जनार्दन शर्मा भन्छन्– उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो

डिसी नेपाल
१ भदौ २०८१ २०:५०

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफुलाई शिर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन्।

शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रचण्डकै अगाडि आफुलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन्।

उपमहासचिव शर्माले कार्यकर्तालाई के म दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए। उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफुले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए।

उनले भने, ‘आज म बडो आश्चर्यमा छु म। तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ। पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ।’

शर्माले अहिले पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउँदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दुराग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए।

शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफू र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको व्याख्या गरेका छन्। उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउँदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *