रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको ठूलो आक्रमण, विशेष महत्वको पुल ध्वस्त
काठमाडौं । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काएको छ ।
रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बताइएअनुसार ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य ठाउँबाट काटिएको छ।
युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भएको थियो । तर अहिले पुल भत्किएपछि अवरुद्ध हुन सक्छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने – हाम्रो सेनाले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदैछ।
जेलेन्स्कीका अनुसार कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्छन्।
यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए ।
ओलेक्सान्डर सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्स्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् ।
रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटर अगाडि बढेका छन् ।
यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो । तर युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ ।
Facebook Comment