आफ्ना विरोधीप्रति कठोर प्रचण्ड, ‘निस्तानाबुद’ गर्ने पुरानै प्रवृत्ति, जनार्दनको भविष्य के होला?
काठमाडौं। नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नो पार्टीलार्ई विपरीतहरुको एकत्वकाे रुपमा सैद्धान्तिक व्याख्या गर्ने गर्छन्। तर व्यवहारमा भने फरक मत राख्नेहरुविरुद्ध निकै कठोर रुपमा प्रस्तुत हुँदै आएको दृष्टान्त छ।
अधिकांश कम्युनिष्ट घटकहरुमा नेतृत्वको केन्द्रीकरण पनि गरिएको छ । सम्पूर्ण प्राधिकार मूल नेतृत्वमा निहीत गर्ने प्रचलन विगतदेखि नै कतिपय कम्युनिष्ट पार्टीले अपनाउँदै आएका छन् ।
एक पदीय प्रणाली अनुरुपको एकल नेतृत्वमा लामो समयसम्म सञ्चालित भएका कम्युनिष्ट पार्टीहरु पछिल्लो समय रुपान्तरित हुँदै बहुपदीय प्रणाली अबलम्बन गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन समेत गर्न थालेका छन्।
नेपालको कम्युनिष्ट आन्दोलनमा त्यसको पछिल्लो अभ्यास एमालेले जनताको बहुदलीय जनबाद(जबज) नामक राजनीतिक कार्यक्रम अंगीकार गरेरै पार्टी जीवनमा प्रतिस्पर्धा मार्फत श्रेष्ठताको नीति लागू गर्दै आइरहेको छ।
यद्यपि अहिले एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीले एकाधिकार कायमै राखेका छन्। पार्टीमा अलग धार र नेतृत्वको विरुद्धमा उभिएका नेताहरुलाई उनले उपेक्षा गर्दै आएका छन्।
दशौं महाधिवेशनमा एमाले अध्यक्ष ओलीको सर्वसम्मत बन्ने मोहमा तगारो बनेर उम्मेदवारी दिएपछि भीम रावल किनाराकृत भएका छन्। अहिले उनी पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन्।
अर्को वाम दल माओवादीमा पनि शान्तिप्रक्रियाको सुरुवात पछि पार्टीलाई बहुपदीय प्रणालीमा लगिए पनि पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकाधिकार आजपर्यन्त कायमै छ।
दशवर्षे जनयुद्धमा कायम गरिएको केन्द्रीकरण अहिले पनि पुष्पकमल दाहाल प्रचण्डमा नीहित छ। युद्धकालमा सर्वोच्च कमाण्डरको हैसियतमा रहेका उनी अहिले आफ्ना युद्धकालीन मु्ख्य साझेदार बाहिरिएर कमजोर भए पनि पार्टीमा थप शक्तिशाली हुँदै आफ्नो एकाधिकार यथावत राखेका छन्।
तथापि पछिल्लो उपमहासचिव जनार्दन शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावले भने पार्टीमा प्रचण्डलाई चुनौती दिएको छ।
अन्य नेपाली कम्युनिष्ट घटकहरुमा पनि सोही रोग कायमै रहेर ससाना कोटरीको नेता बन्ने प्रवृत्ति विद्यमान छ। सैद्धान्तिक विमति राखेर विभाजित हुने तर व्यावहारिक रुपमा पुष्टि गर्न नसकेरै सानो दलकै नेतृत्वमा रमाउने मोह नेपाली कम्युनिष्ट पार्टीका नेताहरुमा देखिएको छ।
मोहन विक्रम सिंहको नेकपा(मसाल),सिपी मैनालीको नेकपा(माले), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका ससाना वाम घटकहरु मेरो गोरुको बाह्रै टक्का भन्दै एकल नेतृत्वमा रमाएका छन्।
सँगै हु्ँदा देवत्वकरण गर्ने र विभाजित हुँदा दानवीकरण गर्ने नेपाली कम्युनिष्टहरुको पुरानै रोग हो। सामान्य विषयमा मतभेद हुँदा पनि त्यसलाई सैद्धान्तिक आवरण दिएर विभाजित हुने क्रम अहिलेसम्म पनि जारी छ।
अहिले नेपालको कम्युनिष्ट पार्टी मध्येकै एक प्रमुख घटक नेकपा(माओवादी केन्द्र)मा नेतृत्वको विषयमा उपमहासचिव जनार्दन शर्माले फरक मत राखेपछि अन्तरसंघर्ष चरमचुलीमा पुगेको छ।
अधिकांश नेता कार्यकर्ताहरु जनार्दनले नेतृत्वमाथि प्रश्न उठाएपछि माओवादीको सम्भावित भविष्यका बारेमा पनि अनेकौं अड्कलबाजी सुरु गरेका छन्।
नेपालका समकालीन पार्टी भन्दा भिन्न पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा उदय भएको माओवादीमा अध्यक्ष प्रचण्डसँग एउटै पार्टीमा रहेर उनीविरुद्ध कदम चालेका नेताहरु उनीसँगै नरहेको इतिहास छ।
जनार्दनको हविगत पनि विगतका अन्य नेताहरुको जस्तै हुने हो कि भन्ने आशंका पनि माओवादीको आन्तरिक राजनीतिमा रुची राख्नेहरुबीच उत्पन्न भएको छ।
नेतृत्वका लागि अन्तरपार्टी लोकतन्त्रको अभ्यास गरिनुपर्ने उपमहासचिव शर्माको मत छ । उनले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा सहित १३ पृष्ठको ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षको लिखित लिखित प्रस्ताव नै पेश गरेका छन्।
यसलाई माओवादीमा नेतृत्वमाथि बमवार्डका रुपमा पनि कतिपयले औंल्याएका छन्। पार्टीमा एकल बर्चस्व कायम गरेका प्रचण्डमाथि जनार्दनको नेतृत्वकै विकल्प खोज्नुपर्ने प्रस्तावले माओवादीभित्रको अन्तरसंघर्षले कस्तो रुप ल्याउला? अब यसको कसरी व्यवस्थापन होला? यी यावत प्रश्न उब्जिएको छ।
यसले थप तिक्तता बढाएर आगामी दिनमा पार्टी विभाजनको स्थिति निम्तिने आशंकासमेत गरिएको छ। माओवादीमा विगतदेखिको घटनाक्रम र प्रचण्डको प्रवृत्तिले हरेक याममा अन्तरसंघर्ष गर्नेहरु विभाजित हुन बाध्य भएका छन्।
आफूलाई चुनौती दिने सम्भावित पात्रहरुलाई लखेटेका प्रचण्ड
माथि उल्लेख गरिएजस्तै विपरितहरुको एकत्वका रुपमा फरक मतलाई सम्मान गर्दै त्यसको स्वामित्व लिएर नेतृत्वले पार्टी सञ्चालन गर्नुपर्नेमा नेपालका अधिकांश कम्युनिष्ट पार्टीमा निषेध गर्ने प्रवृत्ति देखिन्छ।
झनै माओवादीमा हालसम्मै प्रचण्ड विरुद्ध फरक मत राख्ने नेताहरुलाई उनले निस्तानाबुद गर्दै आएका छन्। पछिल्लो जनार्दनको यस कार्यलाई पनि प्रचण्डले सोही रणनीति अपनाउने र त्यो तय गरिसकेको स्रोतहरु बताउँछन्।
तत्कालीन मशालको नेतृत्वमा रहँदा पनि प्रचण्डले वरिष्ठ नेता बाचस्पती देवकोटालाई पार्टीमा स्थान नदिएरै अपमानजनक ढंगले बाहिरिन बाध्य पारेको जानकार नेताहरु बताउँछन्। उनी त्यस पछि एमालेमा जान बाध्य भएका थिए।
जनयुद्धकालमा प्रचण्डलाई माओवादीमा विचारक भन्दा चतुर नेतृत्वका रुपमा चित्रित गरिन्थ्यो। यद्यपि त्यो प्रवृत्ति अहिले पनि उनमा विद्यमान छ।
पार्टीमा फरक समूहका रुपमा रहेका मोहन वैद्य र बाबुराम भट्टराईका कार्यदिशा अनुरुप उनले आफूलाई हिँडाएका थिए।
जयुद्धकालमा वैद्यको विचार अनु्रुप हिँडेका प्रचण्ड शान्तिपूर्ण राजनीतिक अवतरण भने बाबुरामको मार्गदर्शन अनुरुप गरेका हुन्। यी दुबैे माओवादीमा फरक विचार समूहको नेतृत्व गर्दै आएका नेताहरु थिए। तर अहिले यी दुबै विचारकहरु माओवादीमा प्रचण्डसँग छैनन् ।
प्रचण्डलाई नजिकदेखि चिनेकाहरुले आफ्ना विरोधीलाई पार्टीमा देख्नै नसक्ने उनको पुरानै प्रवृत्ति हालसम्मै व्याप्त रहेको बताउँछन्।
उनको यही स्वभावले पनि जनयुद्धकालमा केही नेताहरुले जीवन समेत गुमाउनु परेको बताइन्छ। माओवादीमा आलोक उपनामले परिचित काभ्रेका यानप्रसाद गौतममा अत्यधिक क्षमता रहेकाले प्रचण्डले उनलाई आफ्नो प्रतिस्पर्धी ठानेर अनेकौं लाञ्छना लगाएर कारबाही गरेको बताइन्छ ।
पार्टीको आन्तरिक कारबाहीमै रहेको बेलामा उनको तत्कालीन शाही सेनाको सैन्य आक्रमणमा परेर रोल्पामा निधन भएको माओवादी नेताहरु बताउँछन्। उनको मृत्युलाई कतिपयले रहस्यमय परिघटनाका रुपमा समेत औंल्याउँछन्।
उनको निधन पछि प्रचण्ड नेतृत्वको माओवादीले सहिदको रुपमा समेत स्वीकार गरेको छैन। माओवादीबाटै विभाजित मोहन वैद्य नेतृत्वको दलले भने आलोकलाई सहिदका रुपमा स्वीकार गरेको छ।
जनयुद्धकै समयमा प्रचण्डले आफ्नो पक्षधर रहेका नेताहरुलाई पनि समयक्रममै अनकौं लाञ्छना लगाएर पार्टी छाड्न बाध्य पारेका नेताहरु बग्रेल्ती छन्।
माओवादीकै उच्च तहका नेता रहेका रवीन्द्र श्रेष्ठलाई य्ुद्धरत माओवादीभित्र प्रचण्डको उत्तराधिकारीका रुपमा पनि चित्रण गरिन्थ्यो। तरसमयक्रममा उनलाई पनि प्रचण्डले नै पार्टी छाड्न बाध्य गराएका थिए।
माओवादी शान्ति प्रक्रियामा आउनु अगावै पार्टी छाडेका श्रेष्ठ केही समय पछि एमालेमा प्रवेश गरेका थिए। एमाले प्रवेश गरेर मन्त्रीसमेत भएका उनी अहिले भने राजनीतिक रुपमा गुमनाम छन्।
अर्का प्रचण्डको कोपभाजनमा परेर माओवादी छाडन् बाध्य भएका नेता हु्न्, मणि थापा। उनी माओवादीको सास्कृतिक फाँटमा रहेर काम गर्दै आएका थिए। उनलाई अर्का नेता बाबुराम भट्टराई प्रति पक्षधरता देखाएकाले प्रचण्डको उपेक्षा र पेलान सहन नसकेर बाहिरिएका थिए।
माओवादी छाडेको लामो समय पछि पुनःप्रचण्ड नेतृत्वको दलमा जोडिएका थिए। त्यसको केही समय पछि नै प्रचण्डले एमालेसँग एकता गरे पछि नेकपामा पुगेका उनी सर्वोच्च अदालतले दुबै पार्टीलाई पूर्ववत अवस्थामा पुर्याइदिए पछि एमालेमै रहेका थिए।
नेकपा विभाजन पछि एमालेमा रहेका उनलाई केही दिन अघि एमालेले सबै जिम्मेवारीबाट पदमुक्त गरेको छ । यद्यपि थापाले भने आफूले नै ६ महिना पहिले राजीनामा दिएको बताएका छन्।
अहिले उनी राजनीतिक रुपमा दलविहीनताको अवस्थामा पुगेका छन् । माओवादी घटकमै समाहित हुने हेतुले छलफल थालेका उनी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने चर्चा चलेको छ।
शान्ति प्रक्रिया यता पनि प्रचण्डसँगै रहेर राजनीतिक रुपमा फरक मत राख्ने अधिकांश नेताहरु पार्टीबाट बाहिरिएका छन्। युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको चुनवाङ बैठकका सूत्रधार बाबुरामदेखि मोहन बैद्य हुँदै पछिल्लो समय रामबहादुर थापासमेत उनीबाट अलग भइसकेका छन्।
पार्टीमा आफ्नो प्रतिस्पर्धीलाई विभाजित गराएर कमजोर बनाउँदै पुनः पार्टीमा भित्रिन बाध्य पार्ने प्रचण्डले शान्ति प्रक्रिया पछि यही अर्को नयाँ रणनीति तय गरेका छन्।
अहिले यीमध्ये विप्लवसहित बाबुरामको दलबाट विभाजित केही नेताहरु पुनः प्रचण्डको दलमा समाहित हुने ध्याउन्नमा रहे पनि आफ्नै पार्टीको आन्तरिक किचलोले भित्र्याउन सकेका छैनन्।
Facebook Comment