माओवादीभित्र अन्तरसंघर्षको उग्ररूप

जनार्दनविरुद्ध राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालय परिचालित

डिसी नेपाल
३० साउन २०८१ १२:३९

काठमाडौं। सत्ताबाट बाहिरिएपछि बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ। गत शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले पेश गरेको लिखित प्रस्तावले तरंग आएको छ।

लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड लक्षित नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहितको लिखित प्रस्ताव उपमहासचिव शर्माले पेश गरेपछि उनै शर्माविरुद्ध अहिले पार्टीको एक खेमाले चलखेल थालेको छ।

उपमहासचिव शर्माले पार्टीमा नेतृत्वको विकल्पबारेकै बहस चलाए पछि उनको विरुद्धमा प्रचण्ड पक्षधर नेताहरुले प्रचारबाजी सुरु गरेका हुन्।

शनिबार १३ पृष्ठको ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षको लिखित प्रस्तावमा नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याउँदै पार्टी क्षयीकरणको जिम्मेवारी लिन नेतृत्वलाई सुझाएका छन्।

शर्माको प्रस्तावको विपक्षमा उत्रिँदैे कतिपय पदाधिकारीले नै उनको प्रस्तावको विपक्षमा उभिएर प्रचण्डप्रति पक्षधरता पनि दर्शाउने कार्य सुरु भएको छ। मंगलबारको बैठकमा बोल्दै महासचिव देव गुरुङले शर्माको प्रस्ताव विरुद्ध आफूलाई उभ्याएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि माओवादीको विरुद्धमा भएकाले यतिबेला प्रचण्डविरुद्ध अन्तरसंघर्ष चलाउन नहुने गुरुङले मत राखेका थिए।

उनले अध्यक्ष प्रचण्डको अझै विकल्प नरहेकाले नेतृत्वकै वरपर गोलबन्द हुनुपर्ने धारणा स्पष्ट ढंगले राखेको ती पदाधिकारीले बताए।

बैठकमै शर्मााको विपक्षमा उत्रने क्रम सुरू भइसकेको छ भने बाहिर पनि पार्टीका नेताहरुले शर्माविरुद्ध गतिविध सुरु गर्दै अफबाह फैलाउन थालेका छन्।

प्रचण्डका भाइ नाता पर्ने नारायण दाहालले प्रचण्डको पक्षमा माहौल सिर्जना गर्न जनार्दनलाई लाञ्छना लगाउन निर्देशन दिँदै आफ्नो सचिवालय नै परिचालन गरेको स्रोतले जनाएको छ।

अहिले राष्ट्रियसभाका अध्यक्ष भएका दाहालले दलीय हैसियत परित्याग गरिसकेका छन्। संवैधानिक पदमा आसिन व्यक्ति दलीय कार्यकर्ता कायम रहन नपाउने संवैधानिक प्रावधान अनुरुप उनले पार्टीको सबै जिम्मेवारी परित्याग गरिसकेका हुन्।

उनी पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । तथापि उनले आफ्नै दाइ नाता पर्ने प्रचण्डको पक्षमा माहोल सिर्जना गर्न दलीय कार्यकर्ताको हैसियतमा उत्रिएर भूमिका निर्वाह गर्न लागेको एक नेताले बताए।

‘प्रभाकरले पार्टी अध्यक्षका विरुद्ध ल्याएको दस्तावेज आफैंले ल्याएको भन्ने ठान्नुभएको छ ? यो त अध्यक्ष र माओवादी आन्दोलनलाई सिध्याउने ग्राण्ड डिजाइनमा आएको छ’ दाहालसँग भेटेर आएका ती नेताले उनको भनाइ उद्धृत गर्दै भने, ‘फेसबुक लगायत सबैतिरबाट प्रभाकरको भण्डाफोर गर्नुपर्‍यो, पुगेको छैन, यिनलाई निस्तानाबुद गर्नुपर्छ अब ।’

माओवादी निकटका पत्रकार, मजदुर र बागमती प्रदेशका नेताहरुलाई बोलाएर, सचिवालयका सदस्यलाई परिचालन गरेर ‘हेडक्वार्टरको रक्षा र प्रभाकरको झुसिलो डकारको भण्डाफोर’ भन्दै नारायण दाहाल र उनको सचिवालले विशेष अभियान चलाएको स्रोतले जनाएको छ। राष्टिय सभा अध्यक्ष दाहालले आफ्नो सचिवालयमा रहेका विष्णु सापकोटा जुगललाई परिचालन गरेर शर्माविरोधी अभियान चलाएका  हुन्।

प्रेस सेन्टरका अध्यक्ष समेत रहेका सापकोटा राष्ट्रिय सभा अध्यक्ष दाहालका स्वकिय सचिवमा नियुक्त भएका छन्। सरकारी तलब भत्ता बुझ्नेगरी स्वकिय सचिव नियुक्त भएपछि प्रेस सेन्टरका गतिवधि निष्कृय गराएको आरोप उनीमाथि माओवादी निकट पत्रकारहरुबाटै लाग्दै आएको छ।

अहिले फेरि उनै सापकोटाले मिडिया र सामाजिक सञ्जालमा आफ्नै पार्टीका उपमहासचिव शर्माविरुद्ध अभियान चलाएको माओवादी स्रोत बताउँछ। यस विषयमा राष्ट्रियसभा अध्यक्ष दाहालका स्वकीय सचिव सापकोटासँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *