षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास -भाग ६
राणाशासनको पतनदेखि प्रथम आम निर्वाचनसम्म
राजा त्रिभुवन सपरिवार भारत पुगेपछि उनी, तत्कालीन भारतीय राजदूत सीपीएन सिन्हा र मोहनशमशेरका प्रतिनिधिहरू केशरशमशेर, बिजयशमशेर र नरेन्द्रमणी आचार्य दीक्षित बीच अब लिने बाटो बारे छलफल शुरु भयो। सशस्त्र क्रान्ति गरेर राणाशासनलाई हल्लाउने जनताको शक्तिलाई भने शुरुमा बोलाइएन।
राजाको दिल्ली प्रवासको बेलामा कारागारबाट मुक्त भएका टंकप्रसाद आचार्य पनि खड्गमान सिंह आदिसँग दिल्ली पुगेका थिए। तर उनी जस्ता त्यागी र समाजवादमा विश्वास गर्ने हक्की नेतालाई नयाँ मन्त्रिपरिषद्मा राख्न कुनै पक्षले पनि चाहेनन्। यो एक विडम्बना हुन गयो।
सन् १९५० मा शान्ति तथा मैत्री सन्धि गरेर तथा सन् १९४८ मा केही भूभागको निम्ति भारत-पाक बीच भएको द्वन्द्वमा सेना पठाएर सहयोग गरेको गुन बिर्सेर राणाहरूलाई निमिट्यान्न भएको हेर्न भारत चाहँदैनथ्यो।
सत्तारुढ भारतीय राष्ट्रिय कांग्रेससँग भन्दा त्यहाँका समाजवादी दल र नेतासँग निकट रहेका वीपी र उनका सहकर्मीहरूलाई एकलौटी नेतृत्वको सरकार बनाउन दिने कुरामा पनि तत्कालीन भारतीय सरकारको त्यति सहमति थिएन।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनादेखि नै पार्टीभित्र डिल्लीरमण गुट बन्न शुरु भइसकेको थियो। उता प्रजातान्त्रिक कांग्रेसका सुवर्णशमशेर तथा महावीरशमशेर जस्ता मुख्य नेताहरू पनि भित्र भित्र आफ्नो मूल उद्देश्य नै आफूहरूलाई रोलक्रम मिचेर भारतमा निर्वासनमा बस्न वाध्य पार्ने रोलवाला राणाहरूलाई गिराएर सबक सिकाउने रहेको प्रष्ट हुन्थ्यो।
यस्तो कुराको भन्को पाएकोले नै दुई वटा कांग्रेस मिलेर एक हुँदा पुष्पलाल, मनमोहन लगायत धेरै युवा नेताहरूले कांग्रेस पार्टी परित्याग गरेर पहिला डिल्लीरमणको साथ लागेका र केही समय पछि नेपालकै पहिलो कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।
कुनै पनि निरंकुश राजनीतिक व्यवस्थाले आफ्ना शत्रुहरूलाई विभाजित बनाएर राख्न हर तरहको कुटिल नीति अवलम्बन गर्दछन्। राणाशासनकै समयमा पनि वीरशमशेर र चन्द्रशमशेर जस्ता शासकले पनि गूप्तचरहरूको मद्दतले आफ्नो खेदो खन्ने निकट परिवारका सदस्य तथा भारदारलाई फुटाउने र तिनीहरू कमजोर भएपछि नामो निशान मेटाइदिने गर्दथे।
भारतमा स्वतन्त्रता संग्रामको बेला भारतीय नेताहरू एक जुट भएर आन्दोलनमा लागेपछि अंग्रेजहरूले त्यहाँका नेताहरूलाई विभाजित तुल्याउन धर्म रूपी हतियारको प्रयोग गरे। फलस्वरुप उनीहरूले छोडेर जाने बेलामा भारतीय उपमहाद्विपको विभाजन भएर दुई शक्तिशाली तथा आजसम्म पनि जानी दुश्मन भएका मुलुकहरूको जन्म भयो।
राजा र राणा दुवै एक अर्काका निकट नातेदार थिए भने प्रजातन्त्रमा दृढ विश्वास राख्ने विद्वत सुवर्णशमशेरहरूको पनि राजा र राणाशासकसँग निकटको पारिवारिक सम्बन्ध थियो। त्यसैले दिल्लीमा सहमतिमा पुग्ने बेलामा भित्र भित्र यी सब गुटहरू एक भएर बसेका थिए।
उता वीपी कै पार्टीभित्र पनि वीपी र गणेशमान जस्ता नेताहरू संघर्षलाई रोकेर सम्झौतामा गइ हाल्न नहुने पक्षमा थिए भने वीपीका दाइ मातृकादेखि अधिकांश नेताहरू राजा र राणासँग सत्ता साझेदारीमा नै जानु पर्ने कुरामा दृढ थिए। राणाशासनको विरोधमा सशस्त्र युद्ध गरेका वीपीहरू आखिर राणाहरूसँगै सत्ता साझेदारी गर्ने कुरालाई मान्न वाध्य भए।
वीपी कै भनाइ अनुसार ‘दिल्ली सम्झौता’ लिखित रूपमा कहिल्यै नभएको भए पनि त्यो मौखिक सहमतिको निकै प्रचार गरियो। ५ बुँदे दिल्ली सम्झौता पछि पनि टंकप्रसाद आचार्यको नेपाल प्रजापरिषद्, पुष्पलाल श्रेष्ठको नेपाल कम्युनिष्ट पार्टी, पश्चिमका डा. के.आइ. सिंह र किसान नेता भीमदत्त पन्त आदिको विरोध जारी नै थियो। पश्चिममा त सशस्त्र क्रान्ति चलि नै रहेको थियो। यसै क्रममा किसान नेता भीमदत्त पन्त विदा्रेहको दौरान मारिए।
जनता माझ निकै लोकप्रिय बन्न सफल भएका सरल र हँसिला राजा त्रिभुवनले आफ्नो पहिलो भाषणमा जनताद्वारा निर्वाचित सम्विधान सभामार्फत सम्विधान बन्ने कुराको घोषणा गरे। उनले डेमोक्रेसीलाई नेपालीमा उल्था गर्दा भूलवश प्रजातन्त्र (लोकतन्त्र) भन्नु पर्नेमा गणतन्त्र भनेका थिए। राणा र कांग्रेसको सरकारमा छिटै फाटो आउन थाल्यो। दुवै पक्षले एक अर्कालाई बदनाम गर्ने कोशिश गर्न थाले।
मोहनशमशेरको प्रधानमन्त्रीत्वको सरकारलाई अपठ्यारोमा नपारुन् भनेर नाटकीय तवरले भरतशमशेरको नेतृत्वमा भित्र भित्र उनी आफैंले खुकुरी दल खडा गराए। यसको प्रचलित नाम गोरखा दल थियो र पछि नेपाल राष्ट्रवादी गोरखा परिषद् रहन गयो र यसले २०१५ सालको आमनिर्वाचनमा पनि भाग लियो।
भरतशमशेरको ज्यादती बढ्न थालेपछि उनलाई प्रशासनले गिरफ्तार गरेर केन्द्रीय कारागारमा पुर्याउने वित्तिकै गोरखा दलका सयौँ लडाकुले छुटाएर बाहिर ल्याएका थिए। त्यति नै बेला गृहमन्त्री वीपीको हत्या प्रयासमा पनि यो दलका कार्यकर्ता उनको निवास त्रिपुरेश्वर घेर्न पुगेका थिए।
तर वीपीले आफैं गोली चलाएर तिनलाई भगाउन र आफू तथा आफ्नी आमा र गणेशमान तथा किशुनजीलाई बचाएका थिए। यो षड्यन्त्र मोहनशमशेर कै भएको थाहा भएपछि उनलाई राजीनामा गर्न लगाउँदा भारतीयहरूले समेत तत्काल त्यसो नगर्न वीपीलाई आग्रह गरेका थिए।
उनी आफ्नो निजी लक्ष्मीनिवासमा नसरुञ्जेलसम्म सिंहदरबारमा बस्न पाउने बन्दोबस्तीमा समहति भए पनि उनको बिजुली गारत र फौजलाई नारायणहिटी राजदरवारमा सारियो। त्यही बेला बबर शमशेरलाई पनि सेनाको प्रमुखबाट हटाएर अर्का राणा किरणशमशेरलाई ल्याइयो, जो पछि राजा महेन्द्रका निकै निकट भएका थिए।
गृहमन्त्री वीपीको सुरक्षा व्यवस्था राम्रो भएन भनेर दयालु राजा त्रिभुवनले त्यतिबेला उनलाई आफ्नै राजदरवारमा बस्ने बन्दोवस्त गरिदिए र उनी आफ्नी माता सहित त्यहाँ करिव ३ महिनासम्म बसे।
विश्वेश्वरप्रसाद कोइरालालाई असफल गृहमन्त्री सावित गर्न मोहनशमशेरको षड्यन्त्र मुताविक वामपन्थी विद्यार्थी हडतालमा भाग लिएर काठमाडौंको भूगोल पार्कमा आमसभामा आएका कलिला विद्यार्थी नेता चिनियाकाजीको प्रहरीको गोली लागि मृत्यु भयो।
यो घटनाका कारण शुरुमा प्रधानमन्त्रीको विरोध गरेर वक्तव्य निकालेका विश्वेश्वर लगायत सो सरकारका सबै मन्त्रीहरूले राजीनामा दिए। दिल्ली सम्झौता मुताविक कुनै एक पक्षले राजीनामा गरेमा पुरै सरकार ढल्ने प्रावधानले गर्दा मोहनशमशेरको सरकार ढल्यो।
मोहनशमशेरको धन सम्पत्ति राणाशासन ढल्ने बेलाका राख्न दिएका आफ्नै भनाउँदा धेरै मानिसहरूले पचाइ दिए। धन र शक्ति भनेको आज कसको र भोलि कसको हुने रहेछ। हाम्रै आँखा अगाडि धन र शक्ति तासको घर ढलेझैं पाताल बनेको र बिलिन भएको हामीले देखेकै हो।
त्यसैले असल काम गरे वापतको नाम मात्र ५०-६० वर्षदेखि १००-२०० वर्षसम्म मानिसको सम्झनामा रहिरहने रहेछ। तर अति क्रुर व्यक्तिहरूका कुकृत्य र नाम पनि मानिसले लामो समयसम्म सम्झिरहन्छन्।
मोहनशमशेरको राजीनामा पश्चात् प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाले नेपाल कम्युनिष्ट पार्टीलाई अवैध घोषणा गरेर प्रतिवन्ध लगाए। वीपी पक्षका कसैलाई पनि मन्त्रिपरिषद्मा सामेल गराएनन्।
यस्ता कुराले गर्दा मातृका र वीपी दाजुभाइभित्रको फुट झनै छचल्किन थाल्यो। ज्यादै दवाब र विरोधका कारण मातृका प्रधानमन्त्री भएको एक वर्ष पुग्दा नपुग्दै उनले आफ्नो पदबाट राजीनामा दिए।
नेपालमा प्रजातन्त्र आउन भारतको ठूलो देन रहेकोले र त्यसपछिका दिनमा नेपालको विकासमा सघाउन र नेपालको प्रशासनिक संरचना तयार गर्न उसको सहयोग बढ्दै गएकोले भारतको वर्चश्व निकै बढ्न थाल्यो।
राजालाई सहयोग र सल्लाह दिने नाममा भारतले गोविन्दनारायणलाई राजाको सचिवको रूपमा पठायो भने आर्थिक मामिला हेर्ने विशेषज्ञ पनि केही समय नेपालमा आएका थिए। गोविन्दनारायण मन्त्रिपरिषद्को वैठकमा पनि बस्थे रे र नारायणहिटी राजदरवारभित्रै उनको बस्ने ठाउँको वन्दोवस्ती थियो।
मातृकाको राजीनामा पश्चात् राजा त्रिभुवनले आफ्नै अध्यक्षतामा कुनै पनि दलमा नरहेका ६ जनालाई राखेर परामर्श दातृ सरकार बनाए। यसमा केशरशमशेर, महावीरशमशेर, शारदाशमशेर, खड्गमान सिंह, सुरेन्द्रबहादुर बस्नेत र माणिकलाल राजभण्डारी थिए।
प्रमुख राजनैतिक दलहरूको आफ्नै दलभित्र हुने गरेको खिचातानीको फल थियो यो। यस्ता घटनाले गर्दा सम्विधान सभाको चुनाव गरेर राजाको भूमिका किटान गर्ने मुद्दा पनि बिस्तारै ओझेलमा पर्दै गएको थियो।
२०१० सालमा मातृकाप्रसाद कोइरालाले नयाँ दल राष्ट्रिय प्रजापार्टीको स्थापना गरे र पुनः प्रधानमन्त्री बन्न सफल भए। यसै समयमा वीपी, टङ्कप्रसाद, डिल्लीरमण आदि मिलेर नेपाल प्रजातन्त्र लिग नामको मोर्चा बनाएर सरकारलाई दवाव दिन खोजे।
राजा त्रिभुवन मुटुको व्यथा बढेकोले बम्बई र स्विट्जल्याण्डमा उपचारको निम्ति जानु पर्यो र केही समय पछि उनी केही ठीक भएर स्वदेश फर्किए। मुलुकको बिग्रँदो राजनीतिक अवस्थाले गर्दा राजा त्रिभुवनले मातृकाको सरकारमा टंकप्रसाद आचार्य, भद्रकाली मिश्र र डिल्लीरमण रेग्मीलाई पनि विशेष आग्रह गरेर सामेल गराए। तर वीपी भने बाहिरै बस्न वाध्य भए र प्रजातान्त्रिक लिग पनि त्यसै बिलायो।
२०११ साल वैशाख १ गते राजा त्रिभुवनले सल्लाहकार सभाको गठन गरेर ११३ जना व्यक्तिहरू मनोनित गरे। यो परिपाटी नै नेपालमा राजतन्त्र रहेसम्म राजसभाको रूपमा रहिरह्यो। यो सल्लाहकार सभामा आफ्ना नजिकका मानिस बाहेक राजाले सबै दलको प्रतिनिधित्व गराएका थिए, तर वीपीको नेपाली कांग्रेसको प्रतिनिधित्व भने निकै कम थियो।
सोही सालको असोजमा राजाको स्वास्थ्य फेरी बिग्रन थालेकोले उनलाई स्विट्जल्र्याण्ड लगियो। जानु अघि उनले सबै दलका नेताहरूलाई मिलेर काम गर्न आग्रह गरेका थिए। राजा स्वास्थ्योपचारको निम्ति विदेश गएको केही समय पछि नै मातृकाले मन्त्रिपरिषद्बाट भद्रकाली मिश्र र टंकप्रसाद आचार्यलाई हटाए र झनै अनिश्चितताको बादल मँडारिन थाल्यो।
अन्तिम बेलातिर पितालाई भेट्न गएका युवराज महेन्द्रलाई राजा त्रिभुवनले लिखित रूपमा राज्यसत्ता हस्तान्तरण गरिदिए। आफ्नो हातमा राज्यको सत्ता पाएपछि महेन्द्रले युवराज छँदै अति शक्तिशाली शासकको हैसियतमा शासन गर्न थालिसकेका थिए।
युवराज महेन्द्र स्वदेश फर्केको केही समयमा नै मातृकाको सरकार भङ्ग गरे। महेन्द्रको स्वभाव बाबुको भन्दा ठीक विपरित थियो। महेन्द्रको मनमा के छ कसैलाई थाहा हुँदैनथ्यो। उनि ज्यादै कम बोल्ने र हाँस्ने गर्दथे।
एक प्रकारले त्यतिबेलाका नेताहरू राजासँग भन्दा पनि युवराजसँग सशंकित हुने गर्दथे। राजा त्रिभुवनको राजगद्दी समेत छोड्न तयार हुने त्यागी स्वभाव, सबैसँग राम्रो र मृदुभाषी व्यवहार, निर्विवादी र दयालुपना तथा सबै नेताहरूका समस्या सुन्ने बानी र साझा अभिभावक सरीको चरम लोकप्रियताले गर्दा नै उनलाई ‘राष्ट्रपिता’को संज्ञा दिइएको थियो।
राजा त्रिभुवनको २०११ फागुन ३० गते निधन भएपछि युवराज महेन्द्र राजा भए। प्रजातन्त्रको स्थापना भएदेखि नै मुलुकमा विभिन्न खालको खिचातानी रहिरहेको र भारतको पनि हस्तक्षेप बढिरहेकोमा राजा महेन्द्र एक प्रकारले चिन्तित थिए भने यही कुरालाई बहाना बनाएर कुनै बेला मुलुकको पुरै राजकीय सत्ता आफूमा निहित गरेर सक्रिय राजा भइ शासन गर्ने पनि उनको चाहना रहेछ। तर चुपचाप सो समयको इन्तजारमा बसिरहेका थिए।
२०१२ साल वैशाख १ गते राजा महेन्द्रले आफ्नै अध्यक्षतामा आफ्ना सचिव गुञ्जमानसिंहलाई प्रमुख सल्लाहकार बनाएर आधा दर्जन आफ्ना मानिस राखेर एड्भाइजरी काउन्सिल मार्फत सरकार चलाउन थाले। राजा महेन्द्रको यो कार्यको सर्वत्र विरोध भएर प्रजातन्त्र मास्न लागेको आशंका गरिन थालियो। यस दौरान उनले विभिन्न दल र खेमाका नेताहरूसँग भेटेर परामर्श गरे।
उनले २०१२ श्रावण ४ गते त्यसको दुई वर्षपछि यानी २०१४ असोजमा आम निर्वाचन गर्ने घोषण गरे। निर्वाचनको घोषणा गर्नु उचित भए पनि विभिन्न दलका नेताहरूले दुई वर्ष पछिको मिति र राजाको अध्यक्षतामा बनेको सरकारले चुनाव गर्ने कुराको विरोध गरे।
सबै दलहरूको विरोध भइरहेको बेलामा महेन्द्रले २०१२ माघमा टंकप्रसाद आचार्यको नेतृत्वमा समयमा निर्वाचन सम्पन्न गर्ने शर्तमा नयाँ सरकार गठन गरे र आफू देशका विभिन्न ठाउँको भ्रमणमा निस्के।
उनले आफूले गर्न नसकेका र आफू अगाडि बढ्न नचाहेका कैयन् काम र विदेश नीति सम्बन्धी मुद्दाहरू आँटिला प्रधानमन्त्री टंकप्रसाद आचार्यको काँधमा राखिदिए। चीनसँगको असल सम्बन्ध, भारतसँगका विभिन्न समस्या सम्बन्धी वार्ताहरू आदि उनै मार्फत गराएर आफू तटस्थ जस्तो भएर बसे। टंकप्रसादले नै कम्युनिष्ट पार्टी माथि लागेको प्रतिवन्ध फुक्का गरि दिए र क्याविनेटमा भारतीय सल्लाहकार बस्ने परिपाटी पनि हटाए।
प्रधानमन्त्री भएको २ वर्षमा पनि चुनाव गराउन नसक्ने वातावरण नबनेकोले टंकप्रसाद आचार्यले आफ्नो पदबाट राजीनामा दिए अथवा अर्को शब्दमा आफूले गर्न नसक्ने कामहरू गराएर चतुर राजा महेन्द्रले उनलाई हट्ने निर्देशन दिए।
मुलुकमा विभिन्न दलसँग सम्वद्ध कैयन् लायक नेताहरू हुँदा हुँदै राजा महेन्द्रले २०१४ साउनमा डा. के.आई सिंह जस्ता बुझ्नै नसकिने असक्षम र विवादित व्यक्तिलाई प्रधानमन्त्री बनाए।
के.आई. सिंहको हैकम र नराम्रो व्यवहारले सबै क्षेत्रका मानिस उनिसँग डराउन थाले। यसै समयदेखि राजा महेन्द्रले मुलुकका विभिन्न महत्वपूर्ण पदहरूमा आफ्ना भाइ तथा राजपरिवारका सदस्य र नजिकका मानिसलाई नियुक्त गर्न थाले।
ठूला राजनैतिक दलका नेताहरूले मुलुकमा अर्को निरंकुश शासन शुरु हुन लागेको भयले सर्वदलीय मोर्चाको निर्माण गरेर सत्याग्रह समेत गरे। अनि बल्ल राजाले २०१४ कार्तिकमा के.आई. सिंहको सरकार विघटन गरे र विभिन्न दलहरूसँग छलफल गरेर सम्विधान सभाको नभइ संसदको निर्वाचन गर्ने कुरामा सहमत गराए।
त्यसको लगत्तै भगवतीप्रसाद सिंहको अध्यक्षतामा सम्विधान मस्यौदा समिति गठन गरे र बेलायतका सम्विधानविद् सर इभोर जेनिङ, जसले त्यतिबेला श्रीलंकाको सम्विधान बनाउन समेत मद्दत गरेका थिए, उनलाई पनि यो कार्यमा सामेल गराए। तर सम्विधानका दुइ वटा खाका बनाएर बुझाउँदा पनि राजाले चित्त नबुझाए पछि तेस्रो खाका पेश भयो।
त्यसमा केही सुधार गरेर भने २०१५ फागुन १ गते प्रजातान्त्रिक नेपालको पहिलो सम्बिधानको घोषणा भयो। आखिर २०१५ साल फागुन ७ गतेदेखि विभिन्न चरणमा आमचुनाव शुरु भयो। यो निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेर अद्वितिय विजय हासिल गर्यो।
२००७ सालदेखि २०१७ सालसम्म नेपालमा मोहनशमशेर, मातृकाप्रसाद कोइराला, राजाको अध्यक्षताको सरकार, पुुनः मातृकाप्रसाद, टंकप्रसाद आचार्य, के.आई. सिंह, राजाको अध्यक्षताको सरकार हुँदै पहिलो आम निर्वाचन सम्पन्न भयो। यस दौरान कुनै पनि सरकार दुई वर्ष भन्दा बढी टिक्न सकेन।
गोरखा परिषदका आतंक र के.आई. सिंहको सिंहदरवार कब्जा जस्ता विभिन्न घटनाले मुलुक बेला बेलामा त्रसित भइरहेको हुन्थ्यो। २०१६ साल जेठ १३ गते करिव ४५ वर्षको उमेरमा विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बन्न पुगे।
सन् १९०६ मा जन्मेका राजा त्रिभुवन र सन् १९२० मा जन्मेका उनका छोरा राजा महेन्द्रका उमेरमा १४ वर्षको मात्र फरक थियो भने सन् १९१४ मा जन्मेका वीपी त्रिभुवन भन्दा ८ वर्ष कान्छा र महेन्द्र भन्दा ६ वर्ष जेठा थिए। त्यसैले नेपालको आधुनिक इतिहासको एक निकै महत्वपूर्ण कालखण्डका यी तिनै जना नायकहरू उमेरको हिसाबले एउटै पिँढीका समकक्षी थिए।
राजा महेन्द्र युवराज छँदाखेरी देखि नै राणाशासनको अन्त र त्यसपछिको राजनीतिका प्रत्यक्षदर्शी मात्र नभइ सक्रिय खेलाडी नै थिए। विश्वेश्वरप्रसाद कोइराला एक अति अध्ययनशील तथा विद्वत नेता थिए। उनको जस्तो तिक्ष्ण बुद्धि, व्यक्तित्व तथा विद्वता भएका नेपाली त्यतिबेला कमै थिए।
उनी स्पष्टवक्ता, आँटिला तथा खरा स्वभावका थिए। नेपालमा राणाशासनको पतन हुँदा उनी ३६ वर्षका जवान तथा क्रान्तिकारी युवा थिए। त्यसैले उनमा जोश, जाँगर र अहंकार पनि बढी थियो। उनको स्पष्टवादिता र आँटिलोपनाले त्यतिबेलाका चाटुकार र व्यक्तिवादी नेताहरू उनलाई उग्र व्यक्तिको रूपमा लिन्थे। मुलुक राणाशासन मुक्त भएपनि विभिन्न खेमाको तिव्र विभाजन शुरु भएको थियो।
भारतका सबैजसा नेताहरूसँग स्वतन्त्रता संग्रामदेखि नै काम गरेका र उनिहरूको स्तरमा नै स्पष्ट कुरा गर्न सक्ने भएकाले विश्वेश्वरभन्दा २५ वर्ष जेठा तथा बेलायत र भारतमा समेत अति नै मान्यवर र विद्वत नेतामा कहलिएका जवाहरलाल नेहरुले वीपीलाई निकै माया माया गर्दथे र भारतमा छँदा नचाहिँदा उग्र कुरा गर्दा हप्काउने समेत गर्दथे।
अन्य समाजवादी भारतीय नेताहरूसँग त वीपीको अझै घनिष्टता थियो। समाजवादी आन्दोलनको विश्वस्तरको संस्था सोसियलिष्ट इन्टरनेशनलसँग पनि आवद्ध भएकाले उनि सो संस्थाका सम्मेलनहरूमा बरोबर भाग लिन गइरहन्थे।
यो सब कुराले गर्दा एकातिर नेपालका नेताहरू उनको इर्ष्या गर्दथे भने राजा महेन्द्रले आफू युवराज छँदादेखि नै वीपी मात्र आफ्नो सक्रिय शासक हुने महत्वाकांक्षामा तगारो हुन सक्ने कुरा बुझिसकेका थिए।
पछिसम्म पनि राजा महेन्द्र र वीपीको एकापसमा अविश्वास र विवाद रहि नै रह्यो। नेपालका त्यतिबेलाका यी दुई अद्वितिय व्यक्तित्वहरू एकापसमा मिलेर मुलुकको हितमा लागेका भए नेपाल आजको जस्तो अन्योलग्रस्त र कारुणीक अवस्थामा कदापि हुँदैन्थ्यो।
क्रमशः…
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment