माओवादीलाई कसैले फुटाउन सक्दैनः प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले पटक पटक गरेपनि कसैले फुटाउन नसक्ने बताएका हुन्। केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले बताए।
प्रचण्डले पार्टीलाई बलियो बनाउदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राखे।
उहाले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस–एमाले मिलेर आफु नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे। अहिलेको सरकार भ्रष्टाचारीहरुकै सरकार भएको उनले बताए।
प्रचण्डले अँध्यारोमा रमाउनेहरुलाई अहिले उज्यालो मन नपरेको भन्दै अँध्याराका पक्षपातीहरुले विद्युत वक्यौतामा विवाद निकालेको तर्क गरे। त्यस्तै उनले संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षडयन्त्र माओवादी रहदासम्म सफल हुन नदिने स्पष्ट पारे।
उनले आत्मसमिक्षाका साथ जनताको घर घरमा जान र माओवादीले गरेका कामहरुका बारेमा जानकारी गराउन नेता तथा कार्यकतालाई निर्देशन समेत दिए।
Facebook Comment