नेपालका लागि नवीन समझदारी अपरिहार्य छ : अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समृद्धिका लागि नवीन समझदारी अपरिहार्य रहेको बताएका छन्।
राप्रपाको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सवका अवसरमा अष्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा उनले बताएको उनको सचिवालयले जनाएको छ ।
उनले गत चुनावको दृष्टान्त उल्लेख गर्दै देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने आफूलाई लागेको बताए।
त्यस अवसरमा नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजंग कार्कीलगायत सहभागी भएका थिए। उनीहरुलाई भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए। अध्यक्ष लिङ्देनले मेलबर्नपछि एडिलेड, सिड्नी र क्यानबेरामा आयोजना कार्यक्रममा सहभागी हुने जनाइएको छ।
कार्यक्रममा गैरआवासीय नेपाल सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष शेष घलेले लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला भेट भएको स्मरण गर्दै नेपालमा विदेशी लगानीकर्तामैत्री वातावरण बनाउन जरुरी रहेको बताए।
प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष अजय राजवंशीले पाँच वर्षअघि मेलबर्नमा स्थापना भएको संस्थालाई यहाँको समुदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिनुभएको थियो। अध्यक्ष लिङ्देन यही भदौ १० गते स्वदेश फर्किने तालिका छ ।
Facebook Comment