प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार नियुक्त गर्नु संविधानविपरित भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएका रिटमाथि आज संवेधानिक इजलासमा पेशी तोकिएको छ ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सदस्य छन् । यी रिटमाथि पहिले न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो ।
न्यायाधीश ढकालको इजलासले सबै रिटलाई संवेधानिक इजलासमा पठाएको हो । प्रधानमन्त्री ओलीको नियुक्तिमा गलत धारा प्रयोग भएको दाबीसहित सर्वोच्चमा ३ रिट दायर भएका थिए । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले असार ३१ गते सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए ।
रिटमा उपधारा २ अनुसार नियुक्त अघिल्ला प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेर पदमुक्त भएको हुँदा अब उपधारा ३ आकर्षित हुने दाबी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति बदर गर्दै उपधारा ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरिएको छ ।
Facebook Comment