टिप्पणी

प्रचण्डलाई अब आरजूको आश

शरद रिजाल
७ भदौ २०८१ ११:३३

काठमाडौं। सत्ताबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरो मारमा परेका छन्।

एकातिर सरकार गुमाउनुको पीडा यथावतै छ भने अर्कोतिर यहीबेला पार्टीमा उनलाई आफ्नो नेतृत्वको विकल्प खोजेर थप चुनौती पनि दिइएको छ। सरकारबाट बहिर्गमनसँगै पार्टीको सत्ताबाट समेत उनको विकल्प खोज्नुपर्ने भन्दै उनीमाथि प्रश्न उठाइएको छ।

सत्ताबाट बाहिरिएको पीडा साम्य हुन नपाउँदै पार्टी नेतृत्व छाड्न तीन विकल्प प्रस्तुत गर्दै उपमहासचिव जनार्दन शर्माले ३६ वर्षे पार्टीको सत्ता यात्रामा प्रचण्डलाई पहिलो पटक चुनौती दिएका छन्।

उपमहासचिव शर्माले प्रचण्डलाई नेतृत्व आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण नभए पुस्तान्तरण, त्यो पनि नभए महाधिवेशनमार्फत लोकतान्त्रिक विधि प्रयोग गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने लिखित प्रस्ताव पेश गरेका छन्।

कांग्रेस एमाले मिलेर सरकारबाट बाहिरिन बाध्य पारेका प्रचण्डलाई आफ्नै पार्टीभित्र पनि शर्माले नेतृत्व छाड्न सुझाएपछि सरकार र पार्टी दुबैतर्फ दोहोरो संकटमा परेका हुन्।

सरकारबाट बाहिरिएको सुरुवाती दिनमा अब सरकारमा सहभागिताका लागि कुनै पनि प्रयत्न नगरी पार्टी निर्माणमा खटिने बताएका उनले बुधबार बागमती प्रदेशको परामर्श बैठकमा आवश्यक परे सरकारमा सहभागी हुने आशय प्रकट गरेका थिए।

उनले गत आइतबार भारत भ्रमणमा गएकी कांग्रेस नेतृ एवं परराष्ट्र मन्त्री आरजू राणालाई भारतीय सरकारले गरेको सत्कारले एमाले बिच्किएको ब्रिफिङ बैठकमा गरेका थिए।

यसको आशय फेरि पनि आफ्नो सत्तारोहणको अवस्था निम्तिने उनमा झिनो आशा रहेको प्रष्ट बुझिन्छ। र, त्यसमा प्रमूख भूमिका परराष्ट्रमन्त्री आरजू राणाको हुनेमा उनी विश्वस्त देखिन्छन्।

आइतबार भारत पुगेर बिहीबार फर्किएकी परराष्ट्रमन्त्री राणाले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि उनलाई शक्तिशाली महिलाको उपमा दिइएको छ। उनको बलियो अन्तर्राष्ट्रिय सम्बन्ध रहेको नेपालमा चर्चा भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली भन्दा आरजूलाई भारतले बढी महत्त्व दिएको एमालेजनको बुझाइ रहेको प्रचण्डले बागमती प्रदेशको परामर्श बैठकमा व्यक्त अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

२०७२ को नाकाबन्दी ताका हालका प्रधानमन्त्री ओलीले भारतसँग नझुकेर लिएको दर्बिलो अडानले अझै पनि भारतसँगको सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन नसकेको बताइन्छ। यद्यपि त्यस यता भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्ता सार्वजनिक भएपछि सम्बन्धमा सुधार आएको पनि कतिपयले चर्चा गर्ने गर्दछन्।

यस अघि आफू भारत भ्रमणमा जाँदा भेट गर्न समेत नपाएका प्रचण्डले आरजूलाई भारतले दिएको उच्च महत्त्वपछि एमाले बिच्किएको र त्यसले दुई दलमा खटपट उत्पन्न हुने प्रचण्डको आँकलन छ। त्यसपछि गुमेको सत्ता फेरि आफ्नो हातमा आउने त्यसो हुन नसके कांग्रेसको सत्तासहयात्री बन्ने प्रचण्डले दिनगन्ती सुरु गरिसकेको सहजै बुझ्न सकिन्छ।

२०७९को असार अन्तिमतिर भारत भ्रमणमा जाँदा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न पाएका थिएनन्। तीन दिने भारत भ्रमणका क्रममा उनले मोदीसँग भेट गर्ने अवसर नपाएर फर्किएका थिए।

भारत भ्रमणबाट फर्किएपछि उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग अन्तिम समयमा भारतीय पक्षबाट भेटवार्ताको कार्यक्रम रद्द भएको बताएका थिए।

यतिबेला प्रचण्ड पुत्री रेणु र गंगा पनि भारतमै रहेर फर्किएको स्रोतले जनाएको छ। दुईपुत्रीको भारत भ्रमण राजनीतिक हो या होइन यकिन भइसकेको छैन।

तथापि प्रचण्डको आत्मबल भने बलियो देखिएकाले उनले भूराजनीतिक सन्तुलन आफू अनुकूल मिलाएर फेरि सकेसम्म आफ्नै नेतृत्वमा नभए पनि पार्टीको सत्तारोहणको प्रयत्न जारी राखेको आँकलन गर्न सकिन्छ।

आरजूलाई भारतले दिएको महत्त्वले ओली बिच्किएको निष्कर्षमा पुगेका प्रचण्ड त्यस पछि गठबन्धनमा खटपट आउने र गुमेको सत्ता पुनःप्राप्ति हुनेमा आशावादी रहेको उनको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ। यसकै गृहकार्यस्वरुप दुई पुत्रीलाई भारत पठाइएको हुनसक्ने जानकार स्रोत बताउँछ।

परराष्ट्रमन्त्री राणाको भारतमा उच्चस्तरको सम्मानले सत्ता साझेदार एमाले बिच्किएको भन्ने प्रचण्डको भनाइलाई आधार मानेर हेर्दा वर्तमान सरकार भूराजनीतिक कोणबाट असुरक्षित रहेको प्रष्टै हुन्छ। अर्थात् यसले प्रधानमन्त्री ओली र भारतको सम्बन्ध अझै पनि सुमधुर हुन नसकेको प्रष्ट्याउँछ।

२०७२ को नाकाबन्दी ताका हालका प्रधानमन्त्री ओलीले भारतसँग नझुकेर लिएको दर्बिलो अडानले अझै पनि भारतसँगको सम्बन्ध पूर्ववत् अवस्थामा फर्किन नसकेको बताइन्छ। यद्यपि त्यस यता भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्ता सार्वजनिक भएपछि सम्बन्धमा सुधार आएको पनि कतिपयले चर्चा गर्ने गर्दछन्।

तर, अहिले राणालाई भारतले दिएको सम्मानले प्रधानमन्त्री ओली रुष्ट भएकाले गठबन्धनमा दरार आउने सम्भावना बढेको प्रचण्डको बुझाइ हुनसक्छ। त्यसले वर्तमान समीकरण भत्किने र त्यसपछि आगामी दिनमा कांग्रेससँग सत्ता साझेदारी गर्दै अघि बढ्ने प्रचण्डको मनशाय रहेको सहजै बुझिन्छ।

प्रचण्ड अहिले एमाले अध्यक्ष ओलीसँग सबैभन्दा बढी क्रुद्ध छन्। आफूलाई दिइएको धोकाको बदला जसरी पनि लिने उनको दाउ रहेको प्रचण्डका अभिव्यक्ति मार्फत प्रकट भइरहेको छ।

बुधबार पार्टीको प्रदेश परामर्शको बैठकमा समेत उनले एमालेले धोका दिएको भन्दै विश्वास गरेर कांग्रेससँगको सहयात्रा त्याग्नु गम्भीर भुल भएको स्वीकार गरिसकेका छन्।

कांग्रेससँगको सहयात्रा सहज हुँदाहुँदै एमालेसँग सहकार्य गर्नु गल्ती भएको स्वीकार गर्नु भनेको उनी आफूले नै कांग्रेसलाई धोका दिएको निष्कर्षमा पुगेकै हुन्।

प्रचण्डको अभिव्यक्ति अनुसार कांग्रेसबाट आफूलाई धोका भएको होइन बरु कांग्रेसलाई आफूले नै धोका दिइएको हो भन्ने उनको स्वीकारोक्ति हो।

तसर्थ आफैंले पटक पटक धोका दिएकाले फेरि विश्वासमा लिन सकिने उनमा आशा जीवितै छ र यसको पहल उनले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुमार्फत गर्न सक्ने जानकार स्रोतहरु बताउँछन्।

आरजूको बलियो अन्तर्राष्ट्रिय सम्बन्ध भएकाले दक्षिण र पश्चिम रिझाउन सके गुमेको सत्तामा पुनरागमन हुनसक्ने दाउमा प्रचण्ड रहेको उनका अभिव्यक्तिबाटै सहजै बुझ्न सकिन्छ।

सरकारमा पुनरागमन अथवा सहभागितापछि पार्टीमा हाल देखा परेको संकट पनि हल हुने भएकाले नै उनले यसतर्फ कदम चाल्न सकिने आशयको अभिव्यक्ति दिएको हुनसक्छ।

अहिले पार्टीमा आफूमाथि देखा परेको संकट टार्न पनि सरकारमा सहभागी भए पछि उनलाई सहज हुन्छ। असन्तुष्ट पक्षलाई महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराएर हालको अन्तरविरोध मत्थर गराउने पनि प्रचण्डको दाउ हुन सक्दछ।

दोहोरो मारमा परेका प्रचण्डलाई सरकारमा पुनःसहभागिता नै हालको किचलोबाट मुक्त हुने अल्पकालीन अस्त्र पनि हो।

यसर्थ सुरुमा पार्टी बनाउने उद्घोष गरेका उनले सरकारमा सहभागिता जनाउन सकिने आशयको अभिव्यक्ति दिएको हुनसक्ने पछिल्ला घटनाक्रमका आधारमा बुझ्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *