स्वास्थ्यकर्मी नै भगवान्
हे डक्टर
हे नर्स
हे स्वास्थ्यकर्मी !
मानवसेवा गर्ने चाहना तिमीले रोज्यौ
जीवन, जगत् बँचाउने जिम्मेवारी तिमीले खोज्यौ !
मानवीय सेवामा सदासर्वदा अघि बढिरहन्छौं
खुसीको प्रवाह सबैमा छरिरहन्छौं
जस्तै परिस्थितिमा पनि
जस्तै परिस्थितिमा पनि
तिमी डराएको मैले देखेको छैन
तिमी आत्तिएको मैले भेटेको छैन
तिमी हरेस खाएको, हतास भएको
मैल कहिल्यै कहिल्यै पनि महसुस गरेको छैन
हो, डराएको वा हराएको छैनौ तिमी !
बगेका छैनन् तिम्रा आँसु ।
सायद तिम्रो आँसु
आफू भित्रै बगाउछौ तिमी
हो, यो पक्कै हो
अरूलाई खुसी बाँड्न चाहन्छौ तिमी !
सायद आफ्नो दुःख र वेदना
अरूलाई बदल्न आफूभित्रै समाहित गर्छौ तिमी !
जीवन जगत्लाई बचाउँदै, हसाउँदै
मानवीय धर्मको झन्डा शिरमा उठाउँछौ तिमी ।
न दिन, न रात, न घण्टा, न पल
सबै प्रहरमा तिमी
जीवनहरू बचाउन
गहन जिम्मेवारी सहित
डटिरहेछौ, लडिरहेछौ !
हो, आफ्नो क्षेत्रबाट
तिम्रो सपना, जपना र बिपना नै
सृष्टि, सिर्जना र सेवाको मूल तत्व
सत्यम्, शिवम् ,सुन्दरम्लाई नै
साकार पार्नु नै रहेछ-स्वास्थ्यसेवक भएर !
हो गौरवशाली स्वास्थ्यसेवक बनेर !
तिमी पनि मानव हौ
अरू जस्तै मानव
दुःख, सुख, चेतना, भावना, प्रेम
महसुस गर्ने मानव
अनि विगत, वर्तमान र भविष्य
सबै महसुस गर्ने एउटा मानव !
डक्टर, नर्स, स्वास्थ्यकर्मी हो !
सुन
तिमी विशेष छौ, तिमी विशेष हौ
तिमी मानव मात्र हैनौ
तिमी महामानव हौ !
मानवताको यो लडाइँमा
तिमी नै प्रत्येक त्रसित जीवनको
आशाको दियो हौ !
विचल्ली हुन लागेको एउटा परिवारको
अन्तिम भरोसा हौ
सिंगाे मानव सभ्यता र विकासले
भोगेको चुनौती
भत्किन लागेको समाजको, राष्ट्रको
अनि
समस्त विश्वको मेरुदण्ड हौ, भविष्य हौ !
त्रास र भयले छट्पटिएको मानव समुदायको
तिमी आशाको केन्द्रविन्दु हौ !
त्यसैले, त्यसैले
तिमी तिम्रो कर्तव्यपथबाट कहिल्यै कहिल्यै पनि
कदापि, कदापि, कत्ति पनि विचलित नहोऊ !
मानवजातिलाई बचाँउने तिमी शक्तिपुञ्ज हौ
तिमी नै सञ्जीवनी बुटी हौ
नयाँ सुन्दर आउने विश्वको
तिमी बलियो आधार
अनि
एउटै आशा र भरोसा हौ ।
हे प्रिय स्वास्थ्यकर्मी !
तिमी
यो मानवताको लडाइँको अग्रपङ्क्तिका वीर
र साहसी योद्धा हौ !
तिमी नै नायक र नायिका हौ
भोलि आउने सम्पूर्ण मानवजातिका लागि
तिमी
एक जीवन्त उदाहरण र अमूल्य प्रेरणा हुने छौ !
स्वयं भगवान् तिमीलाई शक्ति
र
आशीर्वाद मात्र प्रदान गरिरहेका छैनन्,
तिमी स्वयं नै मानवकोे रूपमा भगवान् भएर धरतीमा कर्म गरिरहेछौ
हो,
स्वयं तिमी नै
भगवान्को रूपमा कर्म गरिरहेछौ ।
किनकी तिमी प्रेम, दया र करुणा हौ
तिमी प्रेम, दया र करुणा हौ
सलाम डक्टर तिमीलाई !
सलाम नर्स तिमीलाई !
सलाम ममता तिमीलाई
सलाम स्वास्थ्यकर्मी तिमीलाई !
आभार तिम्रो परिवारको सहयोग र वलिदानलाई
अभिनन्दन छ तिम्रो त्याग, सेवा र साहसलाई !
नमन छ प्रेम, दया र मानवतालाई !
हार्दिक हार्दिक बधाई सम्पूर्ण सम्पूर्ण तिमीहरूलाई !
सम्पूर्ण तिमीहरूलाई ! सम्पूर्ण तिमीहरूलाई !
Facebook Comment