ताप्लेजुङ गोल्डकप: त्रिभुवन आर्मीलाई पछि पार्दै विर्तामोड सेमिफाइनलमा

डिसी नेपाल
६ भदौ २०८१ १९:१२

ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तिम क्वाटरफाइनलको खेलमा विर्तामोडका अभिसेक गुरुङ, देवेन्द्र कार्की र हिसुब थपलियाले गोल गरेका थिए। झापाले अब सेमिफाइनलको खेलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गरेको छ। सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।

त्रिभुवन आर्मी क्लब काठमाडौं भरत खवास, नवयुग श्रेष्ठका खेलाडी लिएर मैदानमा उत्रिएको थियो। यस्तै आसिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडी आर्मीको टिममा थिए। बुधबारको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटलब क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भीडन्त सुनिश्चित गरेको हो।

घरेलु टिम संघर्ष स्पोटिङ युवा क्लब भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। भोलि हुने सेमिफाइनलको पहिलो खेलमा संघर्ष स्पोटिङ युवा क्लब र मोरङको सगरमाथा युवा क्लबबीच दिउँसो २ बजे खेल हुनेछ। लाखे जात्रा पर्वका अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १० गते हुनेछ।

दर्शकका लागि क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलका लागि रु दुई सय ५० टिकट दर निर्धारण गरेको छ। गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब रु १९ लाख सङ्कलन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *