माओवादीभित्रको अन्तरसंघर्ष

आफ्ना समर्थक र जनार्दनका विरोधी पहिचान गर्न प्रचण्डले बोलाए परामर्श बैठक

शरद रिजाल
४ भदौ २०८१ १४:५८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) ले करिब एक साता चलेको स्थायी समिति बैठकको जानकारी दिन एवं बैठकले गरेका निर्णय कार्यान्वयन गर्नका लागि पार्टीका सबै प्रदेश कमिटीमा परिपत्र गरेको छ।

सोही स्थायी समिति बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र हरिबोल गजुरेलले पेश गरेको लिखित प्रस्तावको स्वामित्व ग्रहण भने  परिपत्रले गर्न सकेको छैन। बरु उल्टै पार्टी बैठकमा उठाइएका विषय मिडियामा सार्वजनिक गरिनु पार्टीको सामान्य मूल्यमान्यताको समेत गम्भीर उल्लंघन भएको भन्दै सचेत गराइएको छ।

उपमहासचिव गजुरेलको केही नीतिगत विषयमा सैद्धान्तिक मत रहे पनि शर्माको भने पार्टीमा नेतृत्व चयनको तीन विकल्पबारे सुझाउँदै नेतृत्व हस्तान्तरण, तेस्रो पुस्तामा पुस्तान्तरण र महाधिवेशनमार्फत लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गुर्नपर्ने  लिखित प्रस्ताव नै पेश गरेका छन्।

शर्माको लिखित प्रस्तावका विषयमा छलफल गरिने समेत उल्लेख नगरी परिपत्र जारी गरिनुले माओवादीभित्रको अन्तर्विरोध कायमै रहेको देखिएको छ। परिपत्रले माओवादीभित्र उपमहासचिवद्वयको प्रस्ताव सर्वथा अस्वीकार गरिएको पार्टी सम्बद्ध स्रोत बताउँछ। यसले पार्टीमा जारी अन्तरविरोध यथावत रहेको र आगामी बैठकमा थप चर्किने संकेत दिलाएको छ।

माओवादीले आगामी केन्द्रीय समितिको बैठक अगावै प्रदेश समितिको परामर्श बैठक बोलाएको छ। सातै भौगोलिक प्रदेश, सम्पर्क समन्वय, उपत्यका विशेष, प्रवास, तीनवटै आयोग, जवस मोर्चामा कार्यरत केन्द्रीय सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरुको बैठक बोलाएको हो।

केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा बुधबारदेखि क्रमशः सुरु हुन लागेको उक्त बैठकमा पार्टी केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेशका पदाधिकारीहरु सहभागी हुने माओवादीको परिपत्रमा उल्लेख छ।

यही परामर्श समितिको बैठकमा नेताहरुको पक्षधरता दर्शिने र सोही आधारमा शर्माको लिखित प्रस्तावलाई अवज्ञा गर्ने सम्मको तयारीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रहेको स्रोतले जनाएको छ।

आइतबार अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले सबै प्रदेश कमिटीमा जारी गरेको परिपत्रमा पनि उपमहासचिव शर्माले राखेको लिखित प्रस्तावको विषयमा कहीँकतै उल्लेख नगरिनु त्यसकै उपज भएको बताइएको छ।

यही परामर्श बैठकमा सहभागी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबाट प्रस्तुत धारणा अनुरुप आगामी रणनीति तय गर्ने तयारीमा अध्यक्ष प्रचण्ड रहेको माओवादी स्रोतको दाबी छ।

आफू पक्षीय केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको निक्र्योल गरी आगामी केन्द्रीय समितिको बैठकबारे निर्णय लिने तयारीमा रहेका प्रचण्डले यही बैठकमा शर्माको प्रस्तावको विपक्षमा नेताहरु उभिएमा त्यस प्रस्तावलाई खारेज गर्नेसम्मको तयारीमा रहेको स्रोतले जनाएको छ।

यसले शर्मा पक्ष सशंकित बने पनि आफ्नो लिखित प्रस्तावप्रतिको प्रतिबद्धतामा भने यथावत रहेको उपमहासचिव शर्मा निकट स्रोतले जानकारी दियो। ‘जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गर्न पनि तयार रहेरै यो प्रस्ताव उहाँले राख्नु भएको हो।’, शर्मा निकट स्रोतले भन्यो।

शर्मा निकट स्रोतका अनुसार पार्टीलाई विधिसंगत ढंगले चलाउनका लागि राखिएको प्रस्तावको पक्षमा अन्तिमसम्म उभिएर वारपारको अवस्था आए पनि पछि नहट्ने उनको अडान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *