‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी

डिसी नेपाल
८ भदौ २०८१ ६:२७

काठमाडौं। साउदी अरेबियाले ७० हजारभन्दा बढी रोजगारीका अवसरसहित ‘जदरात’ रोजगारी प्लेटफर्म सुरु गरेको छ ।

साउदी सरकारले जागिर खोज्ने प्रक्रियालाई सरल बनाउन र रोजगार खोज्नेहरूलाई रोजगारदाताहरूसँग जोड्न डिजाइन गरिएको नयाँ राष्ट्रिय जागिर प्लेटफर्म ‘जदरात’ सञ्चालनमा ल्याएको हो ।

यस प्लेटफर्मको उद्देश्य नागरिकहरूलाई रोजगारी खोज्न र रोजगारदाताहरूलाई कुशल डिजिटल प्रणालीमार्फत स्थानीय प्रतिभाहरूमाझ पहुँच बनाउनु रहेको जनाइएको छ ।

सो प्लेटफर्मको साउदीका मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद अल–राझी, पर्यटनमन्त्री अहमद अल–खातिब र हदफका महानिर्देशक तुर्की अल–जाविनीले रियादमा आधिकारिक रूपमा शुभारम्भ गरे ।

प्लेटफर्मले आवेदन प्रक्रियालाई सुव्यवस्थित गर्दै उपलब्ध स्थानहरूसँग छिटो जागिर खोज्नेहरूलाई मिलाउन डिजिटल प्रणाली प्रयोग गर्ने बताइएको छ । मानव संसाधन र सामाजिक विकासमन्त्री अल–राझीले स्थानीय प्रतिभाको विकास र कार्यशक्तिको दक्षता सुधारमा सरकारले ध्यान केन्द्रित गरेकामा जोड दिए ।

उनले जागिर खोज्नेहरूको डाटालाई एकताबद्ध गर्न, प्रमाणीकरण गर्न, आवेदन प्रक्रियाहरू वृद्धि गर्न र व्यक्तिहरूलाई रोजगारीका अवसरहरूमा सजिलै पहुँच पु¥याउन डिजाइन गरिएको उल्लेख गरे । उनका अनुसार यस वर्षको पहिलो ६ महिनामा साउदीहरूको रोजगारी, प्रशिक्षण, योग्यतालाई समर्थन गर्न कार्यक्रम र उत्पादनमा ठूलो रकम खर्च गरिएको छ ।

यी कार्यक्रमबाट एक लाखभन्दा बढी प्रतिष्ठान लाभान्वित भएको र निजी क्षेत्रका प्रतिष्ठानमा १ लाख ५३ हजारभन्दा बढी नागरिकले रोजगारी पाएको उनले बताए । उनका अनुसार ‘महत्वाकांक्षा र सशक्तीकरण’ नाराअन्तर्गत सार्वजनिक र निजी क्षेत्रका रोजगारी खोज्नेको तथ्यांक एकीकरण विश्वसनीयता बढाउने प्लेटफर्मको लक्ष्य छ । साउदीमा विभिन्न पेसामा गरी करिब ५ लाख नेपाली कामदार कार्यरत छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *