साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्समा हुने

डिसी नेपाल
३२ साउन २०८१ १७:३२

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालाका खेल मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो। सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेलहरु दशरथ रंगशालामा हुने सम्भावना कम भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रंगशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिए। उनले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताए। उक्त रंगशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडौं आइपुगेका थिए।

उक्त प्रतियोगिताको खेल सुरुआतमा दशरथ रंगशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो। तर वर्षाका कारण दशरथ रंगशालाको अवस्था नाजुक भएपछि कहा खेलाउने टुंगो लाग्न सकेको थिएन।

एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रंगशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए।

यही साउन २९ गते दशरथ रंगशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एएफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो। त्यतिबेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो। जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए। यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो।

साफ यु–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदैछ। भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ। प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन्। समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *