कथा : निलो कुर्ता

दीप मिलन
८ भदौ २०८१ ७:०४

फोनको दोस्रो घण्टीमात्र बजेको थियो। उताबाट फोन उठिहाल्यो।

मानौँ मेरै कलको प्रतीक्षामा मोबाइल हातमै लिएर बसेकी थिइन् उनी।

फोन उठ्नासाथ “सागर जि नमस्कार”

मीठो आवाज सुने। कस्तो सुरिलो? वसन्तमा कोइलीले गाउने आवाज जस्तै।

नमस्कार भनेँ। कसरी चिन्नुभयो? आश्चर्य प्रकट गरेँ।

राजेशले बताएको थियो। नम्बर पनि उसैको प्रयोग गर्नुभएको रहेछ। चिन्न गाह्रो भएन।

हुन पनि मैले राजेशको सिमकार्ड लिएर आएको थिएँ आउँदा। सोही नम्बरबाट सम्पर्क गरेको थिएँ।

कतिबेला अवतरण गर्नुभयो? म आउँछु लिन पर्खनुहोस् है। उनको प्रश्न र आश्वासन एकैपटक आयो।

“म विमानस्थलबाट बाहिर निस्किएँ”। अहिले बसपार्क जाँदैछु। मैले भनेँ एकैपटकमा जवाफ र यात्राको बारेमा बताएँ।

नभेटी जाने? राजेशले सामान पठाएको छु भन्दै थियो। शंसय व्यक्त गरिन्।

म पनि के कम? हो त अहिले अलिक हतार छ म पछि आउँदा लिएर आउँछु नि है। जिस्किँदै भनेँ।

ह्या…

हुँदैन त्यसरी। आजै ल्याईदिनु मलाई जरूरी छ। उनले एकै श्वासमा भनिन्।
उसले पठाएको मोबाइल मात्र हो। मोबाइलमा तिमीले।कुरा गरिराखेकै छ्यौ किन हतार र फेरि? मैले जिस्किँदै सोधेँ।

कस्तो मोबाइल चलाएको छु देख्नुभयो भने थाहा लाग्छ उनले भनिन्।
अब मलाई उनको मोबाइल हेर्न मन लाग्यो। अनि भनेँ हुन्छ म होटेल गएर फ्रेश भएर आउँछु।

होटेल जान पर्दैन यतै आउनुस सिधा, मैले खाना बनाइसकेकी छु। उसले हतारिँदै भनि।

“म होटेलको ट्याक्सीमा छु” मैले यति भन्न नभ्याउँदै जवाफ आयो ५० रुपैयाँ बढी दिएपछि यतै ल्याइदिन्छन्।

मैले चालकसँग सोधेँ बालाजु चोकमा पुर्‍याएको कति लिनुहुन्छ? १०० रुपैयाँ बढी दिनुहोस्। मलाई बार्गेनिङ गर्न मन लागेन “हस्” भनेँ। चोकमा पुगेर कल गर्न खोज्दै थिएँ उसैको कल आयो। कहाँ आपुग्नुभयो?

बालाजु चोकमा मैले भनेँ

ट्याक्सी नम्बर भन्नुहोस् त उताको आग्रह आयो, मैले चालकलाई सोधेर नम्बर दिएँ।
मेरै अगाडि त हुनुहुँदो रहेछ उसले भनी

निलो कुर्तावाली हौ? मैले सोधेँ।
हो नि। जवाफमा आयो।

ट्याक्सीको पछाडि पट्टी आएर बसी, करीब १०० मिटरको भित्र रहेछ कोठा। कोठामा पुगेर हामी ओर्लियौँ। सबै सामान निकाल्यौँ। मैले ट्याक्सीको पैसा दिएँ।

निलो कुर्ता सुर्वाल लगाएकी ठिक्ककी मोटी म जत्तिकै अग्ली बोल्दा अलिअलि मुस्कुराएर बोल्ने बानी। भय रहित,निर्धक्कले बोल्ने गजब लाग्यो। राजेशलाई सम्झिएँ एकपटक फुत्त मुखबाट निस्कियो “सालेले यस्ति च्वाँक बहिनीको कहिल्यै फोटो पनि देखाएन”।

गलेर आउनुभएको होला फ्रेश हुनुस खाना खाऔँ र आराम गर्नुहोस् भनिन्। म फ्रेश हुन गएँ। आउँदा खाना तयार भैसकेको रहेछ। दुवैले सँगै खायौँ। खाँदै गर्दा सोधेँ “कतिमा पढ्छ्यौ”?

“मास्टर्स अन्तिम सेमिस्टार” छोटो जवाफ आयो।

म पनि चुपचाप खाना खाइरहेँ। खाँदै गर्दा राजेशलाई खूब गाली गरिरहेँ। मभित्रको उनि प्रतिको तृष्णाले मलाई घायल बनाइरहेको थियो। ममा उनका लागि खै के हो के किसिमको अपनत्त्वको आभास भैरहेको थियो। म यसै यसै मात्तिरहेको थिएँ।

अन्तिम गाँस मुखमा हाल्नै लाग्दा निस्कियो ब्वाईफ्रेण्ड छ?

उनी अक्कमक्क पर्दै हेरिरहिन। एउटा अनपेक्षित प्रश्ननले अनुहार रंग बदलियो। उल्टै प्रश्न गरिन् बन्ने हो र?

म टक्क रोकिएँ। भातको अन्तिम गाँस मुखमा राखूँ कि थालमा? बडो द्विविधामा पुगेँ। झट्ट घर सम्झिएँ। घर सँगै श्रीमति र छोराछोरी सम्झिएँ। आँखा अगाडि घरकी श्रीमती आइन्। ठ्याक्कै उनको र मेरो आँखाको बिचमा।

बडो उत्सुक नजरले मलाई हेर्दै थिइन्। म उनको अनुहार हेरि नसक्नु भएको थिएँ।

मेरो यो मनस्थितिको ज्ञान उनलाई हुनु अगावै बोल्नु थियो। जवाफ दिनु थियो । किनभने बन्द अधरले उत्सुक नजरको जवाफ दिन सक्दैन थियो।
बोलेँ म घरबारे हुँ।

के भो त? उनको प्रतिप्रश्न आयो।

“म पत्नि व्रता हुँ” मजाक गर्दै मैले भने।

आजको समयमा पनि? पुनः प्रश्न नै तेर्सियो ममा। अन्तिम गाँस हातमा छ। न फाल्नु न खानुको अवस्था आइसक्यो। हातको गाँस हातमै राखेर सोधेँ “आजको जमानामा कोही पत्निव्रता हुन सक्दैन र? यो सम्भव छ र?

मलाई लाग्दैन यहाँ “कोही पुरुष पत्निव्रता हुन्छ”। आफ्नो संशय राखिन्।

हुन नसक्नुको कारण? मैले जिज्ञासा राखेँ।

मलाई पेल्न खोज्नुभएको? उल्टै मलाई सोधिन्।

हैन, मैले भनेँ। त्यसो भए भन्नुहोस् अब के छ हजुरको निर्णय?

यतिबेला सम्म मेरो हातको गाँस हातमै थियो। गाँस चिसिएर हिउँ बन्ने तर्खरमा थियो जूठो हात कट्कटिएको थियो साह्रो साह्रो भएर।

खाना सिध्याउनु न जवाफ त्यसपछि दिँदा हुन्छ उनले भनेपछि केही राहत महशुस भयो। गाँस मुखमा हालेँ। बोलूँ, के बोलूँ बोल्ने शब्दै छैन। नबोलूँ मन झरी पर्न लागेको बादल जस्तै उकुस मुकुस भैरहेको छ।

एक मनले सोचेँ राम्री एक्ली केटी देख्ना साथ सीमा नाघ्नुको नतिजा मिल्यो। एक मनले भन्यो कस्तो उत्ताउली रहिछे। अर्थ न व्यर्थको सवाल जवाफ गर्ने। राजेशलाई सम्झिएँ बहिनीलाई काठमाण्डौमा पढ्ने बहानामा नियन्त्रण गर्न सकेको रहेनछ।मनकै अन्तर्द्वन्द्धकै बिचमा निर्क्यौल आयो। मनको पहिलो तर्कमै सहमत भए झैँ गरेर उनलाई सरी भनेँ।

उनले हाँस्दै सोधिन् सरी के का लागि?

यसैका लागि भन्ने ध्येयले उनको अनुहारमा हेरिरहेँ। सायद मलाई बुझिन क्यारे।

भन्न थालिन् तपाईं राजेशको साथी हो। लामो यात्राबाट आउनुभएको छ। यात्राको थकान र राजेशको सहकर्मी भएकै कारण तपाईलाई कोठामा ल्याएको हुँ। यसको मतलब हजुरलाई न अनावश्यक सवालको अधिकार थियो न जरूरी नै। यसैले मैले पनि केही बढी बोलेँ। मेरो आशय थियो हरेक केटीलाई एउटै नजरले हेर्नु गलत हो बुझाउनु। म पढ्न आएकी हुँ पढ्दैछु। राजेशको पसिना र बाबाको सपना बोकेर आएकी हुँ। मलाई यतिबेला न प्रेमीको जरूरी छ न फुर्सत नै।

यति भनेर उनी उठिन् । उठ्दै गर्दा अब धात धोएर आराम गर्नुस् । साँझको घर जाने टिकटको बन्दोबस्त म गरिदिन्छु। हजुर थाकेर आउनुभएको छ। मलाई ट्युसन जानुछ। ट्युसनबाट आउँदा ल्याउनेछु। हुन त अनलाइन बूक गर्न पनि मिल्छ क्यारे तर त्यही बाटो फर्कन्छु म ,काउन्टरबाटै लिएर आउनेछु। एक श्वासमा भनेर सकिन्।

म हात मुख धोएर पल्टिएँ। उनले भाँडा सफा गरिन् ट्युसनका लागि तयार भइन्, निस्किइन्।

निस्कँदै गर्दा भित्रबाट ढोका बन्द गरेर सुत्नु है नानी आउँछिन्। निद्रा बिथोलिदिन्छिन्। राती पनि यात्रामा सुत्न नमिल्ला हजुरलाई।

कानसम्म आएको उनको आवाजमा म प्रष्ट हुन सकिनँ। नानी, कसको नानी? कत्रो नानी? न उनको विवाह भएको छ। न राजेश र उसका परिवार यहाँ छन्। फेरि नानी कसको कसरी आउँछ? भनेर सोध्न नपाउँदै स्कुटीको घुइँया आवाज सुनियो। सायद उनकै थियो। झ्यालबाट बाहिर हेरेँ उनी थिईनन्।

ममा केहीबेर अगाडिको घरको याद। छोराछोरीको मायाले विश्राम लिए जस्तै भयो। सुत्न खोजेँ निदाउन सकिनँ। खाली उनलाई र उनले भनेको नानी आउँछिन् भन्ने कुरा खेलिरह्यो। म निदाउन छोडेर नानीको प्रतीक्षा गर्न थालेँ।

निकेबेर निदाउन खोजेँ सकिनँ। घरबाट कल आइरह्यो तर उठाउन मन नै लागेन। खै के भयो मलाई म जान्दिनँ। दिनमा पचासपटक भएपनि बोलेर नथाक्ने म। आज एकपटक मात्र कुरा गरेको छु त्यो पनि विमानस्थलमा आएर म ओर्लिसकेँ अब होटेल जान्छु भनेर जानकारी गराउन। मलाई श्रीमति र छोराछोरीको भन्दा बढ्ता प्रतीक्षा उनको र ती अनजान नानीको थियो।

अनलाईन जाऊँ पासवर्ड माग्न बिर्सिएछु। मोबाइलमा डाटा थिएन र डाटा लिन पुग्ने गरेर ब्यालेन्स पनि नभएकाले अनलाईन नगएर पल्टिरहेँ। केही समय अगाडि उनिबाट टाढिनका लागि घरबारे हुँ भन्ने बहाना बनाएको मैले त्यही परिवार बिर्सेर उनैलाई सम्झीरहेको छु। साला मन साह्रो खत्तम हुने रहेछ।

जोबाट टाढिन खोज्यो उसलाई खोजिरहने। जसलाई भेट्नका लागि दुई वर्षदेखि कुराएर राखेको छु उसको कुनै मतलब नै नहुने। मन यस्तो विचित्रको हुने रहेछ भनेर मैले यही बेला बुझ्न पाएँ।

ढोका बन्द गरेर सुत्नु भनेको यत्तिकै सुत्नुभएछ। उनको आवाज कानमा पर्‍यो। आँखा बन्द थियो निदाएको त थिइनँ।

आयौ? मैले सोधेँ। गर्मी निकै छ जस्तो छ बाहिर। उनको निधारमा आएको चिटचिट पसिना देखेर सोधिहालेँ।

आएँ, उनले भनिन्। गर्मीको कुरै नगरौँ। अत्यन्तै छ। काठमाण्डौमा त यस्तो छ तराईमा कसरी बाँचेका होलान् मान्छेहरू। उनले थपिन्।

पानी पिउन त भन्दै पानीको बोतल उनिको अगाडि सारेँ उनले पानी पिउन लागिन्। म पुनः एकपटक आफूलाई बिर्सिएँ र उनैमा समाहित भएँ जस्तै लाग्यो। म कस्तो पागल भएको?

मनमनै स्वयंलाई यिनी त साथीकी बहिनी हुन्। बहिनी जस्तै मान्नुपर्छ। भनेँ फेरि मनमनै भनेँ म कहाँ पागल भएको छु? साथीकी बूढी , बूढी हुन सक्दिनन् भने बहिनी कसरी बहिनी मात्र हुन सक्छिन्? मनले निर्क्यौल गर्‍यो उनी केही हुन् केही खास। झट्ट सम्झिएँ उनले भनेको कुरा। हरेकलाई एकै नजरले हेर्नु हुँदैन। मेरो लक्ष्य केवल पढ्नु हो पढ्नुमै केन्द्रित छु ।

म मनमनै अन्तर संवाद गरिरहेको थिएँ। टिकट लिनुस् भन्दै दिईन्। उनको आवाजले झस्किएँ। मानौँ म यतिबेला मस्त सुतिरहेको अवस्थामा थिएँ। मलाई कसैले गहिरो नीदबाट ब्यूझाए जस्तै लाग्यो। किनकी मलाई आज यतै बस्ने मन थियो। उनी सँगै उनकै कोठामा।

अलिक अप्ठेरो माने झैं गरेर टिकट लिएँं पैसा नै नलिएर गइछ्यौ टिकट निशुल्क व्यवस्था भएको छ र? हाँस्दै भनेँ।
उनले पनि हाँस्दै भनिन् जम्मै व्यावसायीहरू मेरा आफन्तहरू हुन् मलाई टिकट निशुल्क दिन्छन्।

पर्सबाट पैसा निकालेर दिन खोज्दै थिएँ उनले पैसा लिन मानिन् भनिन् राजेशले पठाइदिएको थियो इसेवामा। उसैलाई दिनुस्। म यहाँ आएबाट राजेश सित कुरा भएको पनि थिएन। अचेल प्रविधिको विकासले साह्रै सजिलो बनाएको छ।पैसा बोक्नै नपर्ने मोबाइल तेर्साए कारोबार त्यत्तिकै हुने।

टिकट हेरेँ साँझ ८ बजेको रहेछ। टिकटमा बस चालकको नम्बर र नाम रहेछ। ८ बजे बालाजू चोकबाट चढ्न मिल्छ। बस बसपार्कबाट छुट्ने बेलामा कल आउँछ। अनि हामी चोकमा जाऔँला। उनले यसो भनिरहँदा मन साह्रै अमिलो भैरहेको थियो। त्यै पनि भनेँ “हुन्छ त्यसै गरौँला।”

पासवर्ड के हो? मैले सोधेँ, के को? उनले सोधिन्।

वाइफाइको छोटो जवाफ दिएँ।

ओहो! कस्तो बिर्सिएछु। अघि नै माग्नु पर्दैन? कस्तो बोर भयो होला भन्दै मोबाइल मागिन्। नेट जोडिदिइन्।

मैले मेसेन्जर चेक गर्न थालेँ। घरबाट सयौँ मेसेज र कल आएको रहेछ। हत्तपत्त घर कल गरेँ। निदाएकाले र मोबाइलमा ब्यालेन्स नभएकाले कल गर्न नपाएको बहाना बनाएँ। ८ बजेको टिकट भएको जानकारी बनाएँ। चाहना नभए बहाना कतिकति। श्रीमतीले रिसाउँदै भनिन्। मलाई उनलाई फकाउन भन्दा रिसाएको राम्रो लाग्यो। छोराछोरी सित कुरा गरेँ। अक्षर राम्रो बनाएकाले स्कुलमा डबल स्टार पाएको खुशी छोरीले बाँड्न भिड्यो कल गर्नुस् भनिन् आफू सित डाटा नभएको भोलि घरमै आएर हेर्छु भनेर छोरीलाई ढाँटे। बाबा आउने भनेपछि छोरी यसै फुरूङ्ग। म यसैयसै अनौठो मोहमा लिप्त।

खाना तयार भयो, खाना खाएर जानुस् है, सुस्तरी भनिन्। घडी हेरें सात बजिसकेको रहेछ ।नबुझे जस्तै गरेर भनेँ “हुन्छ बाहिर नै खान्छु”। “बाहिर भनेको हैन यहीँ खाएर जानुस्” भनेकी। पुनः प्रष्ट पारिन्।हुन्छ , म हात धोएर आउँछु तिमी पस्किराखन मैले भनेँ। उनले पनि “हुन्छ” छोटै जवाफ दिइन्।

खाना खाइवरी म घरका लागि तयार भएँ। पौने आठ भएको रहेछ। तिमी पनि खाऊ न खाना भनेको हैन हजुर गएपछि खान्छु भनिन्। हाँस्दै भनेँ “म गएपछि खाना नरुच्ला नि”। नरुच्नका लागि मलाई के भएको छ र? उनले सोधिन् । त्यै पनि एक्लै नरुच्ला भनेर। सम्हालिँदै भनेँ।

हामी निस्किन लागेकै बेलामा पानी पर्ला जस्तै गर्‍यो। लाग्यो पानी बेस्सरी दर्किए हुन्थ्यो। यहाँबट निस्कनै नमिल्ने गरेर। पानी पर्न लागेको देखेपछि उनले सम्बन्धित गाडी चालकलाई फोन गरिन्।

गाडी बसपार्कबाट छुट्न लागेको जानकारी गराए चालकले। पहिल्यै थाहा थियो गाडी आठ बजे नै छुट्छ भन्ने। किन बेकारमा फोन गरेकी होलिन्। भन्ने मनमा लागिरह्यो। एक मनले भन्यो यतै बसोस् भन्ने उनको चाह त हैन? अर्को मनले भन्यो मन बडो पापी हुन्छ। म अन्तरमनको द्वन्द्धमा थिएँ। उनले भनिन् अब जाऔँ पानी पर्ला जस्तै छ। आकाशको पानी धर्तीमा नपर्दै मेरो म भित्रको चाहमा भयंकर वर्षात भयो।

हुन्छ जाऔँ, मबाट यत्ति बाहेक अरु भन्ने शब्द नै रहेन। ठीक आठ बजे कोठाबाट निस्कियौँ। स्कुटरमा सामान राख्यौं बालाजु चोकका लागि निस्कियौँ। पैताला जति अगाडि बढ्न खोज्छ मन उति नै गह्रुङ्गो भैरहेको छ।

मन त्यही कोठाको चार भित्तामा छुटेको जस्तै छ जीवनको यात्रा। यो व्यक्त गर्न नसकेको एकहोरो प्रेमले मन जलाउँदो रहेछ। चोकमा पुगेर गाडीवालाई कल गर्‍यौँ हाम्रै अगाडि हरियो रंगको बस आयो। बसका सहचालक र मैले सामान गाडीको डिक्कीमा राख्यौँ। उनले हेरिरहिन्। बाटोको उज्यालोले उनको अनुहारको धमिलो पर्दा हटाउन नसकेको प्रष्ट देखियो। अघि मैले सोचेको ठीज रहेछ भन्ने लाग्यो। लाग्यो सामान पठाएर आफू यतै बसूँ। तर नैतिकता भन्ने जिनिसले एउटी युवतीको कोठामा परिवार बिर्सेर बस्न दिएन। जाने निधो गरेँ।

मैले मन खोल्न सकिनँ। उनले पनि सक्ने कुरै भएन। हाम्रो मानवीय चेतले जहिले प्रेमको प्रस्ताव केटाले राख्नुपर्छ भन्ने एक किसिमको सीमाना बनाएको छ। सामान राखिसकेपछि उनि सित बिदा भएँ। मनले छुट्न नमानेकै बेलामा राम्रो सित जानुस् बाटोमा कल गर्दै गर्नुस् है।

पानी पर्ला जस्तो छ। केही अप्ठ्यारो नपरोस् भन्ने कामना गरेको छु। हुन्छ, म कल गरिरहनेछु भनेँ। छुट्दा बेस्सरी अँगालो मार्न मन थियो त्यो अधिकार मलाई थिएन। यत्तिकैमा छुट्टियौँ। म बसमा चढेँ उनले बाटोको छेउमा उभिएर हेरिरहेको देखेँ।बस गुड्यो रातको अंध्यारोले उनलाई छेक्यो।मन उकुसमुकुस भैरह्यो। आँखा रसाउला रसाउला जस्तै भयो मन भतभती पोल्यो।

मनलाई शान्ति मिल्छ कि भन्ने आशाले घर कल गरेँ। बस चढिसकेको जानकारी गराएँ। एकछिन कुरा गरेँ धेरै बोल्नै मन लागेन। फोन काटेँ। आँखामा उनैलाई मनमा उनैलाई जताततै उनैलाई मात्र पाउन थालेँ।

बस आफ्नै गतिमा गुडिरहेको छ। बसले नागढुंगा काट्यो कानमा एयरफोन लगाएर प्रदीपराज पाण्डे ज्यूले गाउनुभएको थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ भन्ने गीत सुन्दै बन्द आँखा अगाडि उनको तस्वीर बोकेर बसको गतिसँगै गुडिरहेँ गुडिरहेँ। उनैलाई सम्झिएर यत्ति लेखेँ
जाँदैछ रात बढ्दै बढ्दै छ याद उनको
दूरी बढ्यो धराको होला र भेट फेरि?

कञ्चन ५ रूपन्देही
हाल कतार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *