कथा : अनिता दिदी

प्रकाशचन्द्र खतिवडा
१ भदौ २०८१ ६:५६

क्लास थिएन। फुर्सर्दै थियो। साथीहरु क्यानटिन तिर थिए। मलाई पनि क्यानटिन जाउँ जस्तो लागेको थियो। तर क्यानटिन नगई कक्षा कोठा अगाडि  टहलिरहेको थिएँ।

“तपाईं प्रकाश होइन? ” भन्ने नारी स्वर मेरो कान नजिकै गुञ्जियो। मैले पुलक्क हेरेँ, चिने जस्तो लागेन। “हो त” मैले जवाफ फर्काएँ। “ तर तपाईं? ” वाक्य पूरा हुनै नपाई जवाफ आयो, “म अनिता, अनिता खड्गी, सपनाको दिदी, भम्री हो घर। म पनि यही कलेजमा पढ्छु।

सपनालाई त चिनेको होला नि?” “चिनेको छु, अस्ति   एस. एल. सी. दिने होइन त?” मैले जवाफ फर्काएँ। “कमलालाई पनि चिनेको होला नि?” अनिता दिदीको सोधाई थियो। “हो, कमलालाई पनि चिन्छु, सपना र कमला एकै ठाउँ थिए होइन त?” मैले उत्तर दिएँ।

“ए! त्यसो भए बैनीहरुको आग्रह छ, नयाँ वर्षमा गाउँमा मेला लाग्छ जानु रे।” अनिता दिदीले समाचार भन्नु भयो। त्यसको प्रत्यूत्तरमा “ठिकै छ, गाउँघर पनि देखिने, मेला हेर्न पनि पाइने, समय मिलाएर जाउँला न त, तपाईं पनि जाने होला नि, मैले बाटो देखेकै छैन, कहाँबाट कसरी जानु पर्छ?” भनेको थिएँ। “म पनि जाने नै हो त, सँगै जाउँला नि।”

अनिता दिदीको जवाफले मलाई गाउँको यात्रा र मेला रमाइलो होला भन्ने लाग्यो।

म कलेज अध्ययनको क्रममा भान्दाइको घरमा बसेर बलियाबाट बिराटनगर धाइरहेको थिएँ। सपना र कमला पनि एसएलसी परीक्षाका लागि त्यही आएका थिए। सपना र कमलासँग भाउजूद्वारा परिचय भएको थियो।

भोलि एसएलसी परीक्षाको पहिलो दिन थियो। बहिनीहरु निकै नै कठीन मानिने अंगे्रजी विषयको परीक्षा तयारी गरिरहेका थिए। बहिनीहरुको अनुरोधमा मैले पनि जानेसम्मका विषयवस्तुहरु सिकाइ दिएको थिएँ। अंग्रेजी पनि कुनै कठीन विषय त होइन नि, मेहेनत गर्दा त। सिकाइको आधारमा सपना र कमला दुइटै मेहेनती छन्।

सफल हुनुपर्ने हो। हेरौँ के हुन्छ? कुनै काम  सफल हुन भाग्यले साथ दिनु पर्छ भन्छन् बुढाबुढीहरु। परीक्षा र भाग्यको के सम्बन्ध होला र ? म भाग्यमा विस्वासै गर्दिन।
त्यसै बेला सपनाद्वारा थाहा पाएको थिएँ कि अनिता दिदी पनि त्यही कलेजमा अध्ययन गर्नु हुन्छ

। संयोग अनिता दिदी र मेरो सेक्सन एउटै रहेछ। त्यसपछि  मैले अनिता दिदीसँग परिचय गर्ने धेरै प्रयास गरेको थिएँ। त्यो सफल भैरहेको थिएन। अनुमान गरें।  म बोल्न सकिरहेको थिइनँ। म किंकर्तव्यबिमुढ  थिएँ।

म परिचय गर्न उत्सुक नै भए पनि त्यहाँ एक किसिमको जमात थियो जसले मलाई घृणा र उच्श्रृंखल को उपमा दिन सक्थ्यो। यस्तै सोचमा पर्दै भए पनि मैले अनिता दिदीको रोल नम्बर पत्ता लगाइसकेको थिएँ। अनिता दिदीलाई अप्रत्यक्ष रुपमा चिनिसकेको थिएँ।

म असमन्जमा परिरहेको थिएँ। कि कसरी अनिता दिदीसँग परिचय गर्ने होला? कसरी बोल्ने होला? मलाई एक किसिमको भयले सताइरहेको थियो। ठिक त्यही बेला तपाईं प्रकाश होइन भनेर अनिता दिदीले नै बाटो खोल्नु भयो। जे होस हाम्रो परिचय यसरी नै भएको थियो। बोली चालिमा अब सहजता थपिएको थियो।

एसएलसीको अन्तिम दिन। परीक्षा सकाएर सपना र कमला आइसकेका थिए। एउटा  काम फत्ते गरेकोमा उनीहरु खुसी नै देखिन्थे। त्यही खुसीयालीमा उनीहरु सिनेमा हेर्न जाने भए र मलाई पनि जान आग्रह गरे। मैले पनि उनीहरुको आग्रह नकार्न सकिनँ र सिनेमा हेर्न उनीहरुसँगै गएँ।

भोलि पल्ट सपना र कमलाको घर जाने दिन थियो। उनीहरु किताव, कापी र लुगा कपडा मिलाई रहेका थिए। मैले पनि वसस्टप सम्म मालसामान ओसारेर सहयोग गरेँ। बस चढ्नै लाग्दा उनीहरुले मलाई उनीहरुको घरमा आउनका लागि निमन्त्रणा दिए। मैले पनि सहजै “समय मिलाएर आउँला नि त।” भन्ने जवाफ दिएँ। बस गुड्यो। म पनि फर्के।

त्यसपछि सपना र कमलासँग धेरै दिन भेट भएन। म उनीहरुको घर जान सकिरहेको छैन।

त्यति फुर्सद मिलिरहेको छैन। कतै हिँड्दा क्लासहरु छुट्ने गर्छ। पछि आफैंलाई समस्या पर्छ। मेरो पनि त परीक्षा आइरहेको छ नि। मानिस स्वार्थी हुन्छ। उसले आफ्नो स्वार्थ मात्रै पूरा गर्छ। कतै म स्वार्थी त भइँन?

कलेजमा पनि अनिता दिदीसँग हप्तामा एक दुई पटक मात्र बोलिन्थ्यो। अनिता दिदीले मैले लेखेका साहित्यिक रचनाहरु हेर्ने र पढ्ने इच्छा व्यक्त गर्नु भयो। मैले पनि केही रचनाहरु उपलब्ध गराएँ। राम्रो नराम्रो के कस्तो भयो? अनिता दिदीको प्रतिक्रिया आउनै बाँकी रह्यो। अबको भेटमा सोध्नु पर्ला।

अनिता दिदीसँगको बोलीचालीलाई लिएर साथीहरु शंका व्यक्त गर्थे। मिथ्या आरोप पनि लाउँथे। म उनीहरुलाई सम्झाउथेँ। कतिले सम्झन्थे। कतिले गिद्धे दृष्टि लाइरहन्थे। सबै मानिस कहाँ देवता हुन्छ र? सबै मानिसको सोच सकारात्मक भए किन संसारमा द्वन्द्व हुन्थ्यो र? सबै मानिस पशु पनि छैनन्। सबै मानिस देवता पनि छैनन्।

अब म बिराटनगर नै बस्न थालेको थिएँ। मेरो डेरा पाञ्चाली मिनि होस्टेलमा थियो। यो होस्टेल व्यक्तिले चलाएको होस्टेल हो। यहाँ धेरै विद्यार्थीहरु बस्ने गर्थे। व्यक्तिले चलाएको हुनाले  भाडा तिर्नु पथ्र्यो। म पूर्वपट्टी सानो कोठामा एक्लै बस्थेँ। म विलाप उप नामले चिनिन्थेँ। त्यही नामबाट लेख्थेँ। महेन्द्र मोरङ कलेजका अनेरास्ववियुद्वारा आयोजित कार्यक्रममा मेरो हैसियत राम्रै थियो।

घरबाट पैसा आएकै थिएन। मसँग पैसाको नाममा एक सुको पनि थिएन। मलाई पैसाको साह्रै खाँचो परेको थियो। म भोक भोकै बस्नु पर्ने अवस्था आएको थियो। मसँग चामल थिएन। सब्जी थिएन। स्टोभ जलाउने मट्टितेल थिएन। पैसा को सँग माग्ने ? विराटनगरमा डेरावाल विद्यार्थीलाई कसले पत्याउला र? साथीहरुसँग मागूँ, उनीहरुको पनि हालत उस्तै होला भनेर कसैसँग पनि माग्ने आँट गरिनँ।

भोको हुनुको पीडा बल्ल मैले चाल पाएँ। घर जाउँ भाडा छैन। चिठी पठाउँ कहिले पुग्छ? कहिले घरबाट पैसा आउँछ? एक दुई छाक त एउटा साथीकोमा खाएँ। सधैँ खानेकुरा पनि भएन। आखिर उ पनि डेरावाल नै त हो। उ पनि सर्वसम्पन्न कहाँ होला र?

भोको बसे पछि टाउको दुख्दो रहेछ। कति दिन भोको बस्ने? संसार के हो? अभाव र खाँचो के हो? जिन्दगी के हो? कसरी बाँच्ने? अभाव कसरी टार्ने? जस्ता प्रश्नहरुले दिमाग रिङ्गाउन थाल्यो। सोचेँ, खलासी हुन्छु। कमसेकम भोको त बस्नु पर्दैन होला। बुबाआमाको सपना कहाँ? आफ्नो उद्देश्य कहाँ? कहाँ खसाली? पानीको भरमा पनि एक दुई दिन जिन्दगी चल्दो रहेछ।

सम्झेँ बलियामा साइलो बुबा र भान्दाइ हुनुहुन्छ। एक न एक ठाउँबाट मलाई पैसा मिल्ला नि त? बलिया त जाने तर म सँग बस भाडा समेत थिएन। कसरी जाने होला? उपाय सोच्न थालेँ। आ! जे पर्ला, पर्ला ट्राफिकलाई भन्नु पर्ला भन्ने सोचेर महेन्द्र चौक आएँ। ट्राफिक समक्ष आफ्नो कुरा राखेँ।

नभन्दै ट्राफिकले बस कन्डक्टरलाई यो  मेरो गाँउले भाइ हो, इटहरीसम्म लगि दिनु भने पछि म  बस चढेर इटहरी आएँ। साइलो बुबाले नै मलाई आवश्यक पर्ने पैसा दिनु भयो। मैले राहतको सास फेरेँ। घरबाट पैसा आएपछि साइलो बुबालाई फिर्ता गरेँ। विद्यार्थी जीवन दुःखी नै हुँदाँ रहेछ। घर छोडेर पढ्न बसेकाको मार्का सव कोहीले कहाँ बुझ्छन र?

पढाइमा त्यति ध्यान दिन सकिरहेको थिइनँँ। एक हप्ता पछि बल्ल आज कलेज गएको थिएँ। कोर्स पनि निकै अगाडि बढिसकेको रहेछ। पढाएको पनि राम्ररी बुझ्न सकिनँ। छुटेका विषयवस्तु कसरी सम्पन्न गर्ने भन्ने चिन्ता थपियो। एकाध मिल्ने साथीसँग सिक्नु पर्ला। नोट सार्नु पर्ला। सोच्दै कोठा फर्कन लागिरहेको थिएँ।

अचानक अनिता दिदीको सोधाई थियो, “प्रकाश तिमी हाम्रो घर जाँदैनौं? दुई चार दिन पछि मेला पनि छ। आउ है।” मैले प्रत्यूत्तरमा हाँस्दै भनेको थिएँ,“ समय कस्तो हुन्छ? फेरि बाटो पनि त देखेको छैन नि।” “बाटो त जान मन लागे देखिहालिन्छ नि। सपना दुहवीमा सिलाई कटाई सिक्दै छ, सपनासँगै आए भै गो नि त।”

अनिता दिदीले उपाय पनि दिनु भयो। मैले अब भने मन भित्र भित्रै अनिता दिदीको घर जाने निर्णय गरी दुहवी गएर सपनासँगै जाने योजना बनाएँ। अनिता दिदी भन्दै हुनुहुन्थ्यो “सपनाले भनेकी हिजो आज प्रकाश दाइ के गर्दै हुनुहुन्छ? तपाईंसँग बोल्नु हुन्छ कि बोल्नु हुन्न? दाइको पढाइ कस्तो छ? भनेर सोध्दै थिई।”

मैले अनिता दिदीलाई घर आउने वचन दिएँ। वहाँ निकै खुशी देखिनु भयो।  सपनाले किन मेरो बारे प्रश्नहरु गरी? के म मुर्ख हो र बोल्दै नबोल्ने? मेरो बारेमा थोरै भए पनि सपनाले चिन्ता व्यक्त गरी। धन्यवाद दिनै पर्छ।

अनिता दिदी, सपना र कमलालाई दिएको वचन पूरा गर्न सकिरहेकै थिइनँ। आज दुहवी जान्छु र सपनालाई भेट्छु। कहिले जाने? मेला कहिले हो? सोधेर योजना बनाउँछु। सोही अनुसार मिति तय गर्छु।

मर्निङ क्लास सकाएर खाना पछि म दुहवीतिर लागेँ। सिलाई कटाई प्रशिक्षण केन्द्र पत्ता लगाई सपनालाई भेटेँ। सपना खुशी भई। उसको अनुहारमा खुशीका प्रतिच्छायाहरु झल्किरहेको आभास हुन्थ्यो।

केहीबेरको गफगाफ पछि मैले फर्कने कुरा गरेँ। सपना झस्किई र प्रश्न गरी “आज भम्री नजाने? किन ढाँटेको? बुवा आमा पनि तपाईंको प्रतीक्षामा हुनुहुन्छ। मेला पनि आइसक्यो, आज त जानै पर्छ।” म के भन्ने भनेर दोधारमा परेँ। सपना थप्दै थिई, “आज नगए म रिसाउँछु नि।” मैले पढाइको कुरा देखाएर उबाट फुत्कन खोजेँ। शुक्रबार आउने वाचासहित म विराटनगर फर्किएँ।

आज शुक्रबार, मैले दुहवी जानु थियो। सपनालाई भेट्नु थियो। भम्री जानु थियो। म दुहवी पुगेँ। सपनालाई भेटेँ र   गन्तव्य तिर लागेँ।

दुहवी पश्चिम दायाँ बायाँ हरिया रुखहरु, धुले सडक , सडकमा गोरु गाडाहरु। एकाध पैदल यात्रीहरु। सपना र म गफिँदै अगाडि बढिरहेका थियौं। म “अब कति समय लाग्छ?” भनेर प्रश्न गरिरहेको थिएँ। “अझै एक डेढ घण्टा हिँड्नु पर्छ।” भनेर सपना उत्तर दिँदै थिई। पश्चिमी हावाको वेग तिव्र गतिले आइरहेको थियो।

धुलोले आँखा हेर्न दिइरहेको थिएन। अनुहार र कपडा हेरिनसक्नु भएको थियो। तै पनि म सडक आसपासका गुजुमुज्ज परेका वस्ती र हरियाली हेरेर यात्रालाई सहज बनाउने कोशिस गरिरहेको थिएँ। कुन्नि के सोचेर हो सपनाले ध्यान भंग गर्दै एक्कासी सोधी, “प्रकाश दाइ तपाईं के के को मासु खानुहन्छ?” मैले झस्कँदै भनेको थिएँ, “किन? खै मैले त मासु खान छोडिदिने विचार पो गरेको छु त।” “किन सन्चो हुँदैन?” सपनाले पुनः प्रश्न गरेकी थिई।

“हैन, हैन त्यसै छोड्ने, हात मुख जोड्न त धौ धौ परिरहेको छ। मासु खान त पैसा चाहियो नि। हामी बाहिरबाट आउने विद्यार्थीसँग कहाँबाट पर्याप्त पैसा हुन्छ र? बिराटनगरमा कति दिन भोकै त बसियो। अब पढाई छोडेर अन्त कतै जान मन लागेको छ।” मैले निराशा व्यक्त गरें। उसले मेरो कुरा सुनि या सुनिन।

सपनाले केही प्रतिक्रिया जनाइन। उ आफ्नै सुरमा अघि, अघि हिँडि रही। म पछि, पछि पच्छ्याइरहें। सपना के सोच्दै छे कुन्नि! म भने मेरै विचारमा पौडीरहें। अनिता दिदीको घर कस्तो होला? बुवा आमा कस्तो हुनुहुन्छ होला? कमलाको घर पनि त पुग्नु छ नि मैले। कमला के गर्दै होली? म आउने खवर पाएर उ पनि खुशी हुने छे।

मौनतालाई भंग गर्दै मैले सपनालाई  सोधेँ, “सपना मलाई किन के के को मासु खानुहुन्छ भनेर सोधेको? के मलाई मासु ख्वाउने विचार छ?” “त्यसै के के को खानुहुन्छ भनेर।” सपनाले उत्तर दिई।

“म खान हुने जे को पनि खान्छु।” भनेर हाँस्दै जवाफ दिएँ। सपनाले हाँस्दै भनेकी थिई,“ के तपाईं सुंगुरको मासु खानुहुन्छ त?” “के मैले सुंगुरको मासु खानु हुँदैन र? खाँदा के हुन्छ?” जिज्ञासा साथ सपनातिरै प्रश्न तेस्र्र्याएको थिएँ। “प्राय क्षत्री बाहुनहरु खाँदैनन् नि त अनि सोधेको।” सपनाले भनेकी थिई।

मैले हाँस्दै उत्तर दिएको थिएँ “के क्षत्री बाहुनको चै मुख हैन र? यो खाने र त्यो नखाने भनेर समाज परिवर्तन हुन्छ त? रुचे खाए हुन्छ। म समाज परिवर्तन गर्न चाहन्छु। हामीले पूज्ने चन्द्रमामा मान्छेले पाइला राखी सक्यो। हामी भने भगवान मानि रहेका छौं। म परम्परालाई तोड्न चाहन्छु। सपना! यो वैज्ञानिक युग हो।”

गफकै सिलसिलामा अव भने हामी गन्तव्यमा पुग्नै आँटेको जानकारी सपनाले दिई। हामी अनिता दिदीको घर पुग्यौं। त्यो दिन अनिता दिदी पनि घर आउनु भएको रहेछ।

सपनाले आमा र बहिनीसँग परिचय गराई। बुवा कहाँ जानुभएको थियो। त्यो बेला घरमा हुनुहुन्थेन। परिचयको क्रममा अनिता दिदीले जिस्कँदै भन्नु भएको थियो, “म त प्रकाशलाई तिमी नै भन्छु नि। नरिसाउनु नि।” “दिदीले भाइलाई तिमी भन्दा पनि रिसाउने कस्तो भाइ हुन्छ?” मैले हाँसेरै जवाफ फर्काएको थिएँ।

निकै बेर गफगाफ चलेपछि खाना खाने बेला भएछ। त्यो बेला बुवा पनि आइ सक्नु भएको थियो। वहाँसँग पनि परिचयको क्रम चल्यो।  खाना खाएर उठ्दा मैले क्षत्री बाहुनलाई एउटा चुनौती दिए जस्तो लाग्यो। जुन चुनौती हाम्रो धर्म र परम्परा विरुद्ध थियो।

भोलिपल्ट बिहान म कमलाको घर गएको थिए। जहाँ कमलाको आमा, बुवा, र दिदी सवितासँग परिचय भएको थियो। वहाँहरुसँग घरायसी नाता पनि थियो। हाल खवर आदान प्रदान भयो। खाना खाइयो र आराम गरियो। मेलामा आउने वाचासहित म बिराटनगर फर्केँ।

तेस्रो दिनपछि म दुहवी हुँदै सपनासँग मेला हेर्न भम्री गएको थिएँ। मेलामा रमाइलै भएको थियो। अनिता दिदी, सविता दिदी, सपना, कमला र ममता मिलेर मेला भर्‍यौं। मेलामा खर्च गरिहाल्ने त मसँग पैसा थिएन। अनिता दिदीहरुले नै खर्च गर्नु भयो। जेरी, समोसा खाएर हामी फक्र्यौं।

मेलाबाट फर्कँदा सपना र कमलालाई, “बिराटनगर तिर आउनु नि, यति खेर त सिनेमा पनि के घर के डेरा चलिरहेको छ।” मैले भनेको थिएँ। उनीहरुले केही प्रतिक्रिया नजनाए पनि सिनेमा हेर्न उत्सुक नै छन् भन्ने ठानेँ। मेरो वचन पूरा गर्ने हुन कि नगर्ने हुन्? त्यो त थाहा भएन। मेला सकिइ सकेको थियो। म बिराटनगर फर्केँ। आजसम्म उनीहरु आएका पनि छैनन्। म पनि गएको छैन।

आजदेखि कलेज विदा भएको छ। करिव एक महिना छुट्टी छ। यो विदामा भोजपुर घर तिर जानु  पर्ला भन्ने सोच बनाएँ। अनिता दिदीसँग धेरै दिनदेखि बोलचाल भइ रहेको थिएन। बोलचाल गर्ने अवसर मिलेकै थिएन।  कलेज विदा भयो। म पनि बोलिन। अनिता दिदी पनि मसँग बोल्नु भएन।

घर जाने तयारीका साथ म सपनालाई भेट्न प्रशिक्षण केन्द्र दुहवी गएको थिएँ। तर सपनालाई भेट्न सकिनँ। उ घर गएकी रहिछे। दिनभरी टट्यानपुर घाममा  दुहवी  बजार डुलेर भोजपुर घर जानका लागी बलिया भान्दाइको घरतिर लागेँ।

अनिता दिदी सरल र सफा हृदयकी हुनुहन्छ। सपनासँग पनि भेट हुन सकेन। अनिता दिदीसँग पनि बोल्ने मौका मिलेन। मन अमिलिई रहेको छ। अनिता दिदी मलाई निकै प्यारो गर्नु हुन्छ।

बुवा, आमाले पनि कहिलेकाँही आउदै गर्नु भन्नु भएको छ। समयले अवसर जुराएमा फेरि पनि जाऔंला। अर्को सालको मेलामा रमाउँदै  मेला भरौंला। दिदी भाइको नातालाई अझै प्रगाढ बनाउँला। अनिता दिदीका दाजुभाइ पनि त छैनन् नि।
kpchandra2023@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *