रूसमा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट
काठमाडौं । रुसको पूर्वी तटमा ७.० म्याग्निच्युडको भूकम्प आएपछि एउटा ज्वालामुखी विस्फोट भएको छ। रूसको पूर्वी क्षेत्र कामचटकामा अवस्थित सिभलुच ज्वालामुखी विष्फोट भएको हो । यो ज्वालामुखी करिब १ लाख ८० हजार जनसङ्ख्या भएको तटीय सहर पेट्रोपाभ्लोभस्क-कामचात्स्कीबाट करिब २ सय ८० माइल टाढा छ।
ज्वालामुखीबाट उठेको खरानी समुद्र सतहबाट ८ किलोमिटर (५ माइल) सम्म उचाइमा पुगेको रूसको सरकारी समाचार एजेन्सी तासले आइतबार बिहान रिपोर्ट गरेको छ ।
युएस जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार भूकम्पको केन्द्र पेट्रोपाभ्लोभस्क-कामचाट्स्कीबाट करिब ५५ माइल टाढा थियो र यसको गहिराई करिब ३० माइल थियो।
भूकम्पबाट कुनै “ठुलो क्षति” नभएको तासले रिपोर्ट गरेको छ । यद्यपि भवनहरूलाई अब सम्भावित क्षतिको लागि जाँच गरिँदैछ । रूसी आपतकालीन मन्त्रालयले भूकम्पका कारण सुनामीको चेतावनी जारी गरेको छैन ।
यसअघि, अमेरिकी सुनामी चेतावनी प्रणालीले यस भूकम्प पछि भूकम्पको इपिसेन्टरबाट ३०० किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक सुनामी छालहरू आउने सम्भावना भएको जनाएको थियो ।
Facebook Comment