‘संघीयताविना जनताको अधिकार सुनिश्चित हुँदैन’

डिसी नेपाल
४ भदौ २०८१ २०:२५

कर्णाली। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संघीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन्।

‘नवौँ कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’ को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले जनताको संघर्ष र बलिदानबाट मुलुकमा संविधान र सङ्घीयता आएको बताए। उनले भने, ‘कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो। यसको भरपूर उपयोग हुन जरुरी छ। भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’

ताल तलैया, हिमश्रृङ्खला, हरिया जंगल, महँगा जडीबुटी यार्सा, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक रूपले सम्पन्न कर्णालीलाई गरिबी, अशिक्षा, भोकमरी र अभावको गलत भाष्य दिएर चिनाउनु दुःखद् भएको उनको भनाइ थियो। कृषि, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धि गर्न सकिने उनको विश्वास छ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राजकीय जस्तो नभई जनताको प्रत्यक्ष सहभागितामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउन सक्ने अवस्था सिर्जना भए संघीयताको अनुभूति हुने जनाए। ‘एकरदुईको जना होइन, हजारौँ जनताको अथक प्रयासबाट कर्णाली कान्छो प्रदेशका रुपमा स्थापित भएको हो,’ उनले भने, ‘जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानलाई इतिहासले कालान्तरसम्म स्मरण गरिरहने छ।’

मुख्यमन्त्री कँडेलले चार सहिदका परिवारका एकरएक जना सदस्यलाई रोजागर दिनेगरी प्रदेश सरकारले निर्णय गरेको बताए। सबै क्षेत्रमा सुशासन कायम, नागरिकलाई शान्ति, सुरक्षा र अधिकारको उपयोग एवं सुरक्षित गराउन सकिए सहिदको सपना पूरा हुने र जनताको संघर्ष र आन्दोलनले सार्थकता पाउने मुख्यमन्त्री कँडेलको भनाइ थियो।

सीमांकनको विषयलाई लिएर विसं २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवारको निधन भएको थियो।

सहिद तथा प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरूले सोमबार प्रादेशिक सहिद पार्कमा पुगेर सहिदको फोटोमा माल्यार्पण गरेका थिए। सहिद तथा प्रदेश स्थापनाको खुसियालीमा कर्णालीमा दीपावली पनि गरिएको छ।

आजकै कार्यक्रममा कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोट स्थायी निवासी अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार राजेन्द्र कार्की, अनलाइन खबरकर्मी यज्ञबहादुर खत्री र कालीकोट निवासी तुलराम पाण्डेलाई जनही रु ५० हजारका दरले प्रदेश सरकारले नगद पुरस्कार प्रदान गरेको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा डा डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य १० कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट प्रदेश सरकारले सम्मान गरेको छ। समारोहमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्ट, नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णबहादुर जिसी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुँडामणि पौडेललगायतले सहिदको सपना पूरा गर्नका लागि जनस्तरमै जागरण सिर्जना गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *