उँभौली चित्र मेरा सामुन्नेमा छ।

मेरा नजरमा जीवन भोगाइको अग्राख हुन् उनी। उनको पति वियोग पीडालाई आँशुको लप्काभित्र सहेर उभिने हिम्मतवाली हुन्। हो, उनकै ‘मञ्जरी’ नामक खण्डकाव्यभित्र यो बेला म पाइला सार्दैछु। मेरा भित्री आँखामा रेणुकाको तस्बिर छ, आँखाले ‘मञ्जरी’ का अक्षर केलाउँदै छन्। म साक्षी उभिएको छु।

मसँग भएको पुस्तक ‘मञ्जरी’ को दोस्रो संस्करण (२०८० साल) हो। बालिका र वयस्क बेहुलाबेहुली दर्शाउने चित्रले कृतिको आवरण पृष्ट सजिएको छ। कृतिको पश्चभागमा कृतिकारको तस्बिर र भूमिकाका अंश हरफ छन्। पेरोल साहित्य प्रतिष्ठानले छापेको छ।

पहिलो संस्करणको प्रकाशकीय लेख्ने कृतिकारका पति बीके पाल्पालीको प्रकाशकीय देखि प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल तथा महेश पौडेलको भूमिका छ। खासगरी प्रा.डा. देवी नेपालको भूमिकाले कृतिको शास्त्रीयतबरले रूपविधान तथा कथ्यविनिर्माणका बारेमा रोमरोम केलाएको छ। रौँचिरा पारेको छ।

यद्यपि रेणुकालाई नचिन्ने नेपाली साहित्यवृत्तमा कोही हुनुहुन्न जस्तो लाग्छ मलाई। तथापि यहाँ व्यक्ति चिनारी प्रयोजन हेतु आएको हो। विसं २०३८ मंसिरमा जन्मिएकी, २०५९ फागुनमा बिके पाल्पालीसँग विवाह बन्धनमा बाँधिएकी रेणुकाले २०७८ फागुनमा जिन्दगीको सवैभन्दा कहरपूर्ण अवस्था वैधव्य अँगाल्नु पर्यो। जीवनका अस्मेल दुरुहता तथा जटिलता भोग्नु पर्यो। मृत्यु सत्य त हो, तर अवान्छित हो। अप्रिय हो।

खण्डकाव्यकार रेणुका भट्टराईसँग विविध व्यक्तित्व छन्। साहित्यिक व्यक्तित्व छ जसले सर्जक बनाएको छ। संचार व्यक्तित्व छ जसले साहित्यिक पत्रकार बनाएको छ। सम्पादक व्यक्तित्व छ जसले पुस्तकको गुण तथा शरीरको सुधार तथा विनिर्माण कार्य गराउँछ।

सचेतन व्यक्तित्व छ जसले सिर्जनामा सचेतनाको जोहो गर्छ। नारी भएकाले नारीका कहरका अन्तर्यसम्म पुग्छ। यसो हुनुको कारण उनको पत्रकारितामा स्नातक तथा नेपाली भाषा साहित्यमा स्नातकोत्तर तहको अध्ययन हो। चेष्टा पनि हो। यत्न पनि हो।
रम्यता पनि हो।

गेयात्मकता विशेष गुण हो काव्यको। प्रधान कुरा हो। ‘मञ्जरी’ नेपाली लोकलयको झ्याउरे छन्दमा लेखिएकाले काव्यात्मक गुण त्यसै पनि हुने भयो। लयमा मधुरता पनि झ्याउरे छन्द भएका नाताले समावेश भएको छ। कृतिभित्र प्रयुक्त शब्द सामथ्र्य सरल छन्। लोकले बुझ्ने खालका छन्। लोकलयमा लेखिएकाले सरलता यो कृतिले अबलम्बन गरेको विषय हो।

रूपविधानका हिसाबबाट हेर्दा खण्डकाव्य भन्नु फुटकर कविताभन्दा बृहत् तथा महाकाव्यभन्दा सानो काव्यात्मक सिर्जनालाई खण्डकाव्य भनिनु पर्छ। ठूलो र सानो वा मध्यम भन्नु आकारको ठूलो सानो मात्र हो, गुदीको ठूलो सानो होइन। गुदी ठूलोसानो हुने कुरा पनि होइन।

स्वाद तथा प्रभावजन्यताका हिसाबबाट हेर्दा चाहे फुटकर कविता होस् वा महाकाव्य, वा खण्डकाव्य सवैमा आकारगत भिन्नताबाहेक अन्य विशेषता समान हुन्छन्। कविको मनमा आउने घटनाक्रम, अनुभूति तथा अनुभूतिको आख्यानीकरण याने कल्पनाशीलताले खण्डकाव्य सुशोभित हुन्छ। रूपविधान तथा कथ्य विनिर्माणका आधारमा लघुखण्डकाव्य भन्न सकिने गरी ‘मञ्जरी’ को सिर्जना गरिएको छ।

खण्डकाव्यको कथावस्तुले नेपाली परम्परागत अन्धविश्वासी समाजको चित्रण गरेको छ, जसले छोरी भनेको भार हो, हारेको कर्म हो भन्ने अन्धविश्वासी दर्शन बोकेको हुन्छ। कथानकको आधारभूमि याने भावभूमि अन्धविश्वासी समाजलाई प्रगतिकामी बाटोमा डोर्याउनु हो।

सो अन्धविश्वासी परिवारमा एउटा मञ्जरी नामक छोरी जन्मिएकी छ, जसमा बाबु खुसी छैन। समाज खुसी छैन। परिवेश खुसी छैन। आमाको माया मात्र छ। निर्णयको भूमिका छैन। रजस्वला नभई बिहे गर्दा स्वर्ग पुगिन्छ भन्ने अर्को अन्धविश्वासका आधारमा मञ्जरीको ११ वर्षको उमेरमा बाल बिहे भइछाड्छ।

अर्थोपार्जनका लागि लोग्ने मुगलान जान्छ। मारिन्छ। मञ्जरीले पोइ टोक्वीको अपजस पाउँछे। बोक्सी भनेर सासूद्वारा यातना दिइन्छ। घर निकाला गर्न खोजिन्छ। त्यसैबेला मधु नामक शिक्षक पात्रको प्रवेश हुन्छ।

मञ्जरी घर निकाला हुनबाट जोगिन्छे। प्रौढ शिक्षा मञ्जरीले पनि पढ्न पाउँछे। मधुसँग प्रेम हुन्छ र बकाइदा विधवाको मागी बिहे हुन्छ। सासूससुराले मञ्जरीलाई छोरी झैँ बिहे गरिदिएपछि कथानक सकिन्छ।

खण्डकाव्य मञ्जरीलाई उधिन्दा अनेक थरी विशेषता देखिन्छन्। वैचारिक विशेषता छन्। रूपविधानका विशेषता छन्। खण्डकाव्यलाई सांस्कृतिक एवं सामाजिक दायित्वलाई केन्द्रमा राखेर विनिर्माण गरिएको छ। समाजलाई शनैशनै परिवर्तन हेतु प्रगतिशील आदर्शवादमा यो खण्डकाव्य लेखिएको छ।

कृतिभित्र वर्गद्वन्द्व व्यापक छ। लैङ्गिक विभेदले ल्याएको मनोवैज्ञानिक द्वन्द्व छ। अर्थात् छोरा र छोरीलाई हेर्ने समकालीन समाजको नजरिया द्वन्द्वका रूपमा प्रयुक्त छ। यसलाई सामाजिक आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ।

समाजभित्र अर्को द्वन्द्व पनि छ। त्यो भनेको समाजमा प्रचललित अन्धविश्वास तथा कुरीतिलाई धर्म तथा जीवनसँग लगेर जोड्ने र समाज एकातिर छ। यस्तो समाज सदैव अँध्याँरोमै बसिरहन खोज्छ। विधवा बिबाहको सामलमा सामाजिक बहस छेडेको छ।

नेपाली समाजको प्रधान द्वन्द्व भनेको वर्गीय द्वन्द्व हो। वर्गीय द्वन्द्वको एउटा शक्तिशाली विषय आर्थिक स्रोतसाधनमा असमानता हो। यो खण्डकाव्यमा गरिबीका कारणले गर्दा मुगलान भासिनुपरेको चित्र छ, जसले आर्थिक द्वन्द्वको बीजारोपण गरेको छ।

वैचारिक रूपले हेर्दा यो खण्डकाव्य प्रगतिशील थिममा लेख्ने जमर्को गरिएको छ। मधु पात्रले सवैलाई प्रशिक्षित गरेर विधवा मञ्जरीसँग मागीबिहे गरेको छ र खण्डकाव्यको कथानकलाई समाज सुधारको गोरेँटो देखाएको छ। अन्धविश्वासी समाजको असली रूप परिवर्तनको सन्देश प्रवाह गर्नु खण्डकाव्यकार रेणुका भट्टराईको लेखकीय अन्तर्य हो।

कृतिभित्र समकालीन समाज अर्थात् खण्डकाव्यले आधार बनाएको सामाजिक मान्यतामा आमाको ममता कस्तो हुन्छ र निर्णयमा भने आमाको ममता काम लाग्दैन भन्ने लैङ्गिक कुरा उठाइएको छ। छोरीका प्रति बाबुको उदासिनता देखिन्छ। नेपाली समाजमा पाइने बाललीलाको सन्दर्भमा बालश्रमको कुरा पनि उठाइएको छ।

कृतिभित्र शालीन तथा सरल शब्दको चयन भएको छ। समकालीन समाजको परिदृश्यलाई हेर्दा काव्य एकदम मार्मिक छ। कृति पढिरहँदा शब्द तथा प्रभावले भावुक बनाउँछ। प्रकृति चित्रण पनि सुन्दर छ। प्रकृति आफैँ रोइरहेको छ।

मञ्जरीले बिहे नगर्न गरेको बिलौना साँच्ची निकै मार्मिक छ। खण्डकाव्यको जग भनेको ‘बेलैमा गरे छोरीको बिहे वैकुण्ठ पाइन्छ, नपरी नर्क स्वर्गको द्वार खोलेर पाइन्छ’ तथा छोरीको जन्म हारेको कर्म नामक सामाजिक परिवेश देखाएर प्रगतिशीलताको पस्कनु हो।

कृतिभित्र सामाजिक अन्धविश्वास, सासूका वचनबाण, मुगलाने वा लाहुरे परिस्थिति तथा परिवेश, सधुवीबाट विधुवी हुँदाको अवस्थाको चित्रण, संस्कारगत अन्धविश्वास, शिक्षाको ज्योतिको महत्त्व तथा आत्मनिर्भर हुन पढ्नु पर्ने कुरा याने महिला सशक्तीकरणको विषय उठाइएको छ। काव्यमा हुनुपर्ने लालित्य साह्रै सुन्दर तरिकाले प्रयुक्त भएको छ।

कृतिकारले कृति सिर्जना गर्दाको उमेर, अवस्था, परिवेश तथा मनोवैज्ञानिक दृष्टिकोणलाई मध्यनजर नगरी कृतिको मात्र मूल्यांकन गर्ने हो भने कृति प्रगतिशील आदर्शवादमा लेखिएको छ।

यो आदर्शवाद भनेको यस्तो मिठो र धातक तत्व हो, जुन परम्परावाद, यथास्थितिवाद, यथार्थवाद, प्रगतिवाद तथा क्रान्तिवादमा समेत अन्तरघुलन भएर आउँछ। वास्तवमा यही आदर्शवाद नै समाज परिवर्तनको मुख्य बाधक हो। नेपाली समाजको परम्परागत तथा धार्मिक मान्यताअनुसार खण्डकाव्यको प्रस्तुति भएको छ। उदाहरण हेरौँ ः

नारीको मान हुने ठाउँ पवित्र हुन्छ
विद्वान नारी भएमा अर्को पुस्ता पनि सुधिन्छ

यो श्लोकलाई यदि द्वन्द्ववादी तरिकाबाट हेर्यो भने नारीको मान भनेको के हो ? मान र अधिकार एकै हो कि अलग ? विद्वान नारी सवै पुस्तालाई सुधार्ने खालका हुन्छन् र ? भन्ने प्रश्नको सामना गर्नुपर्ने हुन्छ। वर्तमान समयमा नारीलाई मान होइन, अधिकार, दायित्व तथा चुनौती चाहिएको छ। मान भन्नु परम्परावादमा आदर्शवादी चिन्तन हो।

खण्डकाव्यभित्र अवैज्ञानिक तथा अन्धविश्वासी तर्क पनि उल्लेख भएको छ। यद्यपि त्यसलाई तत्कालीन समाजको सांस्कृतिक सूचना पनि भन्न मिल्ला। धुरीमा आएर कराएको कागको प्रसङ्ग सत्य भएको जस्तो उल्लेख भएको छ। उदाहरण हेरौँ :

धुरीमा आइ त्यो कालो कौवा करायो किन हो (१०),
खबर लिएर कौवा आएको छ। यो भनेको परम्परावादी कुरा हो। अन्धविश्वासी कुरा हो।
अर्कोतिर लगभग ८० पृष्टको पुस्तकमा ४० पृष्ट मात्र खण्डकाव्य छ। बाँकी ४० पृष्टमा भूमिका खण्ड रहेको छ।

कृतिलाई समकालीन समयको आदर्शवादी खण्डकाव्य भनिए के होला ? किनकि विधवा विवाहको चर्चा बुर्जवा साहित्यमा पनि पाइन्छ। कथानकमा कहीँकतै विद्रोह छैन। प्रगतिशील साहित्यको मेरुदण्ड भनेकै अन्यायका विरुद्धको विद्रोह हो। द्वन्द्व पनि विवरणात्मक रूपमा आएको छ। द्वन्द्वात्मक थिममा छैन। पात्रहरू निरीह छन्।

समन्वयवादी छ समापन। हेर्दा विधवाको बिहा सासूससुराले गरिदिएर प्रगतिशील परिवेश देखाइएको छ। कन्ने केटोले विधवासँग बिहे गरेको छ र समाज परिवर्तनको आधार मानिएको छ। तर के यो आदर्शवादी, समन्वयवादी तथा परम्परामा थोरै सुधार गर्दैमा प्रगतिशील थिम भन्न मिल्ला कि नमिल्ला भन्ने जिज्ञाशा सचेतन पाठकमा रहन सक्छ।

अब उपसंहारमा आइपुगेको छु। यसरी उपसंहारमा आइपुग्दा कृतिले मूलभूत रूपमा मलाई आश्चर्य चकित पारेको छ। किनभने खण्डकाव्यकार रेणुका भट्टराईले आफू १९ वर्षकी छँदा अविवाहित अवस्थामै एकै रातमा यो कृतिको विनिर्माण गरेकी हुन्।

यो अभूतपूर्व हो। १९ वर्षको उमेर भनेको अल्लारे जीवन हो। जीवन बाँच्ने जिजीविषा लिँदा आसन्न जीवनका प्रति कौतूहलता, जिज्ञाशा तथा रोमाञ्चकता हुने कालखण्ड हो। यो उमेरमा मान्छेको मनोविज्ञान भेलझैँ अनियन्त्रित उर्लन्छ। तर खण्डकाव्यकार रेणुका भने त्यही उमेरमा विपरीत धारमा उभिएको प्रतीत हुन्छ।

उनले त्यही अल्लारे उमेरमा पनि यति धेरै सामाजिक जिम्मेबारी बहन गर्दै लेख्नु आश्चर्य हो। कत्ति पनि हलचल नगरी समाज परिवर्तनको गम्भीर आशय अभिव्यक्त गर्नु अर्को आश्चर्य हो। लेखकीय भावुकता, उन्माद, नैराश्य वा उच्छ्ङ्खलता नपाइनु आश्चर्य हो। किनकि यो उमेरलाई मनोविज्ञानमा ‘एज अफ फ्रस्टेसन’ भनिन्छ।

कृतिभित्र समकालीन समाजको नारी सम्वेदनालाई मिहीन तरिकाले उजागर गर्नु, परोक्ष रूपमा समाज परिवर्तनको मुद्दा उठाउनु कृतिकारको लेखनीको जब्बर सुन्दरता हो। रेणुकाले कृतिभित्र जीवन तथा समयलाई सुन्दर तरिकाले रेखाङ्कन गरेको प्रतीत भएको छ।

कृतिकारकै शब्द सापट लिने हो भने ‘जीवन भनेको जन्म र जिन्दगीको यात्रा हुँदै मृत्युको ढोकासम्म पुग्ने खेल हो’ ले जीवनको भौतिक तथा सुन्दर चित्र कोरेको छ। यसैगरी मान्छे हुनुको सार्थकता, समयको महत्त्व आदिलाई प्रस्तुत गरिएको छ।

यही समयकै दुन्दुभीमा कृतिकारले खण्डकाव्यकी नायिका मञ्जरीमा उल्लेख भएको नारी सम्वेदनालाई भौतिक रूपमै भोगिरहेको यथार्थ छ। शोकलाई शक्तिमा बदल्ने सामथ्र्य राख्ने खण्डकाव्यकार रेणुका भट्टराईलाई नमन गर्दछु र कृतिको अधिकतम् सफलताको शुभकामना अर्पर्ण गर्दछु। र, अन्तिममा रेणुका ! म ‘मञ्जरी’ को प्रगतिशीलतालाई सलाम गर्दै ओझेल पर्छु।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *