गुलामी संस्कृति राजनीतिक अस्थिरताको कारक
नेपालमा अस्थिर राजनीति भित्रिएको कति वर्ष भयो होला? यसको इतिहास ज्यादै लामो छ। जंगबहादुर राणाको मृत्युपछि राणाहरूको भाइभाइको झगडा र एकले अर्कोलाई सिध्याउने खेल हामीले नदेखे पनि पढेका र सुनेका छौं।
यो सबै श्री ३ प्रधानमन्त्रीको पद प्राप्तिको लागि थियो। राणा शासनअघि पनि राजाहरू बालक हुनुका कारणले मुख्तियारी चलाउनेको होडबाजी थियो।
सत्ता र शक्ति प्राप्तिको लागि खिचातानी भइरहने भएकाले नेपालमा सामाजिक सेवा र विकास निर्माणका काम प्रायः औपचारिकतामा सीमित भइरहेका छन्। विज्ञान र प्रविधिले फड्को मारिसकेको आधुनिक विश्वमा हामी भने टुलुटुलु हेर्नु शिवाय अरू केही गर्न सक्दैनौं।
हाम्रो काम भनेको सत्तासीनहरूको पक्षविपक्षमा लागेर चाकडी बजाउनु मात्र हो। नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिमा अस्थिरता झनै भित्रिरहेको छ। हाम्रो देशमा १७ पटकसम्म चुनाव गर्दा पनि प्रधानमन्त्री छनौट हुन नसके पनि पदमा उठिरहने इतिहास रचेका राष्ट्रपति छन्।
पद सत्ता र शक्ति सबैभन्दा मुख्य कुरा हो भन्ने संस्कृति हाम्रो राजनीतिमा छ। राजनीतिमा इमान्दारिता, नीतिगत र नैतिक अनुशासन भन्ने कुरा कुन चराको नाम हो भन्ने अवस्था छ।
यसैले गणतन्त्र, लोकतन्त्र र समाजवादजस्ता शब्दावली केवल सिद्धान्त र किताबमा मात्र सीमित भएको छ। यसले समाज र लोकलाई केही दिन सकेको अनुभूति भएको देखिँदैन।
जसरी धनबहादुर नाम गरेको सबै मानिस धनी हुन सक्दैनन्, गुणवति नाम गरेकी सबै छोरीहरू सर्वगुणले सम्पन्न हुन सक्दैनन्। यसैगरी लोकतन्त्र समाजवादजस्ता शब्दावलीले सुशोभित गरेको भरमा लोक कल्याणकारी राज्य बन्न सक्दैन। इ.सं. १९७५ देखि १९७९ सम्म कम्बोडियामा पोलपोट नाम गरेका शासक थिए।
हाम्रो काम भनेको सत्तासीनहरूको पक्षविपक्षमा लागेर चाकडी बजाउनु मात्र हो। नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिमा अस्थिरता झनै भित्रिरहेको छ। हाम्रो देशमा १७ पटकसम्म चुनाव गर्दा पनि प्रधानमन्त्री छनौट हुन नसके पनि पदमा उठिरहने इतिहास रचेका राष्ट्रपति छन्।
उनको शासनकालमा सर्वहाराको अधिनायकत्वको नाममा आफ्ना विरोधीहरूलाई निमिट्यान्नै पार्न चाहन्थे। यसैले उनको शासननिरीह मानिसहरूको लासहरू र अस्थिपञ्जरको थुप्रोमाथि अडिएको थियो।
त्यतिखेरको उनको कार्यकालको त्यहाँको शासन व्यवस्थाको नाम पनि कम्युनिस्ट शासन थियो। कम्युनिस्ट र जनवादी व्यवस्थाको नाममा उनी र उनका मतियारहरूले त्यहाँ त्यस्तै प्रकारका शासन चलाएका थिए।
शोभियत संघमा पनि स्टालिन र स्टालिनपछिका शासकहरूले यस्तै खालको शासन सञ्चालन गरे। इ.सं. १९९१ डिसेम्बर २५ मा सोभियत युनिएन बिघटन भयो। जनअधिकार, वाक् तथा प्रकाशन स्वतन्त्रताजस्ता प्रजातान्त्रिक हक जनतालाई थिएन।
सबैकुरा राज्यको नियन्त्रणमा भएका कारण राज्यसत्तामा जो छ उसले चाहेका कुरा मात्र राज्यमा लागू हुन्थ्यो। जनताका दैनिक आवश्यकताको उपभोग्य सामान उत्पादन गर्नतिर राज्यको ध्यान थिएन।
यसको सट्टा युद्ध सामग्रीको उत्पादन राज्यले ज्यादा गर्थ्याे पाउरोटी पाउनका लागि पनि जनता घण्टौँसम्म लामो लामो लाइनमा बस्नु पर्थ्याे। यस्ता खालको त्यहाँको शासन व्यवस्थाको नाम पनि समाजवादी भन्ने थियो।
अब भन्नुहोस् त नामले मात्र के हुने रहेछ र यही सोभियत संघको समर्थनमा भित्रिएका तत्कालीन पूर्वी युरोपका समाजवादी सत्ताहरू पनि लोकलाई वाक्क पार्दै अलोकप्रिय भएपछि एकपछि अर्कोगरी ढल्दै गए।
कम्युनिस्ट सत्ता संसारमा बदनाम हुनुको कारण पनि त्यही हो। समाजवाद नाम मात्रको भएपछि पुँजीवादी देशहरू खुसी भए। चीनमा माओको शासन भएको बखत सोभियत संघ र चीनलाई समेत मिलाउँदा संसारको तीन चौथाइ भू-भागमा कम्युनिस्ट व्यवस्था लागू भइसकेको थियो।
यसैले त्यसबेला माओत्सेतुङ्गले भन्नुभएको थियो ‘हामी युद्ध चाहँदैनौं यदि अमेरिका युद्ध गर्नै चाहन्छ भने अब संसारको सबै भू-भाग कम्युनिस्टमय हुनेछ।’
यद्यपि त्यतिखेरको कम्युनिस्ट सत्ताहरू अनुसन्धान खोज र प्रयोगबाट नै अघि बढ्नु अनिवार्य थियो। प्राप्त भएको सत्ताको सही प्रयोग हुन सकेन। रगतको खोलो बगाएर जनताको नाममा मजदुरको नाममा प्राप्त भएको सत्ताले उनीहरूकै हित गर्न सकेन।
जसले समयको माग र जनताको आशा आकांक्षा बुझ्नसके त्यो अहिले पनि लोकप्रिय छ। तपाईं आधुनिक चीन र यसको प्रगतिलाई हेर्न सक्नुहुन्छ। बरु संसारभरका साम्यवादीहरूको आवाज र आन्दोलनको फलस्वरूप बाध्य भएर पनि पुँजीवादी देशहरूले धेरै हदसम्म आफूलाई सच्याएको देखिन्छ।
सहकारी सिद्धान्त, निःशुल्क स्वास्थ्य, शिक्षाजस्ता थुप्रै कुराहरू साम्यवादी आन्दोलनका देनहरू हुन्। जो अहिले कतिपय पुँजीवादी मुलुकहरूमा समेत लागू भएको छ। हाम्रो देशमा चाहिँ सहकारीप्रायः ठगी खाने भाडोमा परिणत भएको देखिन्छ।
तुलनात्मकरूपमा हेर्दा सिंगापुर, क्यानडा, स्विडेन, डेनमार्क र स्विजरल्यान्डजस्ता देशहरू नमुनालायक नै छन्। माक्र्सवादी शिक्षाले हामीलाई सिकाएको छ कि संसार परिवर्तनशील छ। परिवर्तनशील विश्वलाई पहिचान गर्दै माक्र्सवादी सिद्धान्तलाई पनि बेला-बेला विकास र परिमार्जन गर्नु आवश्यक छ।
सिद्धान्त व्यवहारबाट जन्मन्छ र यसले पुनः व्यवहारकै सेवा पनि गर्दै जान्छ। यसैले सिद्धान्तलाई शासकीय व्यवहारमा मात्र हैन, जनव्यवहारको कसीमा जाँच्दै लानुपर्ने हुन्छ र यसको विकास गर्दै पनि लानुपर्ने हुन्छ। सायद मदन भण्डारीले ‘हामी जुत्ताको नापअनुसार खुट्टा काट्दैनौं, बरु खुट्टाको नापअनुसार जुत्ताको छनौट गर्दर्छौं’ भन्नुको तात्पर्य यही होला।
जो संसारका ठूला र ख्यातिप्राप्त दार्शनिक थिए। जसले मजदुर र गरिबका हितको खातिर सबैभन्दा नवीन दर्शन विश्वलाई दिए। उनैका छोराछोरीहरू दरिद्रताको जीवन बिताउँदै भोक र रोगले मरेका थिए। मृत्युको बेला कात्रो किन्नेसम्म पैसा उनीसँग थिएन। देश निकालाका कारण कहिले कुन र कहिले कुन देश भौतारिरहे।
यस्ता गरिब र मजदुरको हितमा समर्पित दार्शनिक मार्क्सले पोलपोटजस्ता शासक र उनको हितका लागि पक्कै दुःख गरेका थिएनन्। संसारमा कम्युनिस्टलाई बदनाम गर्नेहरू पनि कम्युनिस्टको नाममा सत्ता सञ्चालन गर्ने गैरकम्युनिस्टहरू नै हुन्। मार्क्सवादी सिद्धान्त जो आफैँमा विज्ञान हो।
यद्यपि, यसो हो भने जनताको अहित गर्ने नीति सिद्धान्त र व्यवहारलाई परित्याग गर्दै, परिमार्जन गर्दै जानु अनिवार्य सर्त हो। नत्र यस्तो सिद्धान्त र यस्तो सत्तालाई कम्युनिस्टको बिल्ला लगाइरहने अधिकार पनि छैन।
मैले माथिका उदाहरण दिनुको कारण यो हो कि कुनै पनि शासन व्यवस्था जब अलोकप्रिय हुन्छ, तब त्यस देशमा विदेशी शक्तिले खेल्ने ठाउँ पाउँछ। जुन देशमा लामो समयसम्म अस्थिरताले घर गरिरहन्छ। त्यस देशमा कुनै पनि लोक हितकारी काम पनि हुनै पाउँदैन।
अस्थिरता र अलोकप्रियताका कारण सही मार्ग निर्देशन दिने कुनै शक्ति देशभित्र देखा नपरेपछि त्यो परिपूर्ति गर्न तम्सिने विदेशी शक्ति हुनु सामान्य कुरा हो। प्रत्येक देशका आ-आफ्ना स्वार्थ हुन्छ। यस्ता विदेशी स्वार्थहरूलाई आफ्नो देशको राष्ट्रिय स्वार्थले किच्न सक्नुपर्छ ।
तर नेपालमा त्यसो भएन। नेताहरू शक्ति र सत्ताका लागि विदेशीहरूसँग पनि हारगुहार गर्ने भए। विशेष गरेर नेपालमा प्रजातन्त्र ल्याउन २००७ साल कार्तिक महिनामा राजा त्रिभुवन स-परिवार भारतीय दूतावासबाट दिल्ली पुगेपछि नै भारतीय राजनीतिक खेल नेपालमा भित्रिएको भन्न सकिन्छ।
स्व वीपी कोइरालाले राजा त्रिभुवनलाई पाल्पामा लगेर राख्ने योजनामा रहेछन्। किनकि त्यतिखेर पाल्पा नेपाली कांग्रेसको आधार क्षेत्रजस्तै रहेछ। उनको त्यो योजना सफल हुन सकेन। दिल्लीले राजा राणा र नेकाको त्रिपक्षीय वार्ताको लागि बोलाउँदा सुरुमा त बाध्य भएर वीपी कोइराला दिल्ली गएका थिए।
त्यसपछिका दिनमा नेपालको क्याबिनेटको बैठकमा भारतीय राजदूतावासको प्रतिनिधि उपस्थित हुनुपर्ने थिति बसालियो। अनि त ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा’ भनेजस्तो भयो। नेपालको शासकीय मामलामा भारतीय सत्ताले चाहेअनुसारको निर्णय हुन थाल्यो। २०१५ सालको चुनावपछि बनेको नेपाली कांग्रेसको सरकारले पनि त्यो क्रम यथावत नै राखेको थियो।
जो आजको गणतान्त्रिक व्यवस्थामा पनि अप्रत्यक्षरूपमा किन नहोस् अवस्था उस्तै छ। राष्ट्र बैंकका एकजना अधिकृत देहरादूनमा एउटा बैंकिङ तालिममा गएका रहेछन्। तालिमको क्रममा उनको एकजना भारतीय जासुसी संस्थाका मानिससँग भेट भएछ। उसले भनेछ, ‘नेपालमा प्रत्येक मन्त्रालयमा हाम्रा मानिस छन्।’
त्यहाँ कुन कर्मचारीको सरुवा र बढुवा हुँदैछ। कुन कर्मचारीको सोच के छ? कुन कर्मचारीलाई सरकारका पावरफुल पर्सनले त्यसप्रति हेर्ने दृष्टिकोण के-कस्तो छ र कसको प्रमोसन हुँदैछ भन्ने कुरासमेत हामीलाई जानकारी हुन्छ। एक प्रकारले नेपालमा हामीले एउटा छाया सरकार नै चलाएका छौँ, सविस्तार बताए। यो कुरालाई यहाँको राजनीतिले वास्तवमै पुष्टि गरिरहेको छ।
२०४७ सालको बहुदलीय व्यवस्थाको आगमनसँगै पुनः भारतीयहरूको गुलामी गरी सत्ता प्राप्त गर्ने खेल आजसम्म यथावत छ। प्रधानमन्त्री तथा कुनै पनि मन्त्री बन्नका लागि हाम्रा नेताहरू भारतीय सत्ताको गुलामी गर्छन्। हुँदा हुँदा अब कुनै ठूलो कर्मचारी हुन र सरुवा बढुवामा समेत भारतीय दूतावास धाउने चलन आइसकेको छ।
एमालेको नौ महिने शासनकालमा जनहितका केही राम्रा कामहरू भएका थिए। त्यसपछिका दिनमा राम्रा गुणस्तरीय र सन्तोषजनक कुनै काम राज्यले गर्न सकेको देखिँदैन। भारतीय नाकाबन्दीमा नेपाली सत्ता र जनता जो भारतीय सत्तासँग झुकेनन्, एउटै मात्र राम्रो उदाहरण हो।
त्यसबाहेक प्रशंसा गर्न लायक कुनै पनि सरकारले गरेको असल र राष्ट्रिय स्वार्थ अनुकूलको काम देखिँदैन। त्यसैले यो भन्न सकिन्छ कि भ्रष्ट संस्कार, राजनीतिक अस्थिरता र गुलामी संस्कृतिबीच घनिष्ट सम्बन्ध छ।
पहिलो कारण हो भने अर्को कारक। लामो समयसम्म गुलामी संस्कृतिमा बानी परिसकेपछि स्वतन्त्र र स्व-निर्णय गर्ने क्षमता देशले गुमाइसकेको हुन्छ। जसरी चुरोट पिउने बानी परेको मानिसले सजिलोसँग चुरोट छोड्न सक्दैन।
जबकि चुरोट पिउनु स्वास्थ्यको दृष्टिकोणले ठीक होइन भन्ने जानकारी र ज्ञान पनि छ। कुलतमा फसेका आजकलका केटाकेटी जसरी सुधारगृहमा राख्दा पनि राम्रोसँग सुधार हुन सक्दैनन्।
यो पनि त्यस्तै हो । एउटा बानी मात्र नभएर संस्कार बनिसकेको हुन्छ। कतिपय राजनीति कर्मीहरू कति सजिलैसँग भन्दिन्छन्। हामी भारतलाई नसोधी केही पनि गर्न सक्दैनौं। डा स्वर्णीम वाग्लेको भारतीय सत्तालाई हामीले मानेर चल्नुपर्छ भन्ने भनाइ त्यही कुरालाई पुष्टि गर्ने सबैभन्दा पछिल्लो उदाहरण हो।
यसको मतलब यो हो कि गुलामी संस्कृति हाम्रो नियति बनिसकेको छ। अरू त के कम्युनिस्टको आदर्श र दर्शन बोकेर सत्तामा पुगेकाहरूको पनि नियति उही भइदिँदा प्रश्न चिह्न लागेको छ। जो अगुवा उही के जाति भनेजस्तो अवस्था भयो। यसैले जबसम्म हामी देशमा विद्यमान राजनीतिक अस्थिरतालाई निर्मूल पार्न सक्दैनौं। तबसम्म गुलामी संस्कृतिलाई पनि तोड्न सक्दैनौं।
यद्यपि अस्थिरतालाई जरैदेखि फाल्ने हो भने गुलामी संस्कृतिलाई आजैदेखि त्याग्न सुरु गर्नुपर्छ। गुलाम र गुलामीहरूको देशलाई अझै अस्थिर बनाउन विदेशीले थप मलजल गरिरहेका छन्। डा खगेन्द्र संग्रौला भन्नुहुन्छ, नेपाल गरिब भइरह्यो भने क्रिस्चियन धर्म फैलाउन सजिलो हुन्छ, पश्चिमाको चाहना हो।
नेपाल गरिब भइरह्यो भने यहाँ अस्थिरता भित्र्याउन पाइरहिन्छ भन्ने भारतीय चाहना हो। नेपालमा विकास भयो भने पश्चिमाले भनेकोअनुसार हुँदैन ऊ आफ्नै सुरले चलिरहन्छ भन्ने चीनको चाहना हो भन्ने छ।’ यसैले नेपालमा अस्थिरता चाहने र गरिबी चाहने शक्ति विश्वमा धेरै रहेछन भन्ने बुझिन्छ।
गरिबी र अस्थिरताबीच उनीहरूको नाजायज स्वार्थ पूरा गर्नु तिनीहरूको मुख्य उद्देश्य हो। सुरुमा अस्थिरता हाम्रो बढपनको लागि हामी आफैंले निम्त्याएको भए पनि अब विदेशीले उनीहरूको स्वार्थपूर्तिको लागि अस्थिरता थोपरिरहेका छन्।
यही हामीलाई गुलियो भइदिएको छ। यसैले अस्थिरता र गुलामी संस्कृति यति झाङ्गिएको छ कि झाङ फाँड्नै हामीलाई धेरै गाह्रो हुन गएको छ। जननेता स्व मदन भण्डारी र राजा वीरेन्द्रको मृत्युको कारण पनि यही हो। यसैले हामी निकै गम्भीर र संवेदनशील हुनुपरेको छ। मृत्यु त सामान्य हो, एक दिन सबै मर्नुपर्छ।
Facebook Comment