कविता : सचेत हौं नारी
सचेत हौं अब हे नारी, देशमा विकास गर्नुछ
राखेर प्राणको बाजी, देशका निम्ति मर्नुछ
यस्तै हिम्मत बाँधेर, पौरख गर्नु पर्दछ
नारी वर्ग सचेत भए, दुष्टको शेखी झर्दछ
गई आमसभामा, यस्तो भाषण छाँट्दछन्
आँखामा छारो हालेर, विश्वलाई ती ढाँट्दछन्
भन्छन् नारीलाई, पढाउने, बढाउने
सारा नेपाली नारीलाई, विश्वमा नै चिनाउने
झुटो नारा दिई आफू, जीवनभर नै रमाउँछन्
नारी शोख लुटेर, खेलौना झैँ बनाउँछन्
यस्ता कुपुरुषको संगत, नगर्नु कहिल्यै पनि
जान्नु नारी सधैं यिनलाई, पोल्ने बिच्छी समान भनी
गर्नु सत्यपुरुषको संगत, जीवनभर मिल्छ आदर
आफ्नै आत्मा सरी ठानी, दुःखमा दिन्छन् सादर
बढ्नु पर्दछ हे नारी, शिक्षाको दीप बालेर
जुट्नुपर्छ विकासमा, देहको कालो फालेर
उठाउँ देश यो माथि, फुलाउँदै, फलाउँदै
बढौं नेपाली नारी हो, विश्व कीर्ति चलाउँदै
नारी हुन् देशका फूल, नचुँड कोपिला हुँदै
चुँडिए कोपिला ओइलिएर, जान्छ बास्ना विलाउँदै
नारीविना सधै तिम्रो, अन्धकार हुन्छ त्यो घर
घरको दीप हो नारी, त्यसैले गर आदर
कुष्ठित पुरुषले सारा, विश्व नै खल्बल्याउँछ
झुटो नारा दिई, अवला नारीलाई भुलाउँछ
त्यसैले अब हे नारी, सचेत भई बस्नु पर्दछ
तिमी हामी भए चङ्ख, मान मर्यादा बढ्दछ
हेर्छन् सत्पुरुषले, सबै नारीलाई सुदृष्टिले
देवीको अंश हो नारी, नहेर्नु है कुदृष्टिले
देशको शक्ति हुन नारी, नहेप्नु यदाकदा
देशका निम्ती यो ज्यानको, बलिदान दिने सदा
नौनी देह यो तिम्रो, कुनै दिन पार पत्थर
चल्दैन वासना देशमा, छरेर आज अत्तर
निलो आकाशमा तारा, झल्मलाउँछ जसो गरी
नेपाली नारीको नाम, चलाउँ है त्यसै गरी
दिदी बहिनी तिमी हामी, गरौं पौरख मिलिजुली
चलाउँ वासना देशमा, कमलका फूल झै फूली
गरौं आदर सदुभाव, मान्यजनहरुलाई
बोलौं प्रेमले मिठो बोली, कलिला ति शिशुलाई
अरुको मन दुखाएर, हुदैंन कहिल्यै भलो
जसले बोल्छ मिठो बोली, त्यसकै जीवन फूल्यो, फल्यो
रिसाहा दुष्ट बुद्धिले, हानी हुन्छ सधैभरी
शान्तिलाई खलल पारे, धोका मिल्छ जीवन भरी
त्यसैले सान्त्वना देउ, रिस कपट सबै त्यागी
जसले गर्छ विकास देशको, उसकै किर्ति बढ्यो अगि
बढाउँ के गरी आज, महिला हकहितलाई
खुलाउँ के गरी आँखा, अशिक्षित यी अनपढलाई
मुखले नारा दिदैंमा, महिला माथि उठ्दैनन्
नउम्री पानी सुकेका, खोलामा मूल फट्दैनन्
त्यसैले गर्छु यो बिन्ती, ठूलाबढाहरुलाई
देखाउ बाटो सुमार्गको, घुमेर गाउँमा आई
नत्र ता नारीको जीवन, बित्ने नै भो यसैगरी
खाएर धोका छिनछिनमा, झस्किन्छिन् ति स्वप्न सरी
नारी हुन देशका शक्ति, ज्यानको आहुती दिने
धन्य छ नारी हो तिमीलाई, देशका निम्ति शहिद हुने
देशका निम्ति नारी हो, धेरै विकास गर्नुछ
जन्मियौं देशकै खातिर, देशकै लागि मर्नुछ
त्यसैले महिलावर्ग, एक भई जुट्नु पर्दछ
हामी एक भए मात्र, विकासको मूल फुट्दछ
चल्दैन रथ गाडीको, दुई चक्काहरु नभई
हुँदैन देशको विकास, नारी पुरुष दुबै नभई
यसैले बुझ्नु पर्दछ, एकले अर्कोको मर्म
बुझेर गर्नु मर्यादा, यही नै हो ठूलो धर्म
महिला समुदाय हो, यती विन्ति म गर्दछु
जन्मिएँ यही माटोमा, यही माटोमा मर्दछु
गरें विन्ति यत्ति, विरही बनेर
क्षमा पाउँ भुलमा, अशिक्षित छु धेर
नगर्नु अपमान, कुनै नारीलाई
भलो हुन्न, आमाहरुलाई रुवाई ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
Facebook Comment