पहिरो प्रभावितलाई माओवादी केन्द्रको आर्थिक सहयोग

डिसी नेपाल
१ भदौ २०८१ २२:५४

गण्डकी। बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसंगठनहरूको पहलमा संकलित रु दुई लाख १६ हजार आज पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो।

माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको उपस्थितिमा पहिरो प्रभावितलाई राहत रकम वितरण गरिएको हो।

पहिरोमा परी मृत्यु भएका ११ जनाका परिवार र बेपत्ताका एक परिवारलाई जनही रु १३ हजार, सख्त घाइते दुईजनाका परिवारलाई जनही रु १० हजार र घर पूर्ण रूपमा क्षति भएका चार परिवारलाई जनही रु १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको उक्त दलका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए।

पहिरो प्रभावितको राहतका लागि माओवादी केन्द्रको जिल्ला समन्वय समिति, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, अखिल नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय कर्मचारी संगठनलगायतले राहत रकम संकलन गरेका थिए।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङले पहिरो प्रभावित परिवारका लागि गत साउन २५ देखि २९ गतेसम्म बागलुङ बजारका व्यवसायीबाट रु ५० हजार राहत रकम संकलन गरेको संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए।

गत साउन २२ गते राति परेको अविरल वर्षापछिको पहिरोमा परी बडिगाड–९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ। पहिरामा चार घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र ६२ परिवार पहिरोबाट प्रभावित भएका छन्। विस्थापित परिवारले गाउँको विद्यालय भवन र छिमेकीकोमा आश्रय लिइरहेको जनाइएको छ।

राहत वितरणका क्रममा प्रतिनिधिसभा सदस्य पौडेलले बाढी प्रभावित परिवारको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सक्दो पहल गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *