जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

डिसी नेपाल
२ भदौ २०८१ २३:१३

धनुषाधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले एक समारोहबीच कार्यक्रमको उद्घाटन गरे।

त्यस अवसरमा उनले मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउने सङ्ख्या न्यून रहेकाले यसलाई वृद्धि गर्न सबैले सहयोग गर्नुपर्ने बताए। उनले भने, “मधेसमा ११ प्रतिशतको हाराहारीमा मात्रै नागरिकले स्वास्थ्य बीमा गराएको तथ्यांक छ। जबकी बागमतीलगायत प्रदेशमा धेरै नागरिकले स्वास्थ्य बीमा गराइसकेका छन्। उनीहरूले यस कार्यक्रमबाट निकै लाभ लिइरहेका छन् । अब मधेस प्रदेशमा पनि यसका कार्यक्रमबाट लाभ लिने गरी कार्यान्वयनमा जोड दिनुपर्छ।”

उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे। गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए। यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास उनले व्यक्त गरे।

बीमा गराएका व्यक्तिले अस्पतालमा उपचार गराएमा ज्येष्ठ नागरिकले रु एक लाखसम्मको उपचार निःशुल्क र बाँकी बिरामीले उपचार वापतको २० प्रतिशत रकम मात्रै तिर्नुपर्ने प्रावधान रहेको निर्देशक डा सुवेदीले जानकारी दिए। यस कार्यक्रममार्फत बिरामीहरूलाई २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध गराइने उनले बताए।

यस विगतमा पनि विपन्न, असहाय र गरिबलाई उपचारमा छुट दिँदै आएको र गतवर्ष मात्रै रु दुई करोड ११ लाख ६० हजार बराबरको निःशुल्क उपचार गरिएको कलेज प्रशासनले जनाएको छ। अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १३ हजार ५१ जनाले बहिरंग सेवा लिएको, त्यसमध्ये ६४ हजार नयाँ र ४८ हजार जना बिरामी रहेको अस्पतालले जनाएको छ । सोही अवधिमा पाँच हजार तीन सय २७ जनाले आकस्मिक सेवा लिएका थिए।

पाँच सय १० शय्याको यस अस्पतालबाट गत आर्थिक वर्षमा चार हजार दुर्य सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको पनि जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *